के नेपालले बेलायतबाट २० लाख डोज थप खोप पाउन लागेको हो?
शनिबार बेलायतले २० लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप दिन लागेका खबरहरू सार्वजनिक भए।
बेलायतको संसद्को उपल्लो सदन हाउस अफ लर्ड्समा महामारीविरुद्ध नेपाललाई प्रदान गरिने खोपको बारेमा भएको छलफलमा खोप दिने विषय निर्क्योल भएको जानकारी गराइएको थियो।
तर, बेलायतले सोझै नेपाललाई खोप उपलब्ध गराउन लागेको भने होइन। कोभ्यासमार्फत यस्तो सुविधा प्रदान गर्न लागेको हो।
कोभ्याक्स विश्व स्वास्थ्य संगठन, यूरोपेली युनियन र फ्रान्सको नेतृत्वमा शुरू गरिएको तथा विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय संस्था, खोप उत्पादक कम्पनीहरूको संलग्नता रहेको विश्वकै ठूलो खोप खरीद एवं आपूर्ति अभियान हो। जसले संसारका न्यून आय भएका मुलुकसहित जोखिममा रहेका समूहलाई खोपको पहुँच उपलब्ध गराउने योजना बनाएको छ। सन् २०२१ को अन्त्यसम्ममा संसारभरि २ अर्ब डोज खोप उपलब्ध गराउने यो अभियानको योजना छ।
कोभ्यासले नेपाललाई यसअघि नै सहयोग गर्ने देशको सूचीमा राखिसकेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हिमालखबरसँगको अन्तर्वार्तामा कोभ्यास सुविधा अन्तर्गत १ करोड ४८ लाख डोज खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले प्रतिबद्धता जनाइसकेको बताएका थिए। यसमध्ये नेपालले ३ लाख ४८ हजार डोज खोप यसअघि नै पाइसकेको छ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले पनि शनिबार साँझ ट्वीटमार्फत यसलाई प्रष्ट्याउँदै लेखेकी छन्, ‘बेलायत कोभ्यास खोप सुविधाका लागि ठूलो दाता देश हो (५४ करोड ८० लाख पाउण्ड)। खोप अनुदानका बारेमा मिडिया रिपोर्टिङका बारेमा प्रष्टीकरण–बेलायतको सहयोग कोभ्याक्स मार्फत हो। हामी अन्य विकास साझेदारसँग मिलेर नेपाललाई अझ थप कोभ्यास खोप उपलब्ध गराउन कठिनपूर्वक काम गरिरहेका छौं।”
यसको अर्थ, नेपालले बेलायतबाट नयाँ खोप पाउन लागेको होइन, यसअघि नै कोभ्यास सुविधा मार्फत घोषित खोप अन्तर्गतकै हो। बरु भविष्यमा नेपालले कोभ्यास सुविधा अन्तर्गत थप खोप भने पाउनसक्छ। तर, तत्कालै कोभ्यास सुविधाको खोप आइहाल्ने निश्चितता भने छैन। यो वर्ष युरोप र अन्य देशहरुले यस्तो सुविधामा बढी प्राथमिकता पाउनसक्छन्। त्यसैले नेपाल जस्ता देशले घोषित सहयोग पाउन आगामी वर्ष कुर्नुपर्ने हुनसक्छ।
बेलायतले नेपाललाई यसअघि नै कोभ्याक्स सुविधा मार्फत खोप उपलब्ध गराउने आश्वासन दिँदै आएको थियो। ६ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजदूत पोलिटसँग भेटवार्ता गरी खोप उपलब्ध गराउन आग्रह गरेका थिए।
यसअघि नेपालले अमेरिकी कम्पनीद्वय जोन्सन एन्ड जोन्सन र मोडर्नासँग पनि खोप खरीदका लागि पहल गरे पनि दुवै कम्पनीले कोभ्याक्स सुविधा मार्फत मात्रै खोप बिक्री गर्ने जानकारी दिँदै नेपाललाई यही सुविधाको उपयोग गर्न सुझाव दिएका थिए।