बौद्ध दर्शनमा के हो प्रतीत्य–समुत्पाद ?
जगत्का कुनै पनि वस्तुको अस्तित्व स्थिर छैन, यसको शाश्वत स्वभाव नै गतिशील र परिवर्तनशील हुन्छ भन्ने अनित्यतावादी सिद्धान्तलाई पछिल्लो कालमा विकसित बौद्ध दर्शनहरूले केन्द्रीय आधार मानेका छन्।
पूर्वीय सभ्यताको आलोकको रूपमा गौतम बुद्ध विश्वमै सम्मानित छन्। आधुनिक विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा ध्वस्तप्रायः भइसकेको आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ। संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन्। पूर्वीय दर्शनले शून्यवादलाई विशेष जोड दिएको छ। संसारका हरेक वस्तु क्षणभङ्गुर वा नाशवान् छन्। मायाको बन्धन तोडेर मात्र महाशून्यको बोध (ईश्वरसँग एकाकार) गर्न अर्थात् मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने वेदान्त दर्शनको निचोड हो।
भारतीय दर्शनको निचोडमा मोक्षको बाधक र बन्धनको कारण नै दु:ख हो भन्दै दुःखको अस्तित्वलाई सबै दर्शनले स्विकारेका छन्। तर, दुःखको कारणबारे यी दर्शन एकमत छैनन्। वेदान्त दर्शनले जीवन र जगत्लाई माया अर्थात् भ्रम मानेको छ। अविद्या अर्थात् अज्ञानताको कारण नै जीव बन्धनमा पर्छ। अविद्याको नाश अर्थात् ज्ञान प्राप्तिबाट नै साधकले जन्म–मृत्युको चक्रलाई भेदन गरेर मोक्ष प्राप्त गर्छ भन्ने वेदान्त दर्शनको सार छ।
बौद्ध दर्शनमा भने वेदान्त दर्शनको यस तर्कलाई फरक दृष्टिकोणबाट व्याख्या गरिएको छ। बौद्ध दर्शनमा जीवनको बन्धनको कारण तृष्णा हो र तृष्णाको अन्त्यबाट नै साधकले निर्वाण प्राप्त गर्छ भन्ने वचनलाई सरल तरिकाले विवेचना गरिएको छ। संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य सम्भव छ र दुःखको अन्त्य गर्ने उपाय छन् भन्ने शाश्वत चिन्तनको व्यख्या गर्ने क्रममा द्वितीय आर्य सत्य अर्थात् दुःखको कारण छ भन्ने आप्त वचन नै प्रतीत्य–समुत्पादको भावार्थ हो।
प्रतीत्य–समुत्पादको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु।शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य-समुत्पादले बुझाइरहेको हुन्छ।
एकको कारणले अर्कोको उत्पत्ति हुन्छ। अर्थात् कार्यकारणको सिद्धान्तमै द्वादश निदान वा प्रतीत्य–समुत्पादको गुढार्थ समावेश भएको हुन्छ। शाब्दिक भावार्थमा पटिच्च = प्रतीत्य (कारण), सम = सह र उप्पाद = उत्पाद अर्थात् यसको कारणले गर्दा यो कुरा भयो भन्ने भावार्थमा प्रतीत्य–समुत्पादलाई परिभाषित गरिन्छ (तुलाधर, २०७२ः २९)।
प्रतीत्य–समुत्पादको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु।शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य-समुत्पादले बुझाइरहेको हुन्छ। अस्तित्व सत्ताको स्वरूप अस्ति वा नास्ति अर्थात् भए वा नभए, छ वा छैन, दुवै छ वा दुवै छैन भन्ने भावको चतुष्कोटी सिद्धान्तलाई वस्तुको यथार्थ स्वभाव हो भनी बौद्ध माध्यमिक दर्शनका प्रणेता आचार्य नागार्जुनले परिभाषित गरेका छन्।
अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गर्छ। बलिरहेको दीपशिखाको अनन्त ज्योति र प्रवाहमय नदीको अनन्त धाराको परिवर्तित अस्तित्वको लक्षणार्थमा विज्ञान सत्ताको क्षणिकतालाई बोध गराउने भएकाले प्रतीत्य–समुत्पादलाई अनित्यवाद र क्षणिकवाद अर्थात् शून्यवाद भनिएको हो। अस्तित्वको अनित्यतालाई प्रतीत्य–समुत्पादबाट प्रमाणित गर्न सकिन्छ। वस्तुको स्वभाव क्षण, प्रतिक्षण परिवर्तन भइरहने भएकाले नै अनित्यवादलाई क्षणिकवाद भनिएको हो।
हरेक वस्तु परिवर्तन भइरहने भएकाले क्षणिकवादलाई अर्को अर्थमा अनात्मवाद भनिन्छ। चेतन जगत् मनको प्रतिविम्ब हो। वैभाषिक मतले चित्त तथा बाहिरी अस्तित्वको सत्तालाई स्विकार्छ। धुवाँ देखेर आगोको अस्तित्व स्विकार्न विज्ञानवादलाई स्वीकार गर्नुपर्छ। यसकारण वैभाषिक मतलाई बाहिरी प्रत्यक्षवाद भनिएको हो।
सौत्रान्तिक मतले चित्त तथा बाहिरी जगतको अस्तित्व दुवैलाई मान्छ। अर्को शब्दमा, बाह्य सत्ता अनुमानमा आधारित हुन्छ भनी बुझ्नु नै सौत्रान्तिक मत हो। अर्थात् अतीत, अनागत धर्म, भूत–भौतिक वा चित्त–चैत्तेसिकको सर्व अस्तित्वलाई स्वीकार गर्ने भएकाले सर्वम् अस्तिको भावार्थमा सर्वास्तिवादको सत्ता स्वीकार गरिएको हो।
माध्यमिक दर्शनका प्रणेता आचार्य नागार्जुनले निर्वाणलाई विशेष दृष्टिकोणबाट अर्थ्याएका छन्। उनका अनुसार भाव, अभाव, नित्य, अनित्य, आत्मा, अनात्मा आदिलाई नस्विकार्ने अर्थात् माध्यमिक दर्शनमा प्रतीत्य–समुत्पादको भावार्थ प्रष्ट्याएको पाइन्छ। निर्वाणलाई बुझ्न नकारको दर्शन बुझ्नुपर्छ भन्नेमा उनले विशेष जोड दिएका छन्। न उत्पत्ति, न निरोध, न नित्य, न अनित्य, न एकत्व, न अन्यत्व, न आय, अ व्ययको अनुभूतिबाट नै निर्वाण अर्थात् प्रतीत्य–समुत्पादलाई बुझ्न सकिन्छ (बापत, १९९७ः१०१)।
माध्यमिक दर्शनका प्रणेता आचार्य नागार्जुनले निर्वाणलाई विशेष दृष्टिकोणबाट अर्थ्याएका छन्। उनका अनुसार भाव, अभाव, नित्य, अनित्य, आत्मा, अनात्मा आदिलाई नस्विकार्ने अर्थात् माध्यमिक दर्शनमा प्रतीत्य–समुत्पादको भावार्थ प्रष्ट्याएको पाइन्छ।
शून्यतालाई बुझाउनकै लागि आचार्य नागार्जुनले चतुष्कोटी सिद्धान्तको प्रतिपादन गरेका हुन्। बन्ध्यापुत्र, व्योमकुसुम, शशश्रृंग, स्वप्नमरिचिका आदिको उदाहरण दिएर चतुष्कोटी सिद्धान्तको आधारमा निर्वाणलाई बोधार्थ गरिएको हो। हुँदै नभएका तर सांसारिक बोलीचालीमा उल्लिखित उदाहरणहरूको माध्यमबाट आरोपण त गरिन्छ, तर व्यावहारिक दृष्टिकोणमा यसको प्रमाण नभएको समरूपमा निर्वाणलाई परिभाषित गरिएको हो (वज्राचार्य, २००९ः८२)।
चेतनाको आधारमा बाह्य सत्ताको अनुमान गर्ने सौत्रान्तिक दर्शन र वाह्य जगत्को प्रत्यक्ष स्वरूपलाई सत्य मान्ने वैभाषिक दर्शनको गुढ रहस्यात्मक रूपमा शून्यतावादलाई स्वीकार गरेको छ (उपाध्याय, २०१४ः १६० र १८६)। वस्तुको स्वभाव परिवर्तन भइरहने भएकाले दृष्यमान जगत्लाई क्षणभंगुरता भनिएको हो। यसै क्षणभंगुरता वा अनित्यताको कारण वस्तुको सत्ता अविच्छिन्न प्रवाहमा परिवर्तन भइरहने भएकाले कार्य–कारणको सम्बन्ध नै अविच्छिन्नताको आधार भनी व्यख्या गरिएको पाइन्छ (कृष्णन, राधा, १९९२ः ३०२)।
जगत्का कुनै पनि वस्तुको अस्तित्व स्थिर छैन, यसको शाश्वत स्वभाव नै गतिशील र परिवर्तनशील हुन्छ भन्ने अनित्यतावादी सिद्धान्तलाई पछिल्लो कालमा विकसित बौद्ध दर्शनहरूले केन्द्रीय आधार मानेका छन्। पहिलोको अभावमा दोस्रोको अस्तित्वको आधार नहुने यस परिवर्तित अविच्छिन्न शृंखलाको कारण नै व्याक्ति जरामरणको चक्रमा फसेको हुन्छ।
बन्धनको १२ वटा शृंखलायुक्त चक्रलाई चार आर्यसत्यमध्ये द्वितीय आर्यसत्यमा सहज भाषामा समाविष्ट भएको छ। बाह्र वटा शृंखलाको अभेद्य सम्बन्धको कारण प्रतीत्य–समुत्पादलाई द्वादाशांग प्रतीत्य–समुत्पाद भनिएको हो (सांकृत्यान, २०१५: २९–३३)। प्रतीत्य–समुत्पाद अनुसार जगत्मा कुनै पनि विषयको आविर्भावविना कारण हुँदैन भन्ने कार्यकारण सिद्धान्तको आधार हिन्दु दर्शनमा पनि पाइन्छ। कर्म वा संस्कारको कारण जरामरणको प्राप्ति हुनुलाई दुःखको संकेतार्थमा बुझ्ने गरिन्छ।
संसार प्रतीत्य–समुत्पादको नियम अनुसार कार्यकारण सम्बन्धको भावमा सञ्चालन हुने भएकाले समस्त प्राणी जगत् र वस्तु सत्ता यस सिद्धान्तबाट पृथक् छैनन्। मूलतः अज्ञान वा अविद्याको कारण तृष्णा उत्पन्न हुन गई भवचक्रीय प्रणालीको चक्रव्यूहमा प्रतिविम्बित हुन्छ। सम्पूर्ण क्लेशको जड नै अविद्या भएकाले यसको अन्त नै निर्वाणको द्वारोद्घाटन हो।
अझ पञ्चस्कन्द र द्वादश आयतन युक्त हुनु नै दुःख हो भन्दै दुःख र यसबाट सिर्जना हुने अनेकौं कार्य नै निर्वाणका लागि बाधक तत्त्व हुन्। यी बाधक तत्त्व अर्थात् द्वादशांगको भेदन गरेपछि स्वतन्त्र रूपमा शून्यताको बोध हुने भएकाले नै वास्तवमा शून्यता र प्रतीत्य–समुत्पादमा कुनै भेद छैन। तापनि हेराइको आधारमा व्यावहारिक सत्यलाई व्याख्या गर्न प्रतीत्य–समुत्पाद चाहिन्छ र त्यसको परमार्थ स्वरूप बुझ्न शून्यताको अनुभूति चाहिन्छ भन्ने यसको दार्शनिक आधार हो (इन्द्रप्रसाद काफ्ले, प्रतीत्य–समुत्पाद बुद्धको महान् उपदेश, स्मारिका जेसीआई नेपाल)।
संसार प्रतीत्य–समुत्पादको नियम अनुसार कार्यकारण सम्बन्धको भावमा सञ्चालन हुने भएकाले समस्त प्राणी जगत् र वस्तु सत्ता यस सिद्धान्तबाट पृथक् छैनन्। मूलतः अज्ञान वा अविद्याको कारण तृष्णा उत्पन्न हुन गई भवचक्रीय प्रणालीको चक्रव्यूहमा प्रतिविम्बित हुन्छ। सम्पूर्ण क्लेशको जड नै अविद्या भएकाले यसको अन्त नै निर्वाणको द्वारोद्घाटन हो।
अविद्याको कारण संस्कारको उत्पत्ति हुन्छ। संस्कार अर्थात् पहिले गरिएको कर्म वा कार्यको कारणले परिणामको भागीदार हुनैपर्ने हुन्छ। यस संस्कारको कारण विज्ञानको उत्पत्ति हुन जान्छ। विज्ञानको कारण चित्तको कार्यव्यापार हुन गई नामरूपको उत्पत्तिको आधार बन्दछ। पञ्चस्कन्दका तत्त्वहरूमा पर्ने वेदना, संस्कार र विज्ञानको कारण नामरूप वा शरीरकायको स्वरूपमा सिर्जित हुन्छ।
नामरूपको कारण षडायतन (पञ्चज्ञानेन्द्रिय र मन) को उत्पत्ति हुन गई अस्तित्वको आविर्भाव हुन्छ। षडायतनको कारण स्पर्श हुन गई बाहिरी आयतन (तत्व) सँग यसको सम्बन्ध हुन गई अनेकौं कार्यव्यापार घटित हुन जान्छ, जसले गर्दा वेदनाको उत्पत्ति हुन गई चित्तमा सुखमय, दुःखमय वा शून्य/समत्वभावमध्ये एक प्रकारको प्रतिक्रियाको अनुभूति हुनु नै वेदना हो। यसै वेदनाले तृष्णाको सिजैना गराउँछ। यही तृष्णा वा आशक्तिको कारण बन्धनका अनेकौं चक्र बन्दै जान्छन्।
तृष्णाले उपादान (आशक्तिको तीव्र विस्तार) गराउँछ। उपादानबाट भव उत्पन्न हुन्छ। आशक्ति उपादानमा परिणत भएपछि काय, वाक र चित्तको माध्यमबाट त्यसलाई पूर्ति गर्ने जुन कर्म गरिन्छ, त्यसबाट नै भवको उत्पति हुन जान्छ। भवले जन्मको उत्पति गराउँछ। जन्मको कारण अनेकौं सांसारिक दुःखमा पर्ने शाश्वत सत्य सबैले भोग्नैपर्छ। यसै जन्मबाट जरामरणको उत्पति हुन्छ। अर्थात् जन्मिएपछि मृत्युको सत्यलाई स्वीकार गर्नैपर्छ।
कुनै पनि वस्तुको अस्तित्व स्थिर छैन। वस्तुको स्वरूप अर्थात् निरन्तर परिवर्तन भइरहन्छ। निरन्तर बहिरहने पानीको प्रवाह, बलिरहने दीपको प्रवाह जसरी स्थिर रहँदैन, त्यसरी नै संसारका हरेक वस्तु अनित्य छ भन्ने सत्य नै बौद्ध दर्शनको सार हो।
द्वादश आयतनको निदानबाट नै साधकले निर्वाण प्राप्त गर्छ। उल्लिखित द्वादश आयतनको आपसी सम्बन्धहरूमा कार्यकारण भावको सम्बन्धको कारण कसरी प्राणी बन्धनमा फसिरहन्छ भन्ने सत्यलाई दार्शनिक दृष्टिकोणमा देखाइएको छ भने अर्कोतिर कुनै पनि वस्तुको स्थिर र स्वतन्त्र अस्तित्व छैन भन्ने सत्यको उद्घोष गरिएको छ। सारमा, वस्तु अवस्थाहरूको परिवर्तित शृंखला मात्र हो, जसमा पहिलो सत्ता दोस्रोको लागि आधार बन्छ।
वस्तुको परिवर्तनशील स्वभाव, अनित्यवाद अर्थात् क्षणिकवादको सिद्धान्तलाई अनुभूति गरेमा तृष्णाहरूको स्वतः अन्त्य हुन्छ। अर्को शब्दमा, ज्ञान र प्रज्ञाद्वारा यस चक्र प्रणालीलाई भेदन गरी निर्वाण वा शून्यताको बोध गर्न सकिन्छ। मूलतः द्वादश निदानको सिद्धान्त नै अनित्यवाद अर्थात् प्रतीत्य–समुत्पाद हो। यसै सिद्धान्तमा कर्मको, क्षणिकवाद, नैरात्मावाद, संघात्मावाद र क्रियाकाारित्वको सिद्धान्त पनि यसैमा आधारित छन्।
कुनै पनि वस्तुको अस्तित्व स्थिर छैन। वस्तुको स्वरूप अर्थात् निरन्तर परिवर्तन भइरहन्छ। निरन्तर बहिरहने पानीको प्रवाह, बलिरहने दीपको प्रवाह जसरी स्थिर रहँदैन, त्यसरी नै संसारका हरेक वस्तु अनित्य छ भन्ने सत्य नै बौद्ध दर्शनको सार हो। यसकारण अनित्यताको सारलाई अनुभव गरेर नै व्यक्तिले द्वादश आयतनको चक्र तोडेर निर्वाण प्राप्त गर्न सक्छ भन्ने बोध हुनु नै बौद्ध दर्शनलाई बुझनु हो।