चेतन कार्की : ‘माछा हाकिम’ देखि लोकसंस्कृतिका सारथिसम्म
चेतन कार्की गाउँघरमा प्रचलित शिष्ट शैलीको दोहोरीलाई लोकगीतको उच्च विधा मान्थे। गीतको शब्द भुइँमा खस्न नपाउँदै गाउँका अपठित जनले उही लय, टेम्पो, मिठास र शिष्टता कायम गरेर प्रत्युत्तर दिनसक्नु चानचुने कुरा होइन भन्ने उनको बुझाइ थियो।
२०१८ सालतिरको कुरा हो, ‘करिअर’ का लागि चेतन कार्की काठमाडौंमा भौंतारिइरहेका थिए। भारतको देहरादूनमा एमए गरेर काठमाडौं पसेका उनले अंग्रेजी समाचारवाचकदेखि प्रहरी हाकिम हुनेसम्मका सपना देखे। तर, ती सबैमा उनी विफल भइरहेका थिए।
त्यस्तैमा कृषि विभागले ‘फिसरी अफिसर’ माग्यो। उनले आवेदन दिए, परीक्षा दिएर नाम निकाले। त्यसपछि ‘माछा हाकिम’ बनेर पोखराको फेवाताल पुगे। स्याङ्जाबाट पूर्वतिर हिँडेका उनको पाइला पश्चिमतिरै फर्कियो, त्यो पनि स्याङ्जा नजिकै।
राजनीतिक राजधानीबाट पर्यटकीय तथा सांस्कृतिक नगरीमा पुग्नु उनका लागि ‘घिउ कहाँ पोखियो, भागैमा’ भने जस्तो भयो।
पोखरा पुगेपछि उनीभित्र सुषुप्त अवस्थामा रहेको कला र संस्कृतिको चेतना उत्पात सल्बलाउन थाल्यो। चेतनको अवचेतन मनमा फेवातालको जस्तै छाल उठ्न थाल्यो। अनि त के चाहियो र, पोखराको सांस्कृतिक परिदृश्यमा एकपछि अर्को रङ थपिन थाल्यो ।
पोखरामा रहँदाबस्दा चेतन सबैका लागि प्रिय बनिसकेका थिए। उनी पोखरेली परिवेशमा कति प्रिय थिए भने, उनलाई चारै दिशाबाट अनेक अवसर र सामाजिक जमघटमा निम्तो आउँथे। ग्रामीणजन उनको दर्शनाभिलाषी बन्थे। उनलाई खासगरी गुरुङ गाउँहरूबाट बढी निम्ता आउँथ्यो।
उनी डुङ्गा चलाउने मानिसले गाएका गीत सुन्थे। बाटुलेचौरका गन्धर्वहरूको शब्द र सुरमा ध्यानमग्न हुन्थे। गीतको लय र मर्मको गहिराइमा डुबेर दंग पर्थे, तिनलाई मनमनै गुनेर भावुक हुन्थे। बाल्यकालदेखि नै लोकगीतप्रति रहेको उनको रुचि थप बाक्लिँदै गयो।
फेवाताल र आसपासको परिवेशमा दैनिक उठबसमा उनले त्यतैका विम्ब टिपेर गीत बुन्न थाले। फेवाताल, माछा र स्थानीय हर्पन खोलासँग जोडेर उनले बूढो लोग्ने व्यहोर्न विवश ग्रामीण बालाको मनोविज्ञानलाई गीतमा समेटे–
फेवातालको कत्लेमाछा हर्पन खोला धाउँछ
बूढो पोइको ओछ्यान लाउन मन मरेर आउँछ।
चेतनको अर्को गीत पनि तालसँगै सम्बन्धित छ। तालको किनारमा पाइने निङ्ग्रो (निउरो) र दिललाई जोडेर गीत रचे, जुन आफ्नो समयमा निकै लोकप्रिय थियो। उनको ‘निउरो गीत’ यस्तो थियो–
तालवारि तालपारि निउरो
निउरो निउरो भन्दैमा दिल बिग्र्यो
उनी पोखरामा ‘माछा हाकिम’ नामले चिनिन्थे। त्यहाँ रहँदाका क्षणहरू उनका लागि अतिशय अविस्मरणीय रहे। उनीभित्र स्पन्दित लोकजीवनको ढुकढुकी असंख्य ग्रामीणजनले राम्ररी अनुभूति गरे।
पोखरामा रहँदाबस्दा चेतन सबैका लागि प्रिय बनिसकेका थिए। उनी पोखरेली परिवेशमा कति प्रिय थिए भने, उनलाई चारै दिशाबाट अनेक अवसर र सामाजिक जमघटमा निम्तो आउँथे। ग्रामीणजन उनको दर्शनाभिलाषी बन्थे। उनलाई खासगरी गुरुङ गाउँहरूबाट बढी निम्ता आउँथ्यो।
२०२३ सालमा चेतन पोखरामा ‘आत्मा बेचेको छैन’ नाटक मञ्चन गर्ने चाँजोपाँजो मिलाउँदै थिए। उनी नाटक प्रदर्शनीको एक हिस्साको रूपमा लोकगीत पनि प्रस्तुत गर्न चाहन्थे। त्यहाँ प्रस्तुत गरिने गीत उनले पहिल्यै चयन गरिसकेका थिए। उनले त्यो गीत बाटुलेचौरका एक गन्धर्वबाट सुनेका थिए।
पोखराको चार किल्ला मानिने कुभिन्डेभञ्ज्याङदेखि सातमोहने देउरालीसम्म अनि घान्द्रुकदेखि सिकलेससम्मका ग्रामीणजनले निम्तो पठाएर उनको बाटो हेर्थे। स्थानीय स्कूल–कलेजको कार्यक्रममा उनको सहभागिता अपरिहार्य जस्तै थियो। जागीरे जीवनमा बचेको समय छुट्याएर उनी निम्तो मान्न पुग्थे।
यस्तैमा एक पटक पृथ्वीनारायण क्याम्पसमा जाँदा रोचक घटना भएछ। चेतन र बागवानी विकास केन्द्रका हाकिम महेन्द्रनाथ खनाल क्याम्पस पुगेछन्। खनाल पनि बिछट्टै रौसे। कार्यक्रम तालिकामा उनीहरूको प्रस्तुति पनि परेको रहेछ।
दुईजनाले जमेर नाचेछन्, गाएछन्:
जूनले बरू पोल्ला हजूर ताराले पोल्दैन
ढुङ्गा बरू बोल्ला हजूर मायालु बोल्दैन
भन्थी सानीले...।
यी दुई रौसेको रैथाने शैलीको नाचगानबाट दर्शकले भरपूर मनोरञ्जन लिएछन्। कार्यक्रममा उद्घोषकले पूर्वसल्लाह अनुसार, ती रौसेको नाम घ्याम्पे र पुन्टे भनिदिएछन्। दर्शकले ‘वान्स मोर’ भन्दै हुटिङ गर्न थालेछन्। बारम्बार घ्याम्पे र पुन्टेको नाम पुकार्न थालेछन्।
तर, आयोजकले ती दुईलाई पुनः प्रस्तुत गराउन सकेनछन्। त्यतिन्जेल घ्याम्पे र पुन्टे त्यहाँबाट टाप ठोकिसकेका रहेछन्। दर्शक रिसाएर जात्रा! त्यहाँको कुर्सी र सरसामान सग्लो बचेनछन्। कार्यक्रम नै बिथोलिएछ।
२०२३ सालमा चेतन पोखरामा ‘आत्मा बेचेको छैन’ नाटक मञ्चन गर्ने चाँजोपाँजो मिलाउँदै थिए। उनी नाटक प्रदर्शनीको एक हिस्साका रूपमा लोकगीत पनि प्रस्तुत गर्न चाहन्थे।
त्यहाँ प्रस्तुत गरिने गीत उनले पहिल्यै चयन गरिसकेका थिए। उनले त्यो गीत बाटुलेचौरका एक गन्धर्वबाट सुनेका थिए। गीतले गजबको कथा बोकेको थियो। गीत सुनाउने पारखी थिए, दुर्गाबहादुर मिजार।
कार्यक्रममा गीत सुनाउन दुर्गाबहादुर मिजारलाई बोलाइयो, तर उनी बिरामी भएकाले आएनन्। छोरालाई पठाए। छोरा थिए, झलकमान गन्धर्व। चेतनले उनलाई बाउले जस्तै गरी गाउन अह्राए।
झलकमानले साङ्गी रेट्दै गीत शुरू गरेः
‘हे बरै, आमाले सोध्लिन् नि खै छोरो भन्लिन्...।’
गीत हिट भइहाल्यो। एक त, लाहुरे समाजले भरिएको पोखरा। त्यसमाथि लाहुरे संस्कृतिको पीडा समेटिएको गीत, त्यो पनि सीधै मुटु छुने खालको। लोकप्रियताको शिखर चढ्ने क्रममा कालान्तरमा त्यही गीत झलकमानको ‘सिग्नेचर’ बन्न पुग्यो।
७ फागुन २०२३ मा राष्ट्रिय प्रजातन्त्र दिवसमा काठमाडौंमा आयोजना हुने राष्ट्रव्यापी सांस्कृतिक कार्यक्रममा गण्डकी अञ्चलको नेतृत्व चेतन कार्कीले नै गरेका थिए। गण्डकी अञ्चलको सांस्कृतिक टोलीमा उनले झलकमानलाई छुटाएनन्।
प्रतियोगितामा गण्डकी अञ्चलको टोलीले एकपछि अर्को गरी बाजी मार्यो। समूह र एकल नृत्य दुवैमा प्रथम भयो। रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितमा झलकमान गन्धर्वले ‘हे बरै, आमाले सोध्लिन् नि...’ गाए। उनी लोकगीतमा प्रथम भए।
चेतन भन्थे, ‘एउटा महाकविले महीनौं खर्चेर महाकाव्य लेख्न सक्ला, तर उसले अपठित ग्रामीणजनमा हुने साङ्गीतिक शिल्प, शैली र चातुर्य प्राप्त सक्दैन। अनपढ भए पनि ग्रामीणजनले यस्तो कुरामा सिद्धि प्राप्त गरेका हुन्छन्। यो एउटा बेग्लै विशिष्ट विधा हो।’
पोखराको बाटुलेचौरमा सीमित झलकमानको परिचय एकाएक देशव्यापी बन्यो। गीत रेकर्ड भएर रेडियो नेपालबाट प्रसारण हुन थालेपछि त उनको प्रसिद्धि केबराको फूल जस्तै मगमगाउँदो बन्यो।
***
पोखरामा चेतनको सांस्कृतिक क्रियाशीलताले दरबारको पनि ध्यानाकर्षण गरेको थियो। राजा महेन्द्रको पश्चिमाञ्चल भ्रमण हुँदा पोखराको रत्न मन्दिर मुकाम हुन्थ्यो। त्यहाँ चेतन र उनका सांस्कृतिक टोलीको उपस्थिति अनिवार्य मानिन्थ्यो। उनले राजा समक्ष थुप्रै प्रस्तुति दिए।
युवराज वीरेन्द्र देश दर्शनका क्रममा पोखरा पुग्दा पनि रत्न मन्दिरमा चेतनको टोलीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो। २०२८ सालमा राजा भएका वीरेन्द्रसँग पनि चेतन कार्कीको राम्रो सम्बन्ध रह्यो। यिनै कारणले राजसंस्थाप्रति उनी श्रद्धा राख्थे। नेपालमा जे जति विकास भएको छ, ती सबै राजसंस्थाको प्रतापबाट भएको हो भन्ने उनको मान्यता थियो।
***
चेतन कार्की गाउँघरमा प्रचलित शिष्ट शैलीको दोहोरीलाई लोकगीतको उच्च विधा मान्थे। गीतको शब्द भुइँमा खस्न नपाउँदै गाउँका अपठित जनले उही लय, टेम्पो, मिठास र शिष्टता कायम गरेर प्रत्युत्तर दिनसक्नु चानचुने कुरा होइन भन्ने उनको बुझाइ थियो।
उनी भन्थे, ‘एउटा महाकविले महीनौं खर्चेर महाकाव्य लेख्नसक्ला, तर उसले अपठित ग्रामीणजनमा हुने साङ्गीतिक शिल्प, शैली र चातुर्य प्राप्त सक्दैन। अनपढ भए पनि ग्रामीणजनले यस्तो कुरामा सिद्धि प्राप्त गरेका हुन्छन्। यो एउटा बेग्लै विशिष्ट विधा हो।’
अहिले साङ्गीतिक परिदृश्यमा अनेकन् परिवर्तन आएका छन्। अहिले प्रचलनमा रहेका परिमार्जित शैलीका लोकभाकाहरूलाई उनले खासै मानभाउ दिएनन्। लोकगीतलाई व्यापारिक वस्तु बनाइएकोमा उनी असन्तुष्टि पोख्थे। राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालमा पुराना लोकगीतको सही दस्ताबेजीकरण हुन नसकेको भन्दै दुःख व्यक्त गर्थे।
लोकगीतलाई वर्गीकरण गर्ने चेतनको बेग्लै शास्त्र थियो। उनी लोकगीतलाई चार समूहमा विभाजन गर्थे– ढोटे, कोठे, भोटे र ओठे। उनको परिभाषामा ढोटे उमेरमा भाका, लय र भाव मिले पनि नमिले पनि बैंसालुहरूले गामबेसीमा गाउने गीत ढोटे लोकगीत हो।
त्यस्तै, पछिल्लो समयमा व्यापक प्रचलनमा आएको साङ्गीतिक परिपाटीमा सहरमा बसेर तयार पारिने लोकगीतलाई उनी ‘कोठे गीत’ भन्थे। स्क्रिप्ट अनुसार, तयार पारिने यस्ता गीत पर्याप्त रिहर्सलपछि व्यापारिक प्रयोजनका लागि सार्वजनिक गरिन्थे, गरिन्छन्।
चेतन भारतीय सैनिकका छोरा थिए। उनी चार वर्षको हुँदै पिता जुद्धवीर कार्कीले देहरादूनमा लगेर शिक्षा–दीक्षा दिएका थिए। उनले बाल्यकालदेखि नै हिन्दी र अंग्रेजी भाषामा पढे। यस्तो विपरीत परिस्थितिमा उनको गीत र ‘स्क्रिप्ट’ हरूमा ठेट नेपालीपन भेटिनु र नेपाली लोकजीवनप्रति हदै अनुरक्त हुनु अचम्मकै कुरा थियो।
उनी तामाङ सेलो लगायत हिमाली क्षेत्रका गीतहरूलाई ‘भोटे गीत’ भन्थे। उनको दृष्टिमा सबभन्दा सही र वास्तविक लोकगीत चाहिँ ‘ओठे गीत’ हो, जुन एकजनाले थालेपछि अर्कोले त्यही भाव, मिटर र भाकामा तत्कालै जवाफ दिन्छ। त्यसलाई उनी गैरव्यापारिक र स्वच्छ गीत मान्थे। उनका अनुसार, भाव विनिमय गर्नु नै त्यस्तो लोकगीतको मूल ध्येय हुन्छ।
***
चेतन भारतीय सैनिकका छोरा थिए। उनी चार वर्षको हुँदै पिता जुद्धवीर कार्कीले देहरादूनमा लगेर शिक्षा–दीक्षा दिएका थिए। उनले बाल्यकालदेखि नै हिन्दी र अंग्रेजी भाषामा पढे। यस्तो विपरीत परिस्थितिमा उनको गीत र ‘स्क्रिप्ट’हरूमा ठेट नेपालीपन भेटिनु र नेपाली लोकजीवनप्रति हदै अनुरक्त हुनु अचम्मकै कुरा थियो।
कलेजको बिदाइ कार्यक्रममा उनलाई नेपाली गीत गाउन लगाइन्थ्यो। त्यस्तो बेलामा उनी गाउँथे:
बाटो हेर्दा सम्साँझैदेखि निरमाया उज्यालो भैगयो
आउँछौ भनी पर्खेर बस्दा निरमाया जोबन गैगयो
चेतनले गीत, नाटक, चलचित्र, साहित्य लगायत लोकरञ्जनका सबै विधामा योगदान दिए। उनले नेपाली चलचित्रमा लोकगीत भित्र्याए। अन्य गीतहरूमा पनि लोकजीवनका अनेक फाँकी र फुँदाहरू गाँस्न भुलेनन्। उनी नरहे पनि उनलाई जनजनले सम्झिने मुख्य आधार लोकजीवनका तिनै फाँकी र फुँदाहरू नै हुन् भन्न सहजै सकिन्छ।