यस्तो छ, कोरोना नियन्त्रण गर्न माओवादीले पारित गरेको प्रस्ताव
कोरोनाभाइरस महामारी नियन्त्रण गर्न नेकपा (माओवादी केन्द्र)ले विशेष प्रस्ताव पारित गरेको छ।
माओवादी स्थायी समिति बैठकले ‘नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव’ पारित गरेको हो। स्थायी समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले महामारी नियन्त्रणका लागि प्रस्ताव पेश गरेका थिए।
कोरोना महामारी नियन्त्रणमा सरकारले लापरवाही गरेको माओवादी स्थायी समितिले निष्कर्ष निकालेको छ। जनताको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको माओवादीको आरोप छ।
कोरोना नियन्त्रणका लागि माओवादी स्थायी समितिले पारित गरेको प्रस्ताव:
ब्रिटिश भेरियन्ट तथा भारतबाट फैलिएको नयाँ भेरियन्टका कारण नेपालमा कोरोना संक्रमण उच्च तहमा पुगेको सर्वविदितै छ। कोभिड–१९ को दोस्रो लहरको तीव्रता र भयावहतालाई दृष्टिगत गर्दा सरकार जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्ने तथा संक्रमण रोक्ने तयारी, तत्परता र प्रभावकारितामा पूर्णत: असफल साबित भएको छ। अझ तेस्रो लहर पनि आउनसक्ने सम्भावनाप्रति विज्ञहरूले सचेत गराइरहेको पृष्ठभूमिमा सम्भावित विपत्तिलाई सामना गर्नसक्ने प्रणाली निर्माणको तयारी पनि आजैको विषय बन्न पुगेको छ।
जनताको जीवन रक्षाको अत्यन्तै संवेदनशील यो मुद्दामा सरकारको चरम लापरवाहीप्रति खेद प्रकट गर्दै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको २०७८ जेठ ५ र ६ गते बसेको बैठकले यसबारे गम्भीर छलफल गरी निम्नानुसार कोरोना नियन्त्रणका लागि नीति, योजना, कार्यक्रम र संरचना बनाई अघि बढने निर्णय गरेको छ।
१) हाम्रो पार्टीले कोभिड–१९ को पहिलो लहरको सन्दर्भमा यो विश्वव्यापी महाविपत्तिसँग लड्न केन्द्र, प्रदेश र स्थानीय तहसम्म सर्वदलीय, सर्वपक्षीय संयन्त्र निर्माण गर्ने अपील गरेको थियो। कोभिड–१९ को दोस्रो लहर भयावह हुन पुगेको छ। संक्रमणदर बढ्दो छ। मृत्युदर पनि बढिरहेको छ। शुरूमा शहरी क्षेत्रमा व्याप्त महामारी ग्रामीण क्षेत्रमा विस्तारित हुन पुगेको छ।
तेस्रो लहरले सबैभन्दा बढी बालबालिका संक्रमित हुने पूर्वानुमान भइरहेको छ। अतः यसलाई नियन्त्रण गर्न चौतर्फी पहल र विशेष अभियानको आवश्यकता छ। परिस्थितिले पुनः सर्वदलीय र सर्वपक्षीय सहभागिताको संयन्त्रको स्थापना अपरिहार्य हुन गएको छ। त्यसका लागि सरकार, राजनीतिक दलहरू, नागरिक समाज, वैज्ञानिक समुदाय र विज्ञहरू, विभिन्न जनसंगठन र सामाजिक संघसंस्था, पत्रकार, बुद्धिजीवी लगायत सम्बन्धित सबै पक्षसँग संवाद र छलफल गरी साझा सहमतिका लागि पहलकदमी लिइनेछ। वर्तमानमा क्रियाशील कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आफ्नो दायित्व पूरा गर्न विफल भएकाले यसको विघटन गरी प्रधानमन्त्रीकै नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय संयन्त्र बनाउन जोड दिइनेछ।
२) वर्तमानको महाविपत्तिसँग जुध्न पार्टीको नेतृत्वमा केन्द्र, प्रदेश र स्थानीय तहसम्म कोभिड स्वास्थ्य एकाइ गठन गरिनेछ। कोभिड नियन्त्रण गर्न जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न यो एकाइले उत्प्रेरित गर्नेछ। यसले एकअर्काबीच संयोजन गर्नुका साथै सूचनाहरूलाई अद्यावधिक गर्न जोड दिनेछ। सबै तहका एकाइहरूले विभिन्न जनसंगठनबाट जनशक्ति लिएर आवश्यकता अनुसार स्वयंसेवक टीम गठन गर्नेछन्। केन्द्रमा पार्टी अध्यक्ष क. प्रचण्डको नेतृत्वमा समिति गठन हुनेछ।
३) सबै तहका एकाइहरूले स्वास्थ्यकर्मीहरूसँग मिलेर स्वयंसेवकहरूलाई आन्तरिक रूपमा दक्ष बनाउनुपर्नेछ। स्वयंसेवक टीमलाई पीपीई, अक्सिमिटर, थर्मामिटर, आवश्यक औषधि, मास्क, स्यानिटाइजर उपलब्ध गराउनुका साथै कोभिड सम्बन्धी तालिम दिनुपर्नेछ। सबै स्तरका एकाइहरूले संक्रमितहरूको अवस्था बुझेर आवश्यकता अनुसार उद्घार, परीक्षण, कन्ट्र्याक्ट ट्रेसिङ, क्वारेन्टिन, आइसोलेसन, होल्डिङ सेन्टर निर्माण साथै उपचारमा सहजीकरणका अतिरिक्त जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछन्।
४) कोरोनाभाइरस विरुद्धको यो संघर्षमा अन्तत: खोप दिएर मात्र संक्रमणमाथि विजय प्राप्त गर्न सकिने यथार्थलाई आत्मसात् गर्दै जनताको खोप प्राप्तिको अधिकार र आवश्यकतालाई परिपूर्ति गर्न पार्टीले पनि आफ्ना सम्बन्धहरूलाई परिचालन गरी कूटनीतिक पहल लिनेछ। यस सन्दर्भमा सरकारको ढिलासुस्ती र कमिशनको खेल लगायतको जनताको जीवनमाथि भइरहेको खेलबाडको निन्दा गर्दै समयमै खोपको व्यवस्थापन गर्न दबाब दिइनेछ। साथै, आफ्नो नेतृत्वमा गठन भएका प्रदेश र स्थानीय तहको सरकारलाई पनि खोपको कार्यान्वयन गर्न गराउन निर्देशन दिइनेछ।
५) पार्टीको नेतृत्वमा गठित स्वास्थ्य एकाइहरूले संक्रमितहरूको लक्षणका आधारमा स्थिति निर्धारण गरी शीघ्र उपचार तथा अक्सिजनको व्यवस्थापन गर्न जोड दिनेछन। आज विकट ग्रामीण इलाकाहरूमा संक्रमण बढिरहेको हुँदा त्यस क्षेत्रका जनताको उपचार तथा जनचेतना अभिवृद्धि गर्न विशेष पहल गरिनेछ। यस सन्दर्भमा सम्भावना हेरी टेलिमेडिसिनको पद्धति अवलम्बन गरिनेछ। ग्रामीण क्षेत्रका जनताको उपचार गर्न सरकारसँग हवाई एम्बुलेन्सको व्यवस्था गर्न जोड दिइनेछ। परिस्थिति हेरेर संक्रमितहरूलाई स्वास्थ्य संंस्थामा प्रेषण गर्नुका साथै भएका संस्थाहरूको संस्थागत क्षमता बढाउन पनि भूमिका खेल्नेछ।
६) पार्टीको नेतृत्वमा कोभिड कोष खडा गरिनेछ। यसमा पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचितहरूले पाउने पारिश्रमिक एवं मासिक भत्ता र विभिन्न राजनीतिक नियुक्ति लिएकाहरूले आफूले प्राप्त गरेको आम्दानी बुझाउनुपर्नेछ। यो कोषमा पार्टीका सबै सदस्यहरूले न्यूनतम योगदान दिनुपर्नेछ। कोषमा सहयोगका लागि देशभित्र र बाहिर रहेका सबै जनवर्गीय संगठनहरूलाई आह्वान गरिनेछ। पार्टी बाहिरका सहृदयी र मनकारी महानुभाव र विभिन्न संघसंगठनलाई पनि अनुरोध गरिनेछ। यस सम्बन्धमा ठोस निर्णय केन्द्रीय कोभिड स्वास्थ्य एकाइले लिनेछ।
७) संक्रमितहरूको जीवन रक्षा गर्न आफ्नो जीवनलाई पनि मृत्युको हत्केलामा राखेर कोभिडको महाविपत्तिमा आफ्नो दायित्व निर्वाह गर्ने सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई शतप्रतिशत भत्ता सुविधा दिनुपर्नेछ। यस अघि दिने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको सन्दर्भमा त्यसलाई यथाशीघ्र कार्यान्वयन गर्न माग गर्दछ। यस अवधिमा जनशक्तिको चौतर्फी अभाव भएकाले त्यसलाई छिटो पूर्ति गर्नुपर्नेछ। यसअघि अस्थायी वा करारमा रहेका स्वास्थ्यकर्मीहरूलाई स्थायी दिलाउन पहल गरिनेछ। निजी क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीहरूको काम र सुविधाको सुनिश्चित गरिनुपर्दछ। यो महाविपत्तिमा जनताको सेवा गर्दा मृत्युवरण गर्ने स्वास्थ्यकर्मीहरूलाई ‘शहीद’ घोषणा गराउने पहल गरिनेछ।
८) सरकारी र सामुदायिक अस्पतालहरूको वरिपरि सातै प्रदेशमा हाम्रो पार्टीले सातवटा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन आपूर्ति सहज गर्न प्रयास गर्नेछ। यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ। यसका साथै पीपीई देशभित्रै उत्पादनको सम्भावनाहरूको खोजी गरिनेछ।
९) सबैस्तरका स्वास्थ्य एकाइहरू र स्वयंसेवकहरूलाई सरकारी र निजी सबै क्षेत्रका अस्पतालको बेड संख्याको स्थिति, उपचार प्रक्रियाको अध्ययन, अनुगमन गरी तथ्याङ्क संकलन गर्नका साथै सहजीकरण गर्न जोड दिइनेछ। हरेक तहमा वास्तविक स्थिति बुझ्न सक्ने सूचना संयन्त्रको निर्माण र व्यवस्थापन गरिनेछ। स्वास्थ्य क्षेत्रका सबै पक्षलाई पारदर्शी र जवाफदेही बनाउन सुदृढ प्रणाली निर्माण आजको आवश्यकता हो।
१०) नेपालका सीमानाकाहरूलाई कडाइपूर्वक व्यवस्थित गर्नुपर्दछ। सीमावर्ती क्षेत्रमा कोरोना नियन्त्रण गर्न विशेष पहल गरिनुपर्दछ। त्यहाँ जनशक्तिको आपूर्ति कमी हुन नदिन र न्यूनतम भौतिक पूर्वाधार (हेल्थ डेस्क, होल्डिङ सेन्टर, क्वारेन्टाइन)का लागि विशेष आग्रह गरिनेछ। स्थलगत मार्ग अतिरिक्त हवाईजहाजबाट आउने यात्रीहरूलाई पनि कडाइपूर्वक जाँच गरिनुपर्दछ। नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने सबै प्रक्रिया बन्द गर्न माग गर्दछ।
११) यसपटक बजेट कोरोना केन्द्रित हुनुपर्नेछ। स्थानीय तथा प्रदेश सरकारलाई तत्कालीन व्यवस्थापन र दीर्घकालीन संरचना बनाउन केन्द्रित गरिनुपर्दछ। स्थानीय तथा प्रादेशिक सरकारलाई आवश्यक सामग्रीहरू खोप, अक्सिजन, औषधि, पीपीई, मास्क, सेनिटाइजर आदिका साथै आईसीयू र भेन्टिलेटर सुविधासहितको कोभिड र ननकोभिड अस्पतालहरू निर्माण गर्न बजेट विनियोजन गरिनुपर्नेछ। अहिले विपत्को विशिष्टतालाई ध्यान दिएर अनावश्यक राजनीतिक नियुक्ति रोक्ने, अनुत्पादक क्षेत्रको फजुल खर्च कटाएर अक्सिजन प्लान्ट स्थापना गर्न, खोपको प्रबन्ध गर्न, अत्यावश्यक तथा आधारभूत सेवा एवं औषधिहरूको आपूर्तिमा लगाउन जोड दिइनेछ।
१२) कोभिडको यत्रो विपत्तिको अवस्थामा पनि कालोबजारी गर्ने र सामानको दुरुपयोग गर्नेहरूमाथि कडा कारबाही गरिनुपर्दछ। स्वास्थ्य सामग्रीहरूको पारदर्शी वितरण हुनुपर्छ। सत्तामा रहेकाहरूबाट शक्तिको दुरुपयोग गरी स्रोतसाधनको पार्टीकरण गर्ने कार्य बन्द गरिनुपर्छ।
१३) आयुर्वेद, प्राकृतिक चिकित्सा लगायत विभिन्न पद्धति अन्तर्गत जनताको प्रतिरोधात्मक क्षमता बढाउन र जीवनशैली बदल्न सकारात्मक योगदान दिने औषधि तथा जडीबुटीको खोज अनुसन्धान गरी वितरण गरिनुपर्दछ।
१४) कोभिड–१९ महामारीसँगै रोजगारी गुमाएका र भोकमरीको चपेटामा छटपटाएका नागरिकहरूलाई स्थानीय तह मार्फत खाद्यान्न र सुरक्षाको विशेष व्यवस्था गर्नुपर्दछ। त्यसको जिम्मा संघीय सरकारले लिनुपर्दछ।
१५) हामीले जबसम्म दरिलो एवं भरपर्दो जनस्वास्थ्य प्रणाली विकास गर्न सक्दैनौं तबसम्म हामी यस्ता महामारीबाट प्रताडित भइरहनेछौं। यसर्थ संघीयताको मर्म अनुसार, प्रदेश तथा स्थानीय तहमा दरिलो स्वास्थ्य प्रणाली विकासमा ध्यान जानेछ। स्वास्थ्य लगायत अन्य क्षेत्रसँग समन्वय र सहजीकरणमा पनि जोड दिँदै दीर्घकालीन योजनाहरू निर्माणमा ध्यान दिइनेछ। जबसम्म स्थानीय तहको क्षमतावृद्धि हुँदैन र अन्य क्षेत्रमा ठीक ढंगले समन्वय गर्न सकिँदैन, यस्ता विपत्तिमा क्षति न्यूनीकरण गर्न सकिँदैन।
अन्त्यमा, यो महामारीको समयमा पार्टीले जनताको जीवनरक्षालाई केन्द्रमा राखेर जनसेवामा समर्पित हुनपर्दछ। पार्टीपंक्तिलाई जनस्वास्थ्यको मापदण्डहरू बुझाउने, पालना गर्ने, स्वयंसेवक बनाएर संक्रमित एवं अन्य जनतालाई सेवा गर्ने, आ–आफ्नो तहमा प्रभावकारी संयन्त्र बनाएर परिस्थितिमाथि हस्तक्षेप गर्ने कार्य गर्नुपर्दछ। हामीले विपत्मा पनि काम गरेर एउटा भरोसायोग्य पार्टी रहेको जनतालाई व्यावहारिक अनुभूति गराउन सक्नुपर्दछ।