ओलीको विरोधमा जान सक्दैनौं : महन्थ ठाकुर
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा जान नसक्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको आफ्नो पक्षका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले आफूहरू कांग्रेस–माओवादीको गठबन्धनमा नजाने बताएका हुन्।
“हामी त शुरूदेखि नै तटस्थ बस्दै आएका छौं, अहिलेको पनि अवस्था त्यही छ, ओलीजीको विरोधमा छैनौं,” ठाकुरले भने, “सबै दलसँग मैत्रीपूर्ण सम्बन्ध छ, प्रधानमन्त्री र प्रधानमन्त्रीको सरकारसँग पनि त्यस्तै सम्बन्ध छ।”
तपाईँहरू तटस्थ बस्दा नयाँ सरकार गठन हुन नसक्ने भयो नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा ठाकुरले भने, “मैले ‘होस्टायल न्यूट्रालिटी’को कुरा गरेको होइन, ‘फ्रेन्ड्ली न्यूट्रालिटी’को कुरा गरेको हुँ, बुझे बुझ्नुस् नबुझे नबुझ्नुस्।”