काठमाडौं उपत्यकामा एउटा ब्यांकका ६ वटा शाखा मात्र खुल्ने
नेपाल राष्ट्र ब्यांकले काठमाडौं उपत्यकामा ब्यांक तथा वित्तीय संस्थाको सीमित शाखा आलोपालोमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।
केन्द्रीय ब्यांकले सोमबार निर्देशन जारी गर्दै महामारीको स्थितिलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा एउटा वाणिज्य ब्यांकले ६ वटा शाखा मात्र सञ्चालन गर्नसक्ने निर्देशन दिएको हो।
जसअनुसार, वाणिज्य ब्यांकले काठमाडौं जिल्लामा तीन, ललितपुरमा दुई र भक्तपुरमा एक शाखा मात्र सञ्चालन गर्न सक्नेछन्।
ब्यांकहरूले आलोपालोमा शाखा सञ्चालन गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ। त्यसैगरी, विकास ब्यांकले काठमाडौंमा दुई, ललितपुर र भक्तपुरमा एक–एक मात्रै शाखा सञ्चालन गर्न पाउनेछन्।
त्यसैगरी, वित्त कम्पनीले उपत्यकाका तीन जिल्लामा एक–एक वटा शाखा मात्र सञ्चालन गर्नुपर्ने निर्देशनमा उल्लेख छ। राष्ट्र ब्यांकले अत्यावश्यक ब्यांकिङ सेवाका लागि बन्द रहेका शाखाका सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा तथा शाखा खुला रहने समय सम्बन्धी सूचना दैनिक रूपमा प्रकाशन गर्न पनि निर्देशन दिएको छ।