साहित्यकार वानीरा गिरिको निधन
साहित्यकार वानीरा गिरिको आइतबार राति ७६ वर्षको उमेरमा निधन भएको छ।
तीन साताअघि कोरोना संक्रमण भएकी गिरिको हृदयाघातबाट नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा निधन भएको हो। केही वर्षयता उनी अल्जाइमर्स रोगबाट ग्रस्त थिइन्।
११ अप्रिल १९४६ (२९ चैत २००२) मा भारतको खरसाङमा जन्मिएकी गिरि कविता, निबन्ध र आख्यान लेखनबाट नेपाली साहित्य क्षेत्रमा परिचित थिइन्।
उनका 'एउटा एउटा जिउँदो जंगबहादुर' (२०३१), 'जीवन थाय्मरु' (२०३४), 'मेरो आविष्कार' (२०४१) कवितासंग्रह, 'कारागार' (२०३५), 'निर्बन्ध' (२०४२) 'शब्दातीत शान्तनु' (२०५६) उपन्यास, 'पर्वतको अर्को नाम पार्वती' (२०६७), 'जंगल जंगल' (२०६९) निबन्धसंग्रह लगायत कृति प्रकाशित छन्। 'शब्दातीत शान्तनु' बाट उनले २०५६ सालको साझा पुरस्कार पाएकी थिइन्।
उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट 'गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद' विषयमा विद्यावारिधि गरेकी हुन्।