के हो कोभिडविरुद्ध प्रभावकारी ‘नर्म मोडल’ ?
अन्य दक्षिण एसियाली छिमेकी देशमा झैं, नेपालमा पनि निर्णायक नेतृत्व र राजनीतिक इच्छाशक्तिमा ‘नर्म मोडल’को शीघ्र कार्यान्वयन सम्भव छ। यसका लागि कुनै पनि किसिमको प्राविधिक सहायता चाहिएमा हाम्रो अन्तर्राष्ट्रिय अनुसन्धाता टोली सधैं तयार रहनेछ।
नेपालीहरूले कोभिड–१९ को कुरूप अवस्थाबाट आफूलाई बचाउन सक्छन्। यसरी:
घातक कोभिड–१९ महामारीले भारतलाई सर्लक्कै ढाकेका बेला त्यसको ठूलो प्रभाव छिमेकी नेपालमा देखिएको छ। यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ।
भारतको अवस्थाले के देखाउँछ भने कमजोर स्वास्थ्य प्रणाली चाँडै निरीह बनेर त्यसले धेरैलाई अनावश्यक पीडा दिन्छ (जस्तै, अक्सिजनका लागि भइरहेको गुहार, आईसीयू बेड र औषधिको अभाव)।
यी खतरासँग जुध्न नेपालले तलका तीन–अंकुशे तरिका यथाशीघ्र अवलम्बन गर्नुपर्छ:
१. भाइरसको तीव्र फैलावट रोक्न स्वास्थ्य पूर्वाधारको अधिक अभाव रहेका विशेषतः नेपालका ग्रामीण क्षेत्रका मानिसलाई निरन्तर मास्क लगाउन प्रेरित गर्ने।
२. कुनै पनि स्थानीय तहमा हुने संक्रमण वृद्धिका विरुद्धमा लड्न हेल्थकेयर रेस्पोन्स तम्तयार गर्ने।
३. खोप आगमनको आशा राखेर त्यसको वितरणका लागि द्रुत सेवाको तयारी गर्ने।
यी तीन तरिका कार्यान्वयनका लागि उदाहरण नै दिन मिल्ने गरी थुप्रै प्रभावकारी रणनीतिहरू बनेका छन्, जुन अन्य दक्षिण एसियाली छिमेकी देशहरूले अवलम्बन गरिरहेका छन्।
मास्क लगाउने सन्दर्भमा अमेरिकाका येल र स्टान्डफोर्ड विश्वविद्यालयका अनुसन्धाताले इन्नोभेसन फर पोभर्टी एक्सन र ग्रीन भोइस नामक गैरनाफामूलक संस्थासँग मिलेर बृहत् आकारको (३,५०,००० वयस्क समावेश) अध्ययन गरेका थिए। त्यसमा मास्क लगाउने चलनमा परिवर्तन ल्याउनसक्ने सकारात्मक रणनीतिहरूको पहिचान गर्न खोजिएको थियो।
कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिता (इफिकेसी) परीक्षणका लागि अपनाइएको र्यान्डमाइज्ड कन्ट्रोल ट्रायल (आरसीटी) विधिबाटै मास्क सम्बन्धी उक्त अनुसन्धान सञ्चालन गरिएको थियो। यसबाट निर्मित रणनीतिहरूलाई एकमुष्ट कार्यान्वयन गर्दा बाङ्लादेशमा मास्क लगाउनेको संख्या तेब्बर भएको थियो। अनुसन्धानको १० हप्ताभन्दा पछि पनि मान्छेहरूले मास्क छोडेका थिएनन्।
निम्न चार रणनीतिलाई अङ्ग्रेजीमा एनओआरएम (नर्म) मोडल भनिएको छ:
एन– नो–कस्ट मास्क डिस्ट्रिब्युटेड एट स्केल (ठूलो संख्यामा निःशुल्क मास्क वितरण)
ओ– अफरिङ इन्फर्मेसन अन मास्क–वेरिङ (मास्क किन लगाउने भन्नेबारे जानकारी दिने)
आर– रिइन्फोर्समेन्ट इन पब्लिक प्लेसेस बाई इन्टरसेप्टिङ नन–मास्क वेररर्स (मास्क नलगाउनेलाई सार्वजनिक स्थलमै रोकेर सम्झाई–बुझाई गर्ने)
एम– मोडलिङ एन्ड इन्डोर्समेन्ट बाई ट्रस्टेड लिडर्स (विश्वसनीय नेतृत्वले मास्क लगाएर उपस्थित हुने वा मास्कको प्रचार गर्ने)
अध्येताहरूले दर्जनौं अन्य रणनीतिहरूमा पनि परीक्षण गरेका थिए। जस्तै– मौखिक प्रण गराउने, लिखित सन्देश पठाएर याद दिलाउने, सामाजिक संकेत प्रस्तुत गर्ने, गाउँका स्थानीय प्रहरी मार्फत मास्क–अनिवार्य नीति लागू गराउने र हुँदाहुँदा मास्क लगाउनेलाई गाउँ तहमै आर्थिक इनाम प्रदान गर्दा समेत यी पद्धतिले मास्क लगाउनेको संख्या बढाउन सकेनन्।
त्यस्ता अतिरिक्त प्रयासको सट्टा संक्रमणको जोखिम घटाउने र जीवन बचाउने सन्दर्भमा उही साधारण नर्म मोडल असाध्यै किफायती ठहरियो। तर, यो रणनीति नै किन सफल भयो त? यसको सजिलो जवाफ छ। घरदैलोमै पुगेर मास्क वितरण गर्दा समाजका सबैलाई आफूहरू सबैकहाँ मास्क पुगेको छ भन्ने ज्ञान भयो र आफूले मास्क नलगाउँदा समग्र समाजमै स्वास्थ्य संकट आइपर्छ भन्नेबारे उनीहरू सचेत भए।
कुनै अपरिचितले आफूलाई सार्वजनिक स्थलमा वा व्यक्तिगत रूपमै सम्झाई–बुझाई गर्दा मान्छेलाई संकोच महसूस हुनसक्छ र उसले त्यस्तो अप्ठ्यारो परिस्थिति टार्न मास्क लगाएर हिँड्न थाल्छ। समाजका अगुवाले मास्कको प्रचार गर्दा योे रणनीति अझै बढी सान्दर्भिक र विश्वसनीय बन्छ।
अनुसन्धान कार्यमा संलग्न स्टान्डफोर्ड विश्वविद्यालयका इन्जिनियरहरूले दक्षिण एसियामा सजिलै र सुपथ रूपमा वितरण गर्न सकिने, उच्च गुणस्तरको, पुनःप्रयोग वा धोएर लगाउन मिल्ने मास्क उत्पादन गरेका थिए। अनुसन्धान टोलीले यो रणनीतिको कार्यान्वयन सहज र छिटो होस् भनी सरकारहरूका लागि एकपछि अर्को प्रक्रियाको विस्तारमा व्याख्या समेत गरिदिएका थिए।
उक्त अध्ययनका नतिजा यति दमदार थिए कि भारत, पाकिस्तान र बाङ्लादेशका राज्य सरकार र विभिन्न समूहले नर्म मोडलको कार्यान्वयनका लागि पहल थालिहाले।
भारतका कतिपय प्रमुख अखबारहरूले ‘बाङ्लादेशमा गरिएको मास्क अनुसन्धानबाट भारतले सिकेको पाठ’ शीर्षकमा समाचार छापेका छन्।
भारतमा स्वरोजगार महिलाको संगठन (सेवा)ले ३० लाखदेखि ५० लाख मास्क वितरण गरिरहेको छ र गुजरातमा १० लाख मानिसमा नर्म मोडल कार्यान्वयनको चरणमा छ।
बाङ्लादेशको ढाका नर्थका मेयरले पनि मोडल कार्यान्वयनका लागि ४८ घण्टाभित्रै विभिन्न साझेदार संस्थाहरूलाई ईदका लागि भीडभाड हुने सपिङ मल र यातायात स्टेशनहरूमा परिचालन गराएका थिए।
लाहोरका प्रमुख आयुक्त र पाकिस्तानको खाबर–पख्तुन्ख्वा प्रदेशका स्वास्थ्यमन्त्रीले रमादानपछि कर्मचारी र स्रोत परिचालन गर्ने तयारी गरेका थिए। विश्वकै ठूलो गैरसरकारी संस्था बीआरएसी (बिल्डिङ रिसोर्सेज एक्रस कम्युनिटिज) ले नर्म मोडलमा आधारित मास्क नीति बाङ्लादेशमा ७ करोड ७० लाख मानिससम्म पुर्याउनुका साथै अन्य आवश्यक स्वास्थ्य सेवा र खोप वितरणका नीति तयार गरिरहेको छ।
स्थानीय तहमा मास्क वितरण, प्रवर्द्धन र कार्यान्वयनको यो मोडल कोभिडविरुद्धको प्रभावकारी पहलका लागि अन्य आवश्यक सामग्रीको किफायती ढुवानीमा सहायक बन्नसक्छ। त्यस्ता पहलमा कोभिड संक्रमितलाई थप परिष्कृत उपचार सेवा प्रदान गर्नका लागि सामुदायिक स्वास्थ्यकर्मीको सशक्तिकरण गर्ने, खोपप्रतिको द्विविधा निराकरणका लागि कार्यक्रम गर्ने र खोप लगाउन अनलाइन दर्ताको सुविधामा सहजीकरण गर्नुपर्ने हुनसक्छ।
नेपाल र अन्य न्यून तथा मध्यम–आय भएका देशमा खोपप्रतिको हिचकिचाहटका विविध प्रकृतिबारे सूक्ष्म रूपमा बुझ्न र खोप अभियानको रूपरेखाबारे अवगत गराउन हामीले बृहत् आकारको तथ्यांक संकलन गरेका छौं।
दुवै भारत र बाङ्लादेशमा क्रमशः सेवा र बीआरएसीले अस्पतालको चाप कम गर्न कोभिड केयर सेन्टर स्थापनाका साथै मास्क ढुवानीबाट राम्रो फाइदा हासिल गरिरहेका छन्।
प्रभावकारी र अप्रभावकारी (गलत) उपचार विधिबीचको भेद छुट्याउन स्वास्थ्य विज्ञता र क्लिनिकल अनुभव आवश्यक पर्छ। तसर्थ, कोभिडको प्रभावकारी उपचारमा सहयोगी होस् भनेर सामुदायिक स्वास्थ्यकर्मीका लागि ट्रेनिङ म्यानुअल (तालिमको विवरण पुस्तिका) बनाउन हामीले हार्वर्ड मेडिकल स्कूलका प्राध्यापकले शुरू गरेको स्वास्थ्य अलायन्स संस्थासँगको साझेदारी गरेका छौं।
नेपाल र अन्य न्यून तथा मध्यम आय भएका देशमा खोपप्रतिको हिचकिचाहटका विविध प्रकृतिबारे सूक्ष्म रूपमा बुझ्न र खोप अभियानको रूपरेखाबारे अवगत गराउन हामीले बृहत्–आकारको तथ्यांक संकलन गरेका छौं।
अन्य दक्षिण एसियाली छिमेकी देशमा झैं, नेपालमा पनि निर्णायक नेतृत्व र राजनीतिक इच्छाशक्तिमा नर्म मोडलको शीघ्र कार्यान्वयन सम्भव छ। यसलाई लागू गर्न, यसका तौरतरिका व्यवहारमा उतार्न, नतिजा निरीक्षण वा आवश्यक सुधारका लागि कुनै पनि किसिमको प्राविधिक सहायता चाहिएमा हाम्रो अन्तर्राष्ट्रिय अनुसन्धाता टोली सधैं तयार रहनेछ, जुन हामीले भारत, पाकिस्तान र बाङ्लादेशका हाम्रा साझेदारसँग पनि गरेका थियौं।
हाम्रो समूहले कुनै पनि आर्थिक वा अध्ययन बापतको इनाम खोजिरहेको छैन। हालसम्मका प्रमाणले कोभिड संक्रमणको फैलावट रोक्न र जीवन बचाउन यो मोडल किफायती छ भन्ने देखाइरहेका छन्। तसर्थ, यसको कार्यान्वयनका लागि नेपाल सरकार र अन्य स्थानीय गैरसरकारी निकायलाई सहयोग गर्न हामी इच्छुक छौं।
(मुस्फिक मोबारक येल विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् भने निला सल्दनाले पेन्सल्भेनिया विश्वविद्यालयको वार्टन स्कूलबाट मार्केटिङमा विद्यावारिधि गरेकी छन्।)