यस्तो छ प्रधानमन्त्रीले लिने शपथको नयाँ ढाँचा
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको शपथ सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ।
नयाँ अध्यादेशमा सार्वजनिक पद धारण गरेको पदाधिकारीले कार्यभार सम्हाल्नुअघि शपथ लिनुपर्ने व्यवस्था गरेको छ। त्यस्तो शपथ सम्बन्धित पदाधिकारीले नेपाली भाषामा लिनुपर्ने व्यवस्था अध्यादेशमा छ। तर, आफ्नो मातृभाषामा शपथ लिन चाहने पदाधिकारीलाई पनि अध्यादेशले रोक लगाएको छैन। शपथलाई अनुवाद गरेर आफैंले प्रमाणित गरी मातृभाषामा शपथ लिन सकिने व्यवस्था अध्यादेशमा छ।
नयाँ अध्यादेशले तोकेको शपथको ढाँचा सार्वजनिक पद धारण गरेका सबै पदाधिकारीका लागि हो। तर, अन्य कानूनमा ढाँचा तोकिएका पदाधिकारीले भने सोही बमोजिम नै शपथ लिने व्यवस्था छ। अहिले प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथको ढाँचा मात्र अन्य कानूनमा नतोकिएका कारण यो ढाँचा मुख्यत: उनीहरूकै लागि लागू हुनेछ।
नयाँ अध्यादेशले शपथ गर्दा सार्वजनिक पदाधिकारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली हटाएको छ। त्यसको सट्टा उनीहरूले ‘ईश्वर वा देश र जनता’का नाममा शपथ लिन्छु भन्नुपर्नेछ। ‘ईश्वर वा देश र जनता’ मध्ये कसको नाममा शपथ लिने हो, शपथ गर्नुपूर्व आफूलाई शपथ गराउने पदाधिकारीलाई त्यसबारे जानकारी दिनुपर्ने व्यवस्था अध्यादेशमा छ।