सेर्माथाङको सौन्दर्य
घुमघाममा सौखिनका लागि सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र परिचित नाम हो ।
हेलम्बुभित्र पनि सेर्माथाङ प्राकृतिक र धार्मिक पर्यटकीय गन्तव्य हो ।
ह्योल्मो जातिको मुख्य बसोबास रहेको यो ठाउँले खासगरी ग्रामीण पर्यटनको आकर्षण बोकेको छ । सेर्माथाङबाट लाङटाङ, गणेश, दोर्जेलाक्पा लगायत हिमाल अवलोकन गर्न सकिन्छ ।
बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल यो ठाउँमा विभिन्न गुम्बा र छोर्तेन छन् । २०७२ सालको भूकम्पबाट धेरै गुम्बा क्षतिग्रस्त भएको हेलम्बु क्षेत्रले दशक लामो सशस्त्र द्वन्द्वकालसँगै पर्यटकको अभाव खेपिरहेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जका प्रवेशद्वारहरूमध्ये सेर्माथाङ पनि एक हो । निकुञ्जमा दुर्लभ वन्यजन्तु रेडपाण्डा, चितुवा आदि पाइन्छन् ।
काठमाडौं नजिकै मनोरम पदयात्रा गर्न चाहनेहरुका लागि सेर्माथाङ उपयुक्त गन्तव्य हो । यहाँबाट गोसाइँकुण्ड र पाँचपोखरी पनि जान सकिन्छ ।
कसरी पुग्ने ?
काठमाडौंबाट हेलम्बुको सेर्माथाङ जान दुई वटा मोटरबाटो छन् । एउटा, बौद्ध चुच्चेपाटीबाट साँखु, जहरसिंहपौवा, भोटेचौर, मेलम्ची हुँदै ।
अर्को, कोटेश्वरबाट धुलिखेल, अरनिको राजमार्ग भएर पाँचखाल, मेलम्ची हुँदै ।
पदयात्रा रुचाउनेले करीब एक साता छुट्याउनु राम्रो हुन्छ । काठमाडौंदेखि सवारी साधनमा सुन्दरीजल पुगेपछि पदयात्रा शुरु हुन्छ ।
पहिलो दिन मूलखर्क हुँदै काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको संगमस्थल चिसापानी, दोस्रो दिन सिन्धुपाल्चोकको कुटुमसाङ, तेस्रो दिन ठाडेपाटी, चौथो दिन तार्केघ्याङ, पाँचौं दिन सेर्माथाङ, छैटौं दिन मेलम्ची र त्यहाँबाट सवारी साधनमा चार घण्टामा काठमाडौं आइपुगिन्छ ।