‘राई’ जाति होइन, पदवी
जसरी राईहरूको आफूलाई जाति मान्ने आत्मनिर्णयको अधिकार छ, त्यसैगरी हामी कुलुङले पनि ‘कुलुङ’ लेख्न, लेखाउन र जातीय स्वपहिचानले चिनिन पाउनुपर्छ।
आजभोलि धेरै मान्छे राई भन्ने बित्तिकै नेपालको एक जाति बुझ्छन्। अहिले ‘राई’ जाति भनेर चिनिएका हामी कुलुङहरू यथार्थमा १६ खम्बुका सन्तान हौं। हामीले, खासगरी भूमिसुधार ऐन २०२१ लागू भएपछि, राई पदवी पाएका तालुकदार वा जिम्मावाल जस्तै ‘ठूलो मान्छे’ भइन्छ भन्ने रहर वा बाध्यताले जाति र थर ‘राई’ लेख्न थालेका हौं।
हाम्रै बीच पनि राई जाति हो–होइन भन्ने विवाद छ। कोही जाति मान्नुपर्छ भन्छन् त कोही मान्दैनौं भन्छन्। यसमा १६ खम्बुका सन्तानमध्ये कुलुङ लगायत १४ थरी किराती संस्थागत रूपमा लागेका छन्। राईलाई जाति मान्नुपर्छ भन्ने पक्षको नेतृत्व राई यायोक्खा नामक गैरसरकारी संस्थाका हर्ताकर्ताले गरेका छन्। केही राई लेखक, बुद्धिजीवी, भाषाविद्, मुन्धुमविद् (कुलुङहरू ‘मुन्धुम’ लाई ‘रीदूम’ भन्छन्), संस्कृतिविद्, विज्ञ, प्राज्ञ, अन्वेषक, इतिहासकार, खोजकर्ता, अनुसन्धानकर्ता पनि यसमा लागेका छन्।
राई जातिवालाले अहिलेसम्म पनि राई जाति वा समुदाय हुने प्रष्ट आधार नदिई बोलेको, लेखेको, वकालत गरेको देखिन्छ। राई जाति होइन भन्नेलाई उनीहरू तिमीहरूको तीनपुस्ते विवरणका साथै नागरिकता, जग्गाधनी प्रमाणपूर्जा, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र, पेन्सनपट्टा, विद्यार्थी परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र आदिमा के छ भन्ने प्रश्न गर्ने गर्छन्।
राई जातिवालाले पहिले राई ‘जाति’ वा ‘पदवी’ के हो भन्नेबारे प्रष्ट हुनु आवश्यक छ। त्यसपछि यही शब्दले चिनियौं र यही शब्दले समूहका रूपमा चिनिन्छौं, जाति वा समुदायका रूपमा होइन भन्नुपर्दछ। किनभने, समूह हुनलाई माथि उल्लेख भए जस्तो जाति वा समुदायका आधार र मापदण्ड चाहिँदैनन्।
तर, खासमा जाति वा समुदाय हुन यस्ता कागजपत्र होइन, अरू जातिको भन्दा छुट्टै पितापुर्खाले चर्चेको ऐतिहासिक भूमि वा उत्पत्तिथलो, पितापुर्खाले खाई–खेली आएको भूमि, मातृभाषा, वंशवृक्ष, परम्परा, वेशभूषा, गरगहना, परम्परागत कानून, चाडपर्व, जीवनशैली, मूल्य–मान्यता, संस्कार, संस्कृति, रीतिथिति, चालचलन, परस्पर बिहेबारी, मौलिक साहित्य, लोककथा, मिथक, गीत–सङ्गीत, बाजागाजा आदि हुनुपर्दछ। नागरिकता, जग्गाधनी पूर्जा, पासपोर्ट आदिले व्यक्ति कुन देशको नागरिक र बासिन्दा हो भन्ने मात्र बुझाउँछन्।
प्रष्ट हुनु जरुरी
राई जातिवालाले पहिले राई ‘जाति’ वा ‘पदवी’ के हो भन्नेबारे प्रष्ट हुनु आवश्यक छ। त्यसपछि यही शब्दले चिनियौं र यही शब्दले समूहका रूपमा चिनिन्छौं, जाति वा समुदायका रूपमा होइन भन्नुपर्दछ। किनभने, समूह हुनलाई माथि उल्लेख भए जस्तो जाति वा समुदायका आधार र मापदण्ड चाहिँदैनन्।
यसमा प्रष्ट हुने सिलसिलामा राई यायोक्खाले राईलाई पदवी नै मान्छौं भनी पत्रकार सम्मेलन गरेर सार्वजनिक जानकारी दिनुपर्नेछ। यो काम हाल स्थगित २०७८ को जनगणनाअघि नै गरिहाल्नु राम्रो हुन्छ। सोही पत्रकार सम्मेलनमा उनीहरूले राई जाति हुन नचाहने हामी कुलुङ लगायत १२ थरी किरातीलाई अबदेखि राई मान्न जोर–जबर्जस्ती र लिँडेढिपी गर्दैनौं भन्ने प्रतिबद्घता पनि जनाउनुपर्ने हुन्छ।
राई जातिवालाले आफूलाई एक जाति, २८ भाषी जस्ता विशिष्टता बोकेको राई भन्ने गरेको पनि सुनिन्छ। यस्तो तर्क गर्नेमा राई यायोक्खालाई मातृसंस्था मान्ने राई प्राज्ञ, पत्रकार, कलाकार, लेखक, बुद्धिजीवी, विद्यार्थी, उद्योगी, कर्मचारी, विभिन्न संघसंस्थाका उच्च पदाधिकारीहरू छन्।
उनीहरूले बडो स्टाइलका साथ चेस्मा नाकको डाँडीमा झुन्ड्याएर, जुल्फी हल्लाएर, हात हल्लाएर, औंला ताकेर, आँखा झिमझिम गर्दै, मुसुक्क हाँस्दै, थेगो मिसाउँदै, अट्टहास गर्दै, अन्टसन्ट बोल्दै, बडो हाउभाउका साथ राई यस्तो र उस्तो भन्दै अन्तर्वार्ता दिएका, लेख लेखेका देखिन्छ। हिमालखबर मा ११ चैत २०७७ मा प्रकाशित पूर्ण पी राईको ‘किन हुँदैछ राईकै पहिचान मेट्ने बहस ?’ शीर्षकको लेख पनि यसकै पछिल्लो उदाहरण हो।
राई जातिवालाले भने जस्तै राई जाति हो र कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा, आठपहरिया आदि थर हुन् भने कसरी एकै थरका कुलुङ–कुलुङबीच, बाहिङ–बाहिङबीच, मेवाहाङ–मेवाहाङबीच, बान्तावा–बान्तावाबीच बिहाबारी चल्छ?
त्यसैले राई जातिवालाहरूले भने जस्तै साँच्चै एक जाति र २८ भाषी विशिष्टता बोकेको राई हो भने म एक जाति राई हुँ, मेरो भाषा २८ वटा छ भनेर २८ वटै भाषामा खररर बोल्न सक्ने कोही भए भेट गराइदिनुपर्यो भन्ने यो पङ्क्तिकारको विशेष आग्रह छ।
कहाँ छ ऐतिहासिक भूमि?
कुलुङ जातिका पितापुर्खाले शुरूमा खाई–खेली आएको/चर्चेको ‘महाकुलुङ’ भन्ने भूमि सोलुखुम्बुको उत्तर–पूर्वी क्षेत्रमा छ। त्यस्तै, आठपहरिया, बाहिङ, मेवाहाङ, बान्तावा र अरूका पनि होलान्। तर, राईका पितापुर्खाले शुरूमा खाई–खेली आएको/चर्चेको ऐतिहासिक भूमि कहाँ हो, कुन हो थाहा हुनेले बताउनुपर्याे, लेख्नुपर्याे।
कुलुङ जाति ‘कुलुङ’ भनेर चिनिनुअघि हाम्रा पुर्खाका २३–२४ पुस्ता छन्। त्यसपछि पनि मुख्य चार वंश वा पुर्खा छन्– छेम्सी, ताम्सी, खप्दूलू (पिल्मो) र राताप्खू (सोत्तो)। अनि मात्रै हामी कुलुङ जातिका रूपमा स्थापित भएका हौं। त्यसपछि पनि हाम्रो जातिभित्र ३८० भन्दा बढी पाछा/उपपाछा (थर/उपथर) छन्। यही भएर कुलुङ–कुलुङबीच बिहाबारी चल्छ। राई जातिवालाले भने जस्तै राई जाति हो र कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा, आठपहरिया आदि थर हुन् भने कसरी एकै थरका कुलुङ–कुलुङबीच, बाहिङ–बाहिङबीच, मेवाहाङ–मेवाहाङबीच, बान्तावा–बान्तावाबीच बिहाबारी चल्छ?
राई भनेको नेपालको कुनै जाति नभएर भौगोलिक एकीकरणपछि शाह एवम् राणा शासकले किरातीहरूको एउटै भूमिलाई टुक्र्याएर स्थानीयस्तरमा तिरो–भरो उठाउने र पञ्चखतबाहेकका मुद्दामामिला मिलाउने अधिकार तथा ठेकीबेठीसहित दिएका पदवी वा पगरी मात्रै हो। ‘राई’ शब्दको व्युत्पत्ति ‘राय’ बाट भएको हो। कर्णाली प्रदेशमा त्यो बेला राजालाई ‘राय’ भनिन्थ्यो।
अझै पनि कसैले राई शब्दले विगतमा जेसुकै जनाए पनि जाति भनेर स्थापित गरायो, त्यसैले अब हामी यो शब्दलाई जाति नै मान्छौं भन्छन् भने त्यसमा हामी कुलुङहरूको आपत्ति हुनेछैन। तर, हामीले पनि आफ्नो स्वपहिचान ‘कुलुङ’ भनेर चिनिन र लेख्न–लेखाउन पाउनुपर्यो।
हुन त नेपालको भौगोलिक एकीकरणपछि राई मात्रै नभएर सुब्बा, मुखिया, देवान, पटवारी, गोवा, चौधराई, थरी, कारबारी, बैदार आदि पदको पनि सिर्जना भएको थियो। तर, यीमध्ये राई, सुब्बा, मुखिया, देवान, चौधराईका केही मान्छेले मात्र आफूले पाएको पदवीलाई जाति मानेका देखिन्छ। यिनमा पनि राईबाहेक अरूले आफूलाई जाति मान्न छाडेर आफ्नो असली जातीय स्वपहिचान लिम्बू, सुनुवार, याक्खा, थारू भनेर चिनाउन थालिसकेका छन्।
अझै पनि कसैले राई शब्दले विगतमा जेसुकै जनाए पनि जाति भनेर स्थापित गरायो, त्यसैले अब हामी यो शब्दलाई जाति नै मान्छौं भन्छन् भने त्यसमा हामी कुलुङहरूको आपत्ति हुनेछैन। तर, हामीले पनि आफ्नो स्वपहिचान ‘कुलुङ’ भनेर चिनिन र लेख्न–लेखाउन पाउनुपर्यो। त्यसैले राई जातिवालाले कुलुङ लगायत अन्य किरातीलाई आफ्नो जाति मान्न दबाब नदिए हुन्थ्यो।
जनगणनामा राई
राईकरणको मारमा परेका १६ खम्बुका सन्तानको चेतना पछाडि फर्किएन भने यसपालिको जनगणनामा राईको सङ्ख्या २०६८ को भन्दा आधै घट्नेछ। २०५८ को जनगणनामा ६ लाख ३५ हजार भएका राई २०६८ मा घटेर ६ लाख २० हजारमा झरेका थिए। त्यसबीच उनीहरूको जनसङ्ख्या १.२ वा १.३ प्रतिशतले मात्रै बढेको भए पनि १० वर्षमा सात लाख नाघेको हुनुपथ्र्याे। तर, यो सत्यतथ्य लुकाएर बसेका छन् राई जातिवालाहरू।
हो, २०६८ को जनगणनामा कुलुङ लगायत १२ किराती जातिको स्पष्ट तथ्याङ्क आयो। तर, त्यसका लागि कूलू गुसखोख, आदिवासी किरात महासंघ लगायत किरातजन्य जातीय संघ–संस्थाका अगुवाले धेरै पापड बेल्नुप¥यो। किनभने, त्यस्तो तथ्याङ्क आउन नदिन राई यायोक्खाले अनेकौं हर्कत गरेको थियो। केन्द्रीय तथ्याङ्क विभागका तत्कालीन महानिर्देशक, जनसंख्या शाखा निर्देशक र अन्य शाखाका निर्देशकहरू यसको जानकार छन्। जनगणनामा कथित सूचीकृत ५९ जातिको मात्रै तथ्याङ्क आउनुपर्ने आशयको समाचार लेख्ने कान्तिपुर का पत्रकार तथा राई यायोक्खाका पूर्वसचिव गणेश राईलाई पनि धेरै कुरा थाहा छ।
वास्तवमा राई जाति होइन भन्ने कुरा नेपालको भौगोलिक एकीकरणपछि वि.सं. १८३१ मा राई पद पाएका र सोही आधारमा भूमिसुधार ऐन लागू भएपछि राई लेख्दै आएका संखुवासभाको पाथीभरा, बाह्रबिसेका वनेम थरका लिम्बूहरू २०६६ मा राई त्यागेर पुनः आफ्नो असली जाति लिम्बूमै फर्किएबाट पनि प्रष्ट हुन्छ। त्यतिबेला योे समाचार नेपालका विभिन्न पत्रपत्रिका, एफएम रेडियो, टिभीमा पनि आएको थियो।
स्मरण रहोस्, राई जाति हो कि पदवी मात्रै भन्नेबारे त्यो बेलाका ठूलो राई अर्थात् ५२ पगरीका राई खलकका छोरा, नातिहरू, जस्तै भोजपुरको दिल्पा–अन्नपूर्ण–नागी क्षेत्रका मुकारुङ, संखुवासभाका पाङमा र धुपुका लोहोरुङ तथा मेवाहाङ खलकको ५२ पगरीका राईका जेठा छोराहरू धरान, काठमाडौं लगायत अन्यत्रका शहर–बजारमा अझै भेटिन्छन्।
आफ्नो भाषा भन्दै बान्तावा भाषामा संस्थाको नाम ‘यायोक्खा’ राखेका राईहरूले आफूले नाच्ने चण्डी नाचको नाम चाहिँ चाम्लिङ भाषाबाट ‘साकेला’ राखेका छन्। आफूलाई पृथक् जातिको भन्ने राईले यायोक्खा र साकेलाको सट्टा आफ्नै मौलिक भाषाको नाम खोज्नुपर्दैनथ्यो? भोलि बान्तावा र चाम्लिङले आपत्ति जनाए भने उनीहरू के गर्छन्?
अर्को प्रश्न, विगतमा ‘राई’ भएर तिरोभरो उठाएका वा राई पदवी पाएका बस्नेत राई, कार्की राई, पाण्डे राई, कोइराला राई, माझी राई, मगर राई, कुमाल राई, रोकाया राई आदिले पनि आ–आफ्नै संघ खडा गरेर सम्बद्धता माग्न आएमा यायोक्खाले देला कि नदेला, दनुवारलाई फुटाएर ‘देवास राई’ भनी दिए झैं। ‘देवास’ भनेको दनुवारका कुलदेवताको नाम हो।
सबै जातको फूलबारी भन्ने किताबमा डोरबहादुर विष्टले ‘... तिरो उठाउँदा जग्गाको नाप अनुसार नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो। जसले गर्दा थोरै जग्गा हुने राईहरूलाई मर्का पर्थ्याे। त्यसैले किपट प्रथा र राई पगरी वा पदवी खारेज हुँदा धेरैजसो राईहरू नै खुशी भएका थिए ...’ भनी लेखेका छन्। यो प्रसङ्गले पनि राईको पहिचान के हो भन्ने प्रष्ट पारेको छ।
सन् २००७ को आदिवासी दिवस कार्यक्रममा मैले ‘वास्तवमा राई जाति होइन, तर राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीको जातीय अस्तित्व मेटिन आँटेको छ’ भन्दा भोजपुर, बोयाका डा. शिवकुमार राईले ‘भाइ, तपाईंले साह्रै रामो प्रश्न उठाउनुभयो, किनभने भूमिसुधार ऐन आएपछि जग्गा–जमीन रैतीको नाममा सार्नुपर्ने भएकाले मेरा बाबु ठुलो राईले पनि म पो राई यी मेरा रैती÷ढाक्रेहरू कसरी राई भनेका थिए’ भन्ने कुरा गर्नुभएको थियो।
स्मरण रहोस्, राई जाति हो कि पदवी मात्रै भन्नेबारे त्यो बेलाका ठूलो राई अर्थात् ५२ पगरीका राई खलकका छोरा, नातिहरू, जस्तै भोजपुरको दिल्पा–अन्नपूर्ण–नागी क्षेत्रका मुकारुङ, संखुवासभाका पाङमा र धुपुका लोहोरुङ तथा मेवाहाङ खलकको ५२ पगरीका राईका जेठा छोराहरू धरान, काठमाडौं लगायत अन्यत्रका शहर–बजारमा अझै भेटिन्छन्। उनीहरूलाई सोधे पनि थाहा हुन्छ, राई जाति हो कि पदवी भनेर।
अन्त्यमा, राईलाई जाति मान्नेले जाति नै मानौं। त्यस्तै, राई जाति हुन नमान्नेलाई हुनैपर्छ भनी करबल, जोड र जबर्जस्ती पनि नगरौं। राई शब्दले तत्कालीन सामन्ती प्रथालाई प्रतिनिधित्व गरेको प्रष्टै छ, तैपनि त्यही शब्दलाई कसैले जातिका रूपमा स्थापित गर्नुपर्छ, मान्नुपर्छ भन्छ भने त्यो उसको आत्मनिर्णयको अधिकार हो। त्यसमा कुलुङ समुदायबाट कहिल्यै बाधाविरोध भएन र हुने पनि छैन। तर, राई जातिवालाहरूले पनि हामी (कुलुङ) लाई ‘कुलुङ’ लेख्न, लेखाउन र ‘कुलुङ’ जातीय स्वपहिचानले चिनिन बाधा–व्यवधान नगरून्, छेको नहालून्।