चीनले नेपाललाई १० लाख डोज खाेप सहयोग गर्ने
चीनले नेपाललाई कोभिड-१९ विरुद्धकाे १० लाख डोज खोप सहयोगको घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादका क्रममा बुधबार चिनियाँ समकक्षी सी चिनफिङले सहयोगको घोषणा गरेका हुन्।
चिनियाँ राजदूत हौ यान्छीले १० लाख डोज खोप सहयोगको घोषणा भएको ट्विटमार्फत जानकारी दिएकी छन्। यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप सहयोग गरिसकेको छ।
करीब पौने एक घण्टा भएको संवादमा मुख्य रुपमा नेपाललाई कोभिड–१९ विरुद्धको खोपको आवश्यकताका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टिका ढकालले जानकारी दिए।
“नेपाली जनताको जीवन रक्षा गर्न आवश्यक खोप खरीदका लागि चीन सरकारले सहजीकरण गरिदिन राष्ट्रपतिले अनुरोध गर्नुभयो,” ढकालले भने।
जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको लामो समयदेखिको असल छिमेकी र मित्र भएकोले सहयोगका लागि चीन सधैं तत्पर रहेको जवाफ दिएका थिए।
दुवै देशका राष्ट्रपतिबीच संवाद गर्ने विषय करीब एक साताअघि तय भएको थियो। सल्लाहकार ढकालका अनुसार, दुवै राष्ट्रपतिले बुद्ध जयन्तीका अवसरमा एक अर्कालाई बधाई तथा शुभकामना पनि दिए।
त्यसैगरी, दुवै देशका राष्ट्रपतिको भ्रमणमा तय भएका सम्झौताको कार्यान्वयनको विषयमा पनि छलफल भएको थियो। राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक खोप खरीदका विषयमा सहयोग गरिदिन अनुरोध गरेकी थिइन्।
नेपालले परराष्ट्र मन्त्रालयमार्फत ३० लाख डोज खरीदको प्रस्ताव चीन सरकारसमक्ष पठाइसकेकाे छ। राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक सबै खोप चीनसँग खरीद गर्ने र त्यसका लागि चिनियाँ राष्ट्रपतिले मातहतका अधिकारीलाई निर्देशन दिन अनुरोध गरेकी थिइन्।
खोप बिक्रीका विषयमा चीनले केही दिनभित्रै यससम्बन्धी घोषणा गर्नसक्ने बताइन्छ। नेपालको उत्तरी छिमेकी चीनसँगको सम्बन्ध बिग्रिएको भनी सरकारको आलोचना भइरहेका बेला खोप खरीद तथा अनुदानका विषयमा महत्वपूर्ण उपलब्धि हासिल भएको हो।
राष्ट्रपति भण्डारीले मंगलबार मात्रै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र लेखेर खोप उपलब्ध गराउन आग्रह गरेकी छन्।