त्रिविको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने, पहिलो वर्षको परीक्षा साउनमा
त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने भएको छ। आइतबार त्रिविले सूचना प्रकाशित गरी परीक्षा फारम भर्न विद्यार्थीलाई सूचित गरेको छ।
कोभिड–१९ को दोस्रो लहर चलेपछि त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो। अब विद्यार्थीले अनलाइनबाट पनि भर्न सकिने व्यवस्था गरेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार, १० देखि २० जेठसम्म सम्बन्धित क्याम्पसबाट फारम भर्न सकिनेछ। क्याम्पसमा गएर फारम भर्न नसकिने अवस्थामा विद्यार्थीले १० देखि २० जेठसम्म अनलाइनबाटै भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
कोरोनाको दोस्रो लहर चलेपछि काठमाडौं उपत्यका लगायत ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ। जसका कारण त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो।
त्यस्तै, त्रिविले पहिलो वर्षका विद्यार्थीको वार्षिक परीक्षा साउनभित्र सम्पन्न गरिने जनाएको छ। त्यसका लागि छिटै परीक्षा तालिका सार्वजनिक गरिने सूचनामा उल्लेख छ। यसअघि कोरोनाका कारण त्रिविले सबै तहका परीक्षा स्थगित गरेको थियो।