यादवका सांसद ठाकुरको पक्षमा, ठाकुरका कार्यकारिणी सदस्य यादवको पक्षमा
प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमलाई लिएर दुई चिरा बनेको जसपामा यतिबेला रोचक दृश्य देखिएको छ। महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरू उपेन्द्र यादव पक्षमा गएका छन् भने यादव पक्षका कतिपय सांसदको साथ ठाकुरले पाएका छन्।
जनता समाजवादी पार्टी (जसपा) पार्टी एकता भएको एक वर्ष पुग्दानपुग्दै सत्ता स्वार्थले विभाजनको सँघारमा पुगेको छ।
बाहिरबाट हेर्दा साबिक राष्ट्रिय जनता पार्टी (राजपा)बाट आएकाहरूको नेतृत्व महन्थ ठाकुर, राजेन्द्र महतोले र साबिक समाजवादी पार्टी (सपा)काहरूको नेतृत्व उपेन्द्र यादव र बाबुराम भट्टराईले गरेको जस्तो देखिन्छ। तर, जसपाका केन्द्रीय कार्यकारिणी सदस्य र सांसद तानातानले भने अवस्था फरक देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमप्रतिको धारणालाई लिएर दुई चिरा बनेको जसपामा यतिबेला रोचक दृश्य देखिएको छ। महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरू धमाधम उपेन्द्र यादव पक्षमा गएका छन् भने यादव पक्षका कतिपय सांसदको साथ ठाकुरले पाएका छन्।
पछिल्लो पटक राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश–२ का मन्त्री नवलकिशोर साह सुडी र रामनरेशराय यादवले ठाकुरको साथ छाडेका छन् भने राजपा अध्यक्ष मण्डलको संयोजक रहिसकेका सांसद महेन्द्रराय यादव, गजाधर रोहिता यादव र रमेश यादव यसअघि नै ठाकुर छाडेर यादव समूहमा लागिसकेका छन्।
जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र पक्ष बहुमतमा पुग्नुको कारण पनि यही हो। ६ जनाले ठाकुरको साथ छाडेपछि यादव–भट्टराई समूहमा ३१ केन्द्रीय कार्यकारिणी सदस्य पुगेका छन्। बाँकी ठाकुर पक्षमा। प्रतिनिधि सभाका सांसदहरू भने अधिकांश ठाकुरको पक्षमा लागेका छन्।
पार्टी एकीकरणताका राजपाका १७ र सपाका १७ सांसद थिए। त्यसमध्ये राजपाका रेशम चौधरी र सपाका हरिनारायण रौनियार निलम्बित छन्। अहिले जसपाका ३२ सांसदलाई मताधिकार छ।
साबिक राजपा र सपा पृष्ठभूमिका हिसाबले ठाकुरको पक्षमा १६ र यादवको पक्षमा १६ सांसद हुनुपर्ने हो। तर, यादव पक्षका सांसदहरू उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रेनुका गुरुङ, कलुदेवी विश्वकर्मा र रूही नाज ठाकुरको पक्षमा देखिएका छन् ।
ठाकुर पक्षका पाँच सांसदको साथ पाएपछि बहुमत सांसदको बलमा ठाकुरले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेका छन्।
तर, यादवको नेतृत्वमा शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भने महतोलाई संसदीय दलको नेता बनाएको निर्णय खारेज गरिसकेको छ। त्यति मात्रै होइन, ओली नेतृत्वको सरकारमा सहभागी भए तत्काल पार्टीबाट निष्कासन गर्ने निर्णय समेत गरेको छ।
आफू अल्पमतमा परेपछि ठाकुरले आइतबार केन्द्रीय कार्यकारिणी समितिको कुनै पनि निर्णय आफूलाई मान्य नहुने भन्दै विज्ञप्ति जारी गरेका छन्। ठाकुरले संसदीय दलको बहुमतका आधारमा ओलीलाई समर्थन गरेका हुन्।