विवाहबाट गाउँभरि फैलियो कोरोना, घरघरमा बिरामी
धनकुटाको भेडेटार नजिकैको ओख्रे गाउँमा विवाहमा भएकाे जमघटपछि कोरोनाभाइरसको संक्रमण फैलिएको छ। गाउँपालिकामा एम्बुलेन्स नहुँदा अस्पताल लैजान नसकेपछि घरघरमा रहेका बिरामीलाई झन समस्या भएको छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–५ ओख्रे गाउँमा १७ वैशाखमा स्थानीय युवाको विवाह भएको थियो। विवाहको भोज खान गाउँभरका मान्छे जम्मा भएका थिए।
विवाहको केही दिनमै बेहुला अचानक बिरामी परे। स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका उनलाई स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकाले थप परीक्षण गर्न लगाए। धरान झरेका उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखियो।
बेहुला जस्तै लक्षण भएका बिरामी ओख्रेका घरघरमै देखापर्न थालेका छन्। उनीहरू अधिकांश त्यही विवाह भोजमा सहभागी थिए। गाउँभर उस्तै लक्षणका बिरामी देखिन थालेपछि साँगुरीगढी गाउँपालिकाले १७ जनाको पीसीआर परीक्षण गर्न पठायो।
परीक्षण गर्न पठाएका १७ मध्ये १३ जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। साँगुरीगढी–५ का वडाध्यक्ष पलक बस्नेत भन्छन्, “हामीले दुई पटक गरी ५१ जनाको पीसीआर परीक्षण गराउँदा हालसम्म २४ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ। उनीहरू विवाहमा सहभागी थिए। गाउँभरि कोरोना फैलिएपछि हामी समस्यामा पर्यौं।’
कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये धेरैजसो अहिले पनि गाउँमै छन्। ६ जना मात्र उपचारका लागि धरान झरेको अध्यक्ष बस्नेतले बताए। गाउँभर सङ्क्रमण फैलिएपछि गाउँपालिकाले ३ जेठमा सार्वजनिक सूचना जारी गर्दै ओख्रे क्षेत्र ४ देखि १५ जेठसम्म सिल गरेको छ।
अहिले संक्रमित भएर उपचार गइरहेका बेहुलाका एक छिमेकीका अनुसार, गाउँकै एक जना केही दिनअघि तराईबाट फर्किएका थिए। सामान्य बिरामी रहेका उनी विवाहमा आएका थिए। “विवाहमा भाँडा माँझेका उनी दुई–तीन दिनपछि बिते। के कारणले बिते भनेर खोजी गरिएन। पीसीआर पनि टेस्ट गरिएन,” उनी भन्छन्। तिनै व्यक्तिबाट संक्रमण फैलिएको उनको भनाइ छ।
नेपाली कांग्रेसको धनकुटा क्षेत्र नं. १ का सभापति जीतेन्द्र रुम्दाली राई गाउँका सबैजसो घरमा बिरामी रहेकाले परीक्षण गरे अझै सङ्क्रमित थपिने बताउँछन्। “गाउँपालिकाले समयमै व्यवस्थापन गर्न नसक्दा यो क्षेत्रमा फैलिएको सङ्क्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण छ,” उनी भन्छन्।
‘खर्च धान्न नसकेर घर फर्कियौं’
ओख्रेका घरघरै कोरोना सङ्क्रमण फैलिएपछि केही बिरामीको अवस्था भने गम्भीर बन्यो। उनीहरूले उपचार गराउन धेरै समस्या झेल्नुपर्यो। शुरूआतमा उपचारका लागि अस्पताल जान गाडी पाउनै मुश्किल भएको उनीहरू बताउँछन्। गाउँपालिकामा एम्बुलेन्स छैन।
अस्पताल पुगेकाहरू पनि महँगो शुल्क तिर्न नसकेर पूर्ण निको नभई घर फर्किएको बताउँछन्। धरानको विजयपुर अस्पतालमा उपचार गराउँदा–गराउँदै घर फर्किएका एक जना सङ्क्रमित भन्छन्, “अस्पतालले शुरूआतमा बेडको दैनिक १० हजार र डाक्टरले हेरेको दैनिक चार हजारका दरले लिँदै थियो। पछि त बढाएर बेडकै १४ हजार ७०० पुर्यायाे। त्यसपछि पैसा तिर्न सकिएन, घर फर्किएँ।”
उनी कोरोना सङ्क्रमित आफ्नी भतिजी पनि अस्पतालको महँगो शुल्क तिर्न नसकेर धरानको होटलमा बसिरहेका बताउँछन्। “अस्पतालहरूमा पनि हामी जस्तालाई लुट्ने काम हुँदो रहेछ। धन्न छोराबुहारी स्वास्थ्य क्षेत्रमै भएकाले अहिले घरमै बसिरहेको छु। अरू बिरामीलाई त धेरै गाह्रो छ,” उनी भन्छन्।
अर्का सङ्क्रमित गाउँपालिकाले एउटा एम्बुलेन्स समेत व्यवस्था गर्न नसक्दा दुःख पाएको बताउँछन्। उनी स्वास्थ्यमा समस्या आएपछि अस्पताल जान गाडी खोज्दा नपाएको बताउँछन्। “अरू बेला जाने गाडीहरू पनि सङ्क्रमित भनेपछि लान नमान्दा रहेछन्, बाहिरबाट एम्बुलेन्स मगाउँदा एकतर्फी भाडा मात्र ८ हजार तिर्नुपर्यो,” उनी भन्छन्, “गाउँभरि सङ्क्रमित भएकाले गाउँपालिकाले गाउँमै आइसोलेसन स्थापना गरेर, गाह्रो भएकालाई अस्पताल पुर्याउन तत्काल एम्बुलेन्सको व्यवस्था गरिदिए हुन्थ्यो।”
गाउँमा सङ्क्रमण फैलिएपछि गाउँपालिकाले ३ जेठमा सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा तत्काल गाउँमा १० शय्याको आइसोलेसन स्थापना गर्ने र एम्बुलेन्सको व्यवस्थापन गर्ने निर्णय भए पनि हालसम्म निर्णय कार्यान्वयन नभएको राई बताउँछन्। उनी भन्छन्, “हामीले तत्कालका लागि गाउँपालिका अध्यक्ष चढ्ने गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरौं भन्यौं, तर उहाँहरूले मान्नुभएन।”
सङ्क्रमितको अवस्था बुझ्ने र आवश्यक सहयोग गर्ने कार्यमा खटेका वडाध्यक्ष बस्नेत गाउँपालिकाको बैठकले दुई जना स्टाफ नर्स र एक जना चिकित्सकसहित गाउँमै आइसोलेसन सञ्चालन गर्ने तयारी भइरहेको बताउँछन्। उनी भन्छन्, “बैठकमा एउटा गाडी पनि राख्ने निर्णय गरियो, तर गाडी पाइएन।”
गाउँपालिका अध्यक्ष कुमारजङ्ग याक्खा पहिले प्रशस्त गाडी पाइने र धरान झर्न नजिकै भएकाले एम्बुलेन्सको खासै आवश्यकता महसूस नभएको बताउँछन्। “अहिले यस्तो महामारीमा अति आवश्यक हुँदो रहेछ। गाडीका लागि धनकुटा रेडक्रससँग कुरा भएको छ, अर्को एउटा पिकअप पनि व्यवस्था गर्दै छौं,” उनी भन्छन्।
उनले आफूले प्रयोग गर्ने गाउँपालिकाको गाडी औषधि र सामान ओसारपसार गर्न प्रयोग भइरहेको दाबी गरे। उनी भन्छन्, “हामी गाउँको समस्यामा गम्भीर भएर लागेका छौं। गाउँलेको ज्यान जोगाउन हरसम्भव प्रयासरत छौं।”