महामारीसँग जुध्न नेपाललाई अमेरिकाको आपत्कालीन सहयोग घोषणा
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएड)ले नेपाललाई कोभिड–१९ को महामारीसँग जुध्न आपत्कालीन सहयोगको घोषणा गरेको छ।
स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक सर्जिकल मास्क, फेसशिल्ड तथा पन्जा बोकेको पहिलो विमान नेपालतर्फ प्रस्थान गरिसकेको यूएसएडले जनाएको छ। यो सहयोग सामग्रीको पहिलो चरण भएको र बाँकी आगामी दिनमा पठाइने यूएसएडको भनाइ छ।
पछिल्लो तीन सातामा यूएसएडले नेपाललाई कोरोना भाइरसको परीक्षण, रोकथाम तथा उपचारका लागि १५ मिलियन डलर (करीब रू.१ अर्ब ७५ करोड) बराबरको सहयोग गरिसकेको जनाएको छ। यूएसएडले नेपालमा अक्सिजन सम्बन्धी उपकरण खरीद तथा मर्मतका लागि पनि सघाएको विज्ञप्ति मार्फत जनाएको छ।
महामारीसँग जुध्न यूएसएडले बितेका १५ महीनामा ५० मिलियन डलर (करीब रू.५ अर्ब ८५ करोड) बराबरको सहयोग गरेको छ। गत नोभेम्बरमा संस्थाले नेपाललाई १०० वटा भेन्टिलेटर उपलब्ध गराएको थियो।