कोरोनाबाट चिप्को आन्दोलनका प्रणेता सुन्दरलाल बहुगुणाको निधन
चिप्को आन्दोलनका प्रणेता सुन्दरलाल बहुगुणाको कोरोना भाइरस संक्रमणले निधन भएको छ।
उपचारको क्रममा शुक्रबार ९४ वर्षे बहुगुणाको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बहुगुणा १० दिनदेखि एम्स ऋषिकेश अस्पतालमा उपचाररत थिए। उनी लामो समयदेखि वातावरण, विशेषगरी वन संरक्षणमा सक्रिय थिए।
बहुगुणाले रूखलाई अँगालो हालेर संरक्षणको सन्देश दिन सन् १९७० मा चिप्को आन्दोलन शुरू गरेका हुन्। उत्तराखण्डबाट शुरू भएको आन्दोलन सन् ७० को दशकमा भारतको हरेक पहाडी क्षेत्रमा फैलिएको थियो। आन्दोलनमा महिलाको उल्लेख्य सहभागिता थियो।
भारत सरकारले बहुगुणालाई पद्मश्री (सन् १९८१) र पद्म विभुषण (२००९) पुरस्कार प्रदान गरेको थियाे।