टेलिमेडिसिनबाटै पनि निको हुनसक्छ कोरोना
वर्षौंदेखि बिरामीको उपचारमा टेलिमेडिसिन सेवा प्रदान गरिरहेको धुलिखेल अस्पताल र आस्क फाउण्डेसनले कोरोना सङ्क्रमितको उपचारमा पनि यो विधि अँगालेका छन् ।
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ७ का कृष्णचन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएपछि धुलिखेल अस्पतालले घरै बस्न अनुरोध गर्यो। श्रेष्ठको स्वास्थ्यमा खासै समस्या नभएकोले ‘कोभिड हटलाइन’ मार्फत् आवश्यक स्वास्थ्य परामर्श गर्न सकिने अस्पतालको बुझाइ थियो।
४७ वर्षे श्रेष्ठ घरमै बसेर अस्पतालको टिमसँग नियमित सम्पर्कमा रहे । “अस्पतालबाट फोन गरेर स्वास्थ्यस्थितिको बारेमा नियमित सोधपुछ गर्नुहुन्थ्यो, त्यसले मनोबल बढायो,” श्रेष्ठ भन्छन्, “डाक्टरहरूको सल्लाहअनुसार अगाडि बढ्दा १६औं दिनमा होम आइसोलेसनबाटै संक्रमणमुक्त भएँ ।”
घरमै बसेर स्वास्थ्यकर्मीको सल्लाह लिन पाउँदा खानपानदेखि आर्थिकरुपमा पनि सहज भएको श्रेष्ठको अनुभव छ । उनी भन्छन्, “अस्पताल बस्नु नपर्दा मलाईदेखि परिवारलाई समेत सहज भयो, खासै खर्च पनि भएन ।”
धुलिखेल अस्पतालमै एमबीबीएसको इन्टर्न गरिरहेकी ऋतिका शाह पनि संक्रमणपछि घरमै बसिन्। होम आइसोलेशनमा बसेकी २४ वर्षे शाह स्वयं चिकित्साशास्त्रको विद्यार्थी भएरै पनि डाक्टरहरूसँग नियमित सल्लाह लिन्थिन्। ‘हटलाइन’ बाटै लिएको सल्लाहले १२ औं दिनमा संक्रमणमुक्त भएर उनी अहिले नियमित काममा फर्किएकी छन् ।
कोरोनाको बढ्दो सङ्क्रमणका कारण बिरामीलाई सामान्य उपचार पनि उपलब्ध नभइरहेको बेला काभ्रेको धुलिखेल अस्पतालले एनसेलसँगको सहकार्यमा ‘कोभिड केयर हटलाइन’ सेवा शुरू गरेर फोनबाटै सङ्क्रमितको उपचारमा सघाउ पुर्याइरहेको छ।
यो सेवाअन्तर्गत अस्पतालका चिकित्सकले होम आइसोलसनमा बसेकालाई के गर्ने, के नगर्ने, कुन बेला कस्तो औषधि प्रयोग गर्ने, मनको डर कसरी हटाउने, स्वास्थ्यमा समस्या देखिए के गर्ने भन्नेबारे आवश्यक सल्लाह–सुझाव दिने गरेका छन् । अस्पतालका अनुसार, यही सेवाको सम्पर्कबाट गम्भीर अवस्थाका केही बिरामीलाई घरबाटै उद्धार गरेर अस्पताल ल्याउन पनि सकिएको छ ।
धुलिखेल अस्पतालको डिपार्टमेन्ट अफ कम्युनिटी प्रोग्रामका उपप्राध्यापक डा. रोशनकुमार महतोका अनुसार होम आइसोलेसनमा बसेकालाई डाक्टरले दिनमा तीन पटक फोन गरेर स्वास्थ्य स्थिति बुझ्ने र आवश्यक सल्लाह सुझाव दिने गरेका छन् । कतिपय अवस्थामा अस्पतालको टेलिमेडिसिन टीम र अन्य अस्पताल एवम् चिकित्सकसँग पनि परामर्श गर्ने गरिएको छ ।
टेलिमेडिसिन सेवा निकै प्रभावकारी भएको अनुभव सुनाउँदै डा. महतो भन्छन्, “यो सेवाले सङ्क्रमित एवम् उसका आफन्तलाई आइसोलेट भएर बस्न मद्दत गरेको र सङ्क्रमण नियन्त्रण गर्न सहज बनाएको छ । अस्पताल पुग्न बिरामीलाई हुने असुविधा र अरूमा सङ्क्रमण सर्ने सम्भावना कम भएको छ ।” यससँगै कोरोना परीक्षणको दायरा पनि बढाएको धुलिखेल अस्पतालले यसमा सबैको पहुँच सहज होस् भनेर रु.५०० मा पीसीआर परीक्षण गरिरहेको छ ।
अस्पतालले अहिले काभ्रेका ६, सिन्धुपाल्चोकका चार, सोलुखुम्बु र दोलखाका दुई–दुई स्थानबाट कोभिड केयर हटलाइन सेवा प्रदान गरिरहेको छ। यसबाहेक ललितपुर, पर्वत, नुवाकोट र धादिङका एक–एक स्थानबाट पनि सेवा प्रवाह गरिएको छ।
धुलिखेल अस्पतालले कोरोनाका बिरामीलाई टेलिफोनमार्फत स्वास्थ्य परामर्श सङ्क्रमणको दोस्रो लहरसँगै शुरू गरे पनि विभिन्न ग्रामीण क्षेत्रमा पाँच वर्ष अघि देखि नै टेलिमेडिसिन सेवा प्रदान गर्दै आएको छ । यो सेवाअन्तर्गत मेडिकल डाक्टरको टोली औषधि र उपचारको लागि आवश्यक सामग्री सहित बिरामीको घर–घरसम्मै पुग्छन् । कतिपय अवस्थामा बिरामीले अस्पतालले सहकार्य गरिरहेका टेलिमेडिसिन केन्द्रमा आएर पनि सेवा लिन्छन् । फिल्डमा भएका मेडिकल डाक्टर वा स्वास्थ्यकर्मीले धुलिखेल अस्पतालका कन्सल्ट्यान्टसँग समन्वय गरेर बिरामीको उपचार गर्छन् ।
धुलिखेल अस्पतालको टेलिमेडिसिन केन्द्रमा ईसीजी, अल्ट्रासाउण्ड, एक्सरे र प्रयोगशाला सुविधाका साथै मेडिकल डाक्टर हुन्छन्। केन्द्रमा गरिने बिरामी जाँच र प्रयोगशाला परीक्षणको नतिजाका आधारमा अस्पतालमा कन्सल्ट्यान्टसँग समन्वय गरेर उपचार गरिन्छ। केन्द्रमा बिरामीको उपचार सम्भव नभए अस्पताल पठाउने व्यवस्था हुन्छ। अस्पतालले हाल काभ्रेको बालुवा, तिमाल, सिन्धुपाल्चोकको मानेखर्क, र दोलखाको दोलखा अस्पतालस्थित टेलिमेडिसिन केन्द्रबाट यो सेवा सञ्चालन गरिरहेको छ।
सन् २०११ देखि टेलिमेडिसिनमार्फत स्वास्थ्य जाँच र परामर्श प्रदान गर्दै आएको आस्क फाउन्डेसनले पनि कोरोनाका बिरामीलाई हटलाइन सेवा दिइरहेको छ । एक महीनाअघि शुरू गरेको यो सेवा करीब तीन हजार भन्दा बढीले लिइसकेका फाउन्डेसनका परियोजना प्रमुख कविन मलेकु बताउँछन्। “यो सेवाबाट बिरामीले घरमै बसेर विशेषज्ञसँग निःशुल्क परामर्श लिन पाइरहनु भएको छ,” उनी भन्छन्, “दैनिक २०० सम्म टेलिफोन आउने गरेको छ।”
आस्क फाउण्डेशनले कालिकोटको रास्कोटबाट सन् २०११ देखि शुरू गरेको टेलिमेडिसिन सेवा अहिले बझाङ, कालिकोट र गोरखामा पनि विस्तार भएको छ। स्थानीय स्वास्थ्य चौकीसँग मिलेर गरिएको टेलिमेडिसिनले ग्रामीण भेगका बासिन्दालाई सहज बनाएको फाउण्डेसनका परियोजना प्रमुख मलेकु बताउँछन् ।
भौगोलिक रुपले विकट, स्रोतसाधनको कमी, थोरै स्वास्थ्य जनशक्ति भएका मुलुकमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन टेलिमेडिसिनको प्रयोग प्रभावकारी भएको डब्लूएचओको भनाइ छ।
“आस्कको काठमाडौँको कार्यालयमा दुई जना मेडिकल डाक्टर हुन्छन् । स्वास्थ्य चौकीमा आएका बिरामीका बारेमा त्यहाँका स्वास्थ्यकर्मीले काठमाडौंमा भएका डाक्टरसँग प्रत्यक्ष कुरा गरेर उपचार गर्छन्”, उनी भन्छन्, “यसबाट विकट भेगका बासिन्दाले सजिलै विशेषज्ञ सेवा प्राप्त गरिरहेका छन् । बिरामीलाई आर्थिक भार कम हुनुका साथै थप उपचारको व्यवस्था गर्ने वातावरण पनि बनेको छ ।”
टेलिमेडिसिन सेवा भरपर्दो, सहज र प्रभावकारी भएकै कारण डाँफे केयरले समेत गैरआवासीय नेपाली संघ (एनआएरएन) सँग मिलेर विश्वभरका नेपालीलाई निःशुल्क हटलाइन सेवा दिइरहेको छ । सेवा लिन जुनसुकै देशमा भएका नेपाली नागरिकले डाँफे केयरमा भाइबर वा ह्वाटस्यापमार्फत् सम्पर्क गर्न सक्छन् ।
विकासोन्मुख मुलुकमा टेलिमेडिसिन सेवाको आवश्यकता बढी भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को भनाइ छ। सङ्गठनको विकासोन्मुख मुलुकका लागि टेलिमेडिसिन भन्ने सन् २०१६ को रिपोर्टले विशेषज्ञ डाक्टर कम हुने र धेरै नागरिक स्वास्थ्य सेवाको पहुँचमा नहुने विकासोन्मुख मुलुकमा टेलिमेडिसिन सेवा बढी आवश्यक भएको उल्लेख छ। डब्लूएचओले टेलिमेडिसिन सेवाका क्रममा बिरामीले विशेषज्ञ डाक्टरसँग टेलिफोन, इन्टरनेट लगायत अन्य माध्यमबाट प्रत्यक्ष कुरा गर्न सक्ने स्पष्ट गरेको छ।
सदस्य राष्ट्रमा टेलिमेडिसिनको सम्भावना र विकास सम्बन्धी डब्लूएचओकै सन् २०१० को एउटा रिपोर्टले पनि टेलिमेडिसिन पद्धतिले विकासोन्मुख देशका ग्रामीण भेगलाई सजिलै स्वास्थ्यको पहुँचमा ल्याउने उल्लेख गर्दै भौगोलिक रुपले विकट, स्रोतसाधनको कमी, थोरै स्वास्थ्य जनशक्ति भएका मुलुकमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन टेलिमेडिसिनको प्रयोग गर्न सुझाव दिएको थियो।
डब्लूएचओका सदस्य राष्ट्रमा टेलिमेडिसिन सन् १९७० को शुरूदेखि नै प्रयोगमा आएको हो। अमेरिका, बेलायत, फिनल्याण्ड, ताइवान, अष्ट्रेलिया र यूरोपेली मुलुकहरूमा टेलिमेडिसिन सेवा व्यापक प्रयोगमा आइसकेको छ । यी देशमा टेलिमेडिसिन सेवा दिन सयौँ निजी संस्था अगाडि आएका छन् । कोरोना नियन्त्रणका लागि टेलिमेडिसिनको प्रयोग गत वर्ष चीनले पनि गरेको थियो।
न्यूज डटसीजीटीएन डटकमका अनुसार संक्रमणको चेन ब्रक गर्न उक्त सेवाले प्रभावकारी भूमिका खेलेको थियो। अहिले भारतले पनि यो सेवा प्रयोग गरिरहेको छ।
डब्लूएचओ अन्तर्गतकै स्वीट्जरल्याण्डको ‘इन्टरनेशनल सोसाइटी फर टेलिमेडिसिन एण्ड ई–हेल्थ सिरिज–२’ का अनुसार टेलिमेडिसिन मङ्गोलिया र मेक्सिकोमा निकै प्रभावकारी देखिएको छ। ग्रामीण भेगबाट टेलिफोन मार्फत् भइरहेको टेलिमेडिसिन सेवालाई इन्टरनेटको विकासले थप प्रभावकारी बनाएको ई–हेल्थ सिरिजले जनाएको छ। बलियो इन्टरनेट भएका ठाउँबाट उपचार गर्दा बिरामीको अवस्था र डाइग्नोष्टिक टेष्टको नतिजा प्रत्यक्ष नियाल्न समेत सकिने हुँदा टेलिमेडिसिन भरपर्दो बन्दै गएको छ।