चीनको छन्तुमा महावाणिज्य दूतावास स्थापना
अनावश्यक स्थानमा नियोग घटाउने विषयमा छलफल चलिरहेका बेला नेपालले चीनको छन्तुमा महावाणिज्य दूतावास स्थापना गरेको छ ।
सोमबार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले महावाणिज्य दूतावासको उद्घाटन गरे। योसहित चीनका चार शहरमा नेपालको कूटनीतिक नियोग स्थापना भएका छन् ।
बेइजिङमा राजदूतावास छ भने क्वाङ्चौं र तिब्बतको ल्हासामा यसअघि नै महावाणिज्य दूतावास स्थापना भइसकेका छन्। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा पनि नेपाली वाणिज्य दूतावास छ।
लामो समयको प्रयत्नपछि सरकारले सिचुआन प्रान्तको छन्तुमा महावाणिज्य दूतावास खोलेको हो। विदेशस्थित महँगो खर्च हुने महावाणिज्य दूतावासको औचित्यमाथि प्रश्न उठ्दै आएको छ।
नेपालका ३० देशमा दूतावास तथा आधा दर्जन स्थानमा महावाणिज्य दूतावास छन्।