१६ वर्षीय सोनाम सगरमाथाको चुचुरोमा
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन्।
उनले आज बिहान ८ः५० बजे बुवा पूर्णकुमार शेर्पासँगै सगरमाथाको सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिसन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले हिमालखबरलाई बताए। हिमालयनले नै उनको आरोहणको व्यवस्थापन गरेको थियो।
सोनाम आवश्यक तयारीका लागि एक महीनाअघि नै सगरमाथा आधारशिविर पुगेका थिए। उनका बुवा पूर्णकुमार २४ वैशाखमा अनुमतिपत्र लिएर आरोहणमा गएका थिए।
प्रबन्धक पाैडेललका अनुसार, माैसममा आएको खराबीले केही दिन उनीहरू आधारशिविरमै बसेका थिए। मौसम खुलेसँगै अघि बढेका बाबुछोरा आज सगरमाथाकाे चुचुराेमा पुगेकाे उनले बताए। १५ फागुन २०६१ मा जन्मिएका सोनामले गत २६ चैतमा मात्रै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए।
पर्यटन विभागले पनि उनीहरूले आरोहण गरेको सूचना आएको जनाएको छ। “पूर्णकुमार शेर्पा र उहाँका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यसमाथिबाट हामीलाई सूचना आएको छ,” पर्वतारोहण महाशाखाकी निर्देशक मीरा आचार्यले भनिन्।
यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुनसक्ने आचार्यको भनाइ छ। अहिले नै यसै हो भनेर भन्न नसकिने उनको भनाइ छ। “१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उहाँ १६ वर्ष पूरा भएर आउनुभएको थियो, पूर्ण रूपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सकिन्छ,” आचार्यले भनिन्।