नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिद्वारा आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रतिनिधि सभा सदस्यलाई आह्वान गरेकी छिन्।
राष्ट्रपति भण्डारीले नेपाल संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेकी हुन्।
नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति भण्डारीले ७ जेठ साँझ ५ बजेसम्म आधार पेश गर्न समय दिएकी छिन्। राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ।”
३० वैशाखमा केपी शर्मा ओलीलाई राष्ट्रपति भण्डारीले अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रतिनिधि सभामा विश्वासको मत लिन नसक्ने जनाउँदै प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गरेका थिए। प्रधानमन्त्री ओलीले ‘धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, मिति २०७८/१/२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको’ राष्ट्रपतिलाई गरेको सिफारिशमा जिकिर गरेका छन्।
प्रधानमन्त्री ओलीले ‘मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया आरम्भ हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएको’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता घिमिरेले जनाएका छन्।