सुशासन समितिका सदस्यले भने - बालुवाटार जग्गा प्रकरणबारे सरकारले स्पष्ट पार्नुपर्छ
राष्ट्रिय सभाकाे दिगो विकास तथा सुशासन समितिका सदस्यहरुले बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग गरेका छन् ।
समितिको बैठकमा सदस्यहरुले ती प्रकरणमा जोकोही मुछिए पनि पारदर्शी ढङ्गबाट छानबीन गरेर दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् ।
समितिका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले ती दुई घटनाका बारेमा सत्यतथ्य खोजी गरी जनताले देख्ने गरेर कारवाही गर्नुपर्ने बताए ।
“हामी समितिका सदस्यहरुले पनि कसैलाई जोगाउन भूमिका खेल्नुहुँदैन ”, उनले भने ।
समितिका सदस्य सरिता प्रसाईँले जग्गा अतिक्रममा संलग्न नेता र कर्मचारी कसैलाई पनि छाड्न नहुने बताए ।
अर्का सदस्य विमला पौडेलले समितिको निर्णय कार्यान्वयन भए नभएको सचिवालयले हेर्नुपर्ने बताइन् ।
“हामीले गरेको निर्णय कागजमा मात्रै सीमित हुनुहुँदैन ”, उनले भनिन् ।