कोरोना नियन्त्रणका लागि ५ अर्ब खर्च, १४ अर्ब स्रोत सुनिश्चित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा नियन्त्रणका लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जनाएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना नियन्त्रणमा भएको खर्च र स्रोत सुनिश्चित भएको विवरण सार्वजनिक गरेका हुन्।
मन्त्रालयका अनुसार, कोभिड–१९ को द्रुत कार्ययोजनाका आधारमा खोप लगायत निदान, उपचार व्यवस्थापनका लागि १४ अर्ब स्रोत सुनिश्चित भएको छ।
खर्च भएकोमध्ये खोप कार्यक्रम र एचडीयू (हाई डिपेन्डेन्सी युनिट) का लागि २ अर्ब ५४ करोड ५८ लाख भुक्तानी हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले वैशाख महीनामा मात्रै उपचारका लागि ४५ करोड रुपैयाँ शोधभर्ना गरिएको जनाएको छ।
कोरोना उपचारका लागि १५७ अस्पताल सञ्चालनमा ल्याइएको र ४५ निजी अस्पतालमा पनि निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।
त्यस्तै, ५५ सरकारी प्रयोगशालाबाट निःशुल्क परीक्षणको व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।