बजारमा कौसी खेती, गाउँमा अर्ग्यानिक
कोरोना संक्रमणको दोस्रो लहरसँगै भएको निषेधाज्ञाले म्याग्दीका बासिन्दा कौसी खेती र अर्ग्यानिक उत्पादनमा लागेका छन्।
निषेधाज्ञाले बजार बन्द भएसँगै घरको छत र करेसाबारीमा तरकारी फलाउनेको संख्या बढेको हो। घरको छतमा बोरा, टिन, प्लास्टिक लगायत अन्य भाँडाको प्रयोग गरी तरकारी फलाएको देख्न सकिन्छ।
निषेधाज्ञाले अन्य काममा जान नपाएपछि छतमा साग, मुला, धनियाँ, खुर्सानी लगायत तरकारी फलाएको बेनी, हुलाकचोककी साधनाकुमारी श्रेष्ठले बताइन्।
वीरेन्द्रचोककी सिर्जना भट्टचनले घरमै तरकारी फलाउँदा पैसाको बचत भएको अनुभव साटिन्। उनले भनिन्, “तरकारी बारीमा काम गर्दा कसरत पनि हुन्छ, घरकै तरकारी खाँदा पैसाको बचत समेत भयो।”
निषेधाज्ञासँगै शहरबाट गाउँ फर्किएका पनि कृषिमा रमाउन थालेपछि गाउँघर हरियाली देखिएकोे मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए। उनले भने, “बल्ल कृषिको महत्त्व बुझ्न थालेका छन्, शारीरिक तन्दुरुस्तीसँगै कृषि मानसिक स्फूर्तिको गतिलो माध्यम पनि हो।”
बजार बन्द हुँदा रासायनिक मल र विषादीको प्रयोग गर्ने अवस्था नभएकाले किसानले जैविक मल र बिउको प्रयोग गर्न थालेको बानियाँको बुझाइ छ।