शेयर बजारमा चार रेकर्ड, परिसूचक २८५० पुगेर फर्कियो
सोमबार शेयर बजारको इतिहासमा चार रेकर्ड कायम भएका छन्।
आज शेयर बजारको इतिहासमा सबैभन्दा धेरै रकमको कारोबार भएको छ। आज २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार कित्ता शेयर खरीदबिक्री हुँदा १३ अर्ब १७ करोड ५३ लाख बराबरको कारोबार भएको छ।
नेप्से परिसूचकमा पनि आज रेकर्ड कायम भएको छ। बजार खुले लगत्तै २८५० अंक पुगेर रेकर्ड राखेको परिसूचक अन्तिममा २८२३ मा पुगेर रोकियो।
सिंगल स्क्रिप्टको कारोबारमा पनि आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को २१ लाखभन्दा बढी कित्ता कारोबार भएर रेकर्ड बनेको छ।
कारोबार रकममा सिंगल स्क्रिप्टको यसअघिको पुनर्बीमा कम्पनीको रकर्ड एचआईडीसीएलले तोडेको हो। यसको आज मात्रै १ अर्ब २६ करोडभन्दा बढी रकमको कारोबार भएको छ।
आज चार कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।