स्वीट्जरल्यान्डले पठायो विशेष विमानमा स्वास्थ्य सामग्री (तस्वीरहरू)
कोभिड-१९ सँग जुध्न स्वीट्जरल्यान्डले विशेष कार्गो विमानमा पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ।
आज बिहान नेपालका लागि स्वीस राजदूत एजिलावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छिन्। स्वीट्जरल्यान्डले कोरोनासँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
स्वीट्जरल्यान्डले पठाएको स्वास्थ्य सामग्री ८० लाख अमेरिकी डलर अर्थात झन्डै रू.९४ करोड बराबरको छ। जसमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन टेस्ट किट, एक लाख १० एनएच-९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई रहेका छन्।
यी सामग्रीले महामारीसँग लड्न थप सहयोग पुग्ने राजदूत क्यापेलरले बताइन्। उनले भनिन्, “स्वीट्जरल्यान्ड कोभिड-१९ महामारी विरुद्धको लडाइँमा नेपाल र नेपालीहरूसँग ऐक्यबद्धतामा उभिन्छ। यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसको ज्यान बचाउँछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई थप सघाउ पुर्याउनेछ।”
यसअघि पनि स्वीट्जरल्यान्डले कोभिड–१९ सँग लड्न स्वास्थ्य सामग्री सहयोग गरेको थियो।