बाँकेका तीन सय नागरिकता खारेज
जिल्ला प्रशासन कार्यालय बाँकेले वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेज गरेकाे छ ।
सर्वोच्च अदालतले कानूनविपरीत वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन अन्तरिम आदेश दिएपछि बाँकेका झण्डै ३०० नागरिकता खारेज गरिएकाे हाे ।
प्रशासन कार्यालयका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरमा वितरण गरिएका नागरिकता खारेज गरिएको हो ।
“२९९ नागरिकता त्यसखालको रहेको अनुमान छ”, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने, “एक हजार ८१८ नागरिकतामध्ये अधिकांश फिर्ता भइसकेको पाइयो ।”
२०५४ सालमा आयोग गठन गरी जिल्लाजिल्लामा टोली खटाएर वितरण गरिएका नागरिकता गैरकानूनी भएको भन्दै सर्वोच्चले २०५८ मा रद्द गर्ने फैसला गरेको थियो ।
त्यतिबेला वितरण भएका नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई अहिले आएर वंशजका आधारमा नागरिकता दिइन लागेको रिट परेको थियो ।
फैसला कार्यान्वयन नभएको भन्दै एक साताअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले नागरिकता वितरणमा रोक लगाउन पुनः आदेश जारी गरेपछि टोलीमार्फत वितरित नागरिकता रद्द गर्न थालेको हो ।
रद्द गरिएका नागरिकताबारे आवश्यक सोधपुछ र प्रमाणका आधारमा पुनः कायम गर्न सकिने प्रजिअ भुजेलले बताए ।