१३ अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू स्थापनाका लागि १७ करोड ८७ लाख स्रोत सुनिश्चित
देशभरिका १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) जडानका लागि अर्थ मन्त्रालयले थप रू.१७ करोड ८७ लाख ७० हजारको सहमति दिएको छ।
मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालका लागि रू.२ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि रू.५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि रू.१ करोड ५५ लाख, जिरी अस्पतालका लागि रू.८० लाख, बाजुरा अस्पतालका लागि रू.७५ लाख र बझाङ अस्पतालका लागि रू.१ करोड ५५ लाख स्रोत सुनिश्चित गरेकाे हाे।
यस्तै, डोटी अस्पतालका लागि ८० लाख, अछाम, खोटाङ, ताप्लेजुङ, सूर्यविनायक अस्पताल र सोलुखुम्बु अस्पतालका लागि रू.७५/७५ लाख, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि रू.१ करोड ५५ लाख सुनिश्चित गरिएको छ।
यसअघि अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि रू.२ अर्ब ९५ करोड २० लाखको सहमति दिएको थियो।
त्यस्तै, केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि रू.१ अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति दिएको थियो।
त्यसैगरी मन्त्रालयले विभिन्न जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट निर्माण गर्नका लागि रू.१६ करोड ८० लाखको सहमति दिएको थियो।
यस्तै, विभिन्न अस्पतालमा अक्सिन प्लान्ट स्थापना तथा एचडीयू थप गर्न ८५ करोड ९३ लाख रुपैयाँको सहमति दिएको अर्थ मन्त्रालयले जनाएकाे छ।
कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरूप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको उल्लेख गरेको छ।