बजार नपाउँदा नेपाली चिनी गोदाममै
पश्चिम नवलपरासीका चिनी उद्योगले उत्पादन गरेको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ ।
नेपाली उद्योगबाट उत्पादित चिनी विदेशबाट आयात भएको चिनीकाे मूल्यमा बेच्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगीको भनाइ छ ।
अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा भएकोले उक्त चिनीको मूल्यमा विक्री गर्न नसकिने इन्दिरा चिनी उद्योगका बिक्री शाखा प्रमुख दुर्गाप्रसाद चतुर्वेदी बताए ।
अहिले इन्दिरा चिनी उद्योगमा करीब २१ हजार क्विन्टल र बाग्मती चिनी उद्योगमा करीब ५२ हजार क्विन्टल चिनी बिक्री नभएर गोदाममा थन्किएको छ । लुम्बिनी चिनी उद्योगमा पनि केही चिनी उत्पादन भएर थन्किएको बताइएको छ ।
अहिले चिनीको बजार मूल्य प्रतिकेजी रु ६८ देखि रु ७० छ तर चिनीको मुल्य प्रतिकेजी भ्याटसहित रु ७८ कायम गरे मात्र नेपाली उद्योगमा उत्पादित चिनीले बजार पाउनसक्ने अवस्था रहने चतुर्वेदीले बताए ।
नेपाललाई चिनीको क्षेत्रमा आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको भएपनि सरकारको उखु उत्पादनसम्बन्धी प्रभावकारी योजना नहुँदा उखु किसान र उद्योग दुवै मर्कामा पर्दै आएको सकेको बागमती चिनी उद्योगका उखु महाप्रबन्धक गोपाल सापकोटाले बताए ।
उद्योगीको चिनी विक्री नभएपछि पश्चिम नवलपरासीमा करीब दश हजार किसानको उखु विक्री नहुने अवस्था आएको छ ।