पाँच लाख नाघे संक्रमित, चार सातामै थपिए दुई लाख
कोभिड-१९ संक्रमितको संख्या पाँच लाख नाघेको छ। पछिल्लो चार सातामै दुई लाख नयाँ संक्रमित थपिएका छन् भने शुरूआती दुई लाख संक्रमित पुग्न झन्डै ३७ साता लागेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार बिहानसम्म कोरोनाभाइरस संक्रमितको संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको छ। जसमध्ये ६ हजार १५३ जनाको ज्यान गएको छ।
नेपालमा पहिलो संक्रमित ९ माघ, २०७६ मा एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता ५० हजार संक्रमित पुग्न सात महीना अर्थात् २८ साता लागेको थियो। २५ भदौ २०७७ मा ५० हजार ४६५ संक्रमित पुगेका थिए। त्यसपछि ५० हजार थपिन एक महीना लागेको थियो। २४ असोज, २०७७ मा एक लाख ६७६ संक्रमित पुगेका थिए।
कोरोनाको पहिलो लहरमा एक लाखबाट दुई लाख संक्रमित पुग्न एक महीना लागेको थियो। २५ भदौबाट २६ कात्तिक पुग्दा दुई लाख संक्रमित नाघेका थिए। त्यो पहिलो लहरको उच्च बिन्दु थियो।
त्यसपछि संक्रमण नियन्त्रणमा आएको थियो। पहिलो लहरदेखि दोस्रो लहरको शुरूआत हुन ६ महीना लागेको थियो। दुई लाखबाट संक्रमितको संख्या तीन लाख पुग्न पनि ६ महीना लागेको थियो। १३ वैशाख २०७८ मा तीन लाख ११९ जनामा संक्रमण पुष्टि भएको थियो।
दोस्रो लहर चलेसँगै संक्रमितको संख्या पनि दिनदिनै अत्यधिक बढ्दै गएको छ। पहिलो लहरमा एक सातामा थपिएका संक्रमित जति अहिले एक दिनमै थपिइरहेका छन्।
तीन लाखबाट संक्रमितको संख्या चार लाख पुग्न दुई साता मात्रै लागेको छ। १३ वैशाखमा तीन लाख ११९ संक्रमित थिए भने २७ वैशाखमा चार लाख तीन हजार ७९४ पुगेका थिए।
पछिल्लो एक लाख संक्रमित १२ दिनमै थपिएका छन्। २७ वैशाखमा चार लाख तीन हजार ७९४ संक्रमित थिए भने ८ जेठमा पाँच लाख पाँच हजार ६४३ पुगेका छन्।
कोरोना संक्रमणबाट अहिलेसम्म ६ हजार १५३ जनाको ज्यान गइसकेको छ। अहिले एक हजार ७३२ जना आईसीयूमा र ५२३ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यस्तै, सात हजार ७०३ जना अस्पतालमा उपचाररत छन्।
अहिले पनि एक लाख आठ हजार १०३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये तीन लाख ८३ हजार ६८४ जना निको भइसकेका छन्।