एमसीसी अनुमोदनको वैकल्पिक प्रक्रियामा जाने तयारी गरिरहेका छौं : राजदूत खतिवडा
अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि वैकल्पिक प्रक्रियामा जाने तयारी भइरहेको बताएका छन्।
एमसीसी परियोजनाको केही विपक्षी दलले विरोध गर्दै आएका छन्। केही नेता र सांसदको विरोधका कारण डेढ वर्षदेखि प्रतिनिधि सभाबाट पारित हुन सकेन। अहिले प्रतिनिधि सभा नै विघटन गरेपछि एमसीसी परियोजन अन्योलमा परेको छ।
पूर्वअर्थमन्त्री समेत रहेका अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले रासससँगको अन्तर्वार्तामा एमसीसी परियोजना अगाडि बढ्ने बताएका छन्। अहिले प्रतिनिधि सभा नभएको अवस्थामा वैकल्पिक प्रक्रियामा अपनाइने उनको भनाइ छ। “अमेरिका–नेपालबीच यति राम्रो सम्बन्धका बावजूद यसलाई रोकिनु कुनै पनि दृष्टिकोणले उपयुक्त होइन। अब हामी अनुमोदनको वैकल्पिक प्रक्रियामा जाने तयारी गरिरहेका छौं,” राजदूत खतिवडाले भने।
यो परियोजनालाई निरन्तरता दिने विषयमा छलफल गरिरहेको उनले बताएका छन्। “यसै विषयमा यसै साता मात्रै मैले एमसीसी डिपार्टमेन्ट अफ कम्प्याट अपरेशनकी उपाध्यक्ष फतिमा सुमर र उपाध्यक्ष जोनाथनसँग छलफल गरेको थिएँ,” खतिवडाले भने, “संसद् नरहेको अवस्थामा वैकल्पिक विषयमा पनि हामी छलफल गर्ने नै छौं। उहाँहरू काठमाडौं भ्रमण गरेर यसलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ।”
संसद्बाट अनुमोदन नगरी कार्यान्वयनमा लैजान सरकारले प्रस्ताव गरेको उनले खुलाएका छन्। तर, अमेरिकाले नमानेको उनको भनाइ छ। “हामीहरूको लागि विद्युत वितरणको आयोजना लाइफलाइन नै हो नि। यो नेपालको बृहत्तर विकासका लागि अपरिहार्य पनि छ। त्यसैले यो राष्ट्रिय गौरवको आयोजनामा राखेका छौं। हामीले यसलाई तीन वर्षदेखि बजेटमा राखेका छौं। यो संसद्ले पास गरेको बजेट हो,” खतिवडाले भने, “यसैले यसलाई कार्यान्वयनमा लैजाऔं भनेका छौं। तर, उहाँहरूले अनुमोदन नभई यो ‘फोर्स’ हुँदैन भन्नुभएको हो। यो होल्डमा रहेको छ।”
अहिले प्रतिनिधि सभा नभएकाले कुन विकल्पमा जाने भन्ने विषयमा छलफल गरिरहेको उनले बताएका छन्। त्यस्तै, प्रसारण लाइनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको पनि उनले बताएका छन्। “अब संसद् नभएको अवस्थामा कसरी कुन विकल्पमा जाने भनेर हामीले छलफल गरिरहेका छौं,” खतिवडाले भने, “हामीले यसका लागि काम गर्दै आएका पनि छौं, आयोजनाको स्थान छनोट, वातावरण मूल्याङ्कन जस्ता काम सम्पन्न गरिसकेका छौं। ‘क्रस कन्ट्री टान्समिशन लाइन’ का लागि कम्पनी स्थापना गर्न क्याबिनेटमा प्रस्ताव पुगेको पनि छ।”
केही राजनीतिक दलका नेताहरूको दोहोरो भूमिकाका कारण दुई वर्षसम्म पारित हुन नसकेको उनको भनाइ छ। “अनावश्यक रूपमा यस आयोजनालाई अमेरिकाको सुरक्षा नीतिभित्र पर्छ भनेर एकातिर हल्ला गरियो भने अर्कोतर्फ दुई–दुई वर्षसम्म संसद्मा प्रवेश नै नगराई हलो अड्काउने काम भयो,” अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले भने, “यसमा कुनै विवादको विषय नै छैन। राजनीतिक दलका नेताहरूले भेटमा एउटा र व्यवहारमा अर्को कुरा गर्ने जस्तो द्वैध चरित्रको कुरा गर्नुभएकाले पनि संसद्मा यो सहायता कार्यक्रम टेबल हुन पाएन।”
एमसीसीलाई राजनीतिकरण गरिएको खतिवडाको भनाइ छ। “यो सहायतालाई हामीले अलि बढी नै राजनीतिकरण गर्यौं। जे सम्झौता गरेका छौं,” उनले भने।
राजदूत खतिवडाले कोभिड–१९ सँग लड्न अमेरिकी सहयोगका लागि पनि पहल गरिरहेको बताएका छन्। अमेरिकाले विदेशी मुलुकलाई दिने आठ करोड डोज खोपमध्ये नेपालले पनि पाउनुपर्छ भनेर पहल गरिरहेको उनले बताएका छन्।
यससँगै युएसएड मार्फत एक चरणको सहयोग नेपाल पुगिसकेको र अझै सहयोग गर्ने वचन दिएको पनि राजदूत खतिवडाले बताएका छन्।