वनमन्त्रीको 'भाइरल' तस्वीरको यथार्थ
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चीनबाट अनुदानमा आएको अक्सिजन सिलिन्डरमा आफ्नो नामको स्टिकर लगाएर बाँडेको भन्दै तस्वीरहरू ‘भाइरल’ भइरहेका छन्।
चीनबाट अनुदानमा प्राप्त भएको नीलो सिलिन्डरलाई आफ्नो लोकप्रियताका लागि व्यक्तिगत जसरी बाँडेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिप्पणी गरिरहेका छन् ।
मन्त्री आलेले चाहिँ डोटी र कैलालीमा वितरण गरिएका अक्सिजन सिलिन्डरमध्ये १५ थान मात्रै स्वास्थ्य सेवा विभागबाट प्राप्त भएकोे जानकारी गराए।
२० दिनअघि नै १५ लाख अग्रिम दिएर ११० थान अक्सिजन सिलिन्डर र दुई लाख मास्क खरीद गरेको आलेकोे भनाइ छ। “त्यसमध्ये डोटी अस्पतालमा स्वास्थ्य सेवाले दिएका १५, व्यक्तिगत रूपमा किनेका ६० सिलिन्डर र डेढ लाख मास्क वितरण गरेको छु,” उनले भने, “ कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा ५० वटा सिलिन्डर र ५० हजार मास्क सहयोग गरेँ।”
स्वास्थ्य सेवाले दिएको १५ सिलिन्डर पर्याप्त नभएकाले व्यक्तिगत रूपमा किन्न बाध्य भएको उनको भनाइ छ। अक्सिजन ढुवानीका लागि काठमाडौं–डोटी ट्रक भाडा थप एक लाख तिरेको आलेले जानकारी गराए।
बिध म्यानेजमेन्ट प्रालिले पनि आलेले ४० लिटरको ६० थान अक्सिजन सिलिन्डर किनेको पुष्टि गरेको छ। बिध म्यानेजमेन्टका बिक्री प्रबन्धक सुसन धितालले प्रेमबहादुर आलेको नाममा ६० थान अक्सिजन सिलिन्डर गएको बताए। धितालले भने, “उहाँ मन्त्री हो भन्ने पनि थाहा थिएन, धेरै माग गर्नुभएको छ, त्यसमध्ये ६० थान सिलिन्डर डेलिभर गरिसकेका छौं।”