स्थायी समितिको निर्देशन सुदूरपश्चिम एमाले संसदीय दलले अवज्ञा गर्ने
नेकपा (एमाले) अन्तरद्वन्द्वको लाभ नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम सरकारले पाउने देखिएको छ ।
सुदूरपश्चिम एमाले संसदीय दलको बुधबार बसेको बैठकले त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको हो। काठमाडौंमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्नो पार्टीका मन्त्रीहरूलाई राजीनामा गर्न लगाउने निर्णय गरेको थियो।
स्थायी समितिको यो निर्देशनबारे छलफल गर्न बसेको संसदीय दलको बैठकले भट्टको साथ नछाड्ने निर्णय गरेको माधव नेपाल पक्षका एक प्रदेश सांसद्ले हिमालखबरलाई जानकारी दिए। उनले भने, “हाम्रो प्रदेशमा माओवादीको साथ नछाड्ने निर्णय गर्यौं।”
सुदूपश्चिम प्रदेश सभामा सभामुख सहित एमालेका २५ सांसद् छन् । त्यसमध्ये अधिकांश सांसद् माधव नेपाल पक्षका छन् । नेपाल लगायतका ११ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको विरोधमा माओवादीलाई साथ दिने निर्णय गरिएको ती सांसदले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानून, माया भट्ट उद्योग र कुष्णराज सुवेदी सामाजिक विकास मन्त्री छन्।
५३ सदस्यीय प्रदेश सभामा सत्तारुढ माओवादीका जम्मा १३ सांसद छन् । नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सांसद् छन् ।