महामारीमा गाँस काटेर सहयोग पठाउँदै प्रवासी नेपाली
स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन्। कोरोना महामारीमा पनि उनीहरू अक्सिजनसहितका स्वास्थ्य सामग्री पठाउन जुटिरहेका छन्।
१ जेठमा ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं खाडीमा मजदूरी गरिरहेका नेपालीको सहयोग र सहकार्यमा अक्सिजन नेपाल आयो। अक्सिजन सिलिन्डर, कार्गो, रेगुलेटर गरी रू.८४ लाख खर्च भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रवक्ता डीबी क्षेत्री बताउँछन्।
“आफ्नो मातृभूमिमा अक्सिजन अभावले मानिसहरूको मृत्यु हुन थाल्यो भन्ने सुनेपछि खाडीमा मजदूरी गरिरहेका साथीहरू जुर्मुराए,” उनी भन्छन्, “सकेको योगदान गरौं भन्ने लागेर व्यक्तिगत रूपमा पैसा उठाएर अक्सिजन खरीद गरिएको हो।” यो कामले आफूहरूलाई थोरै भए पनि आत्मसन्तुष्टि मिलेको क्षेत्रीको भनाइ छ।
अक्सिजन सिलिन्डरका लागि कतार, बहराइन, ओमान, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत लगायत खाडी मुलुकमा रहेका नेपालीले सहयोग गरेका थिए। क्षेत्री यसमा सहयोग गर्ने सबैजसो मजदूरी गरिरहेकाहरू भएको बताउँछन्। “आफूसँग पुग्दो पैसा भएर नेपालमा सहयोग पठाइएको होइन। गाँस काटेका छन्, कतिले साथीभाइसँग सापटी लिएर सहयोग गरेका छन्,” उनी भन्छन्।
जन्मभूमिमा अक्सिजनको अभाव चुलिएपछि विश्वभर रहेका प्रवासी नेपालीको छाता संगठन एनआरएनएले ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान नै शुरू गरेको छ। अभियानले ३०० थान कन्सन्ट्रेटर पनि खरीद गरेर नेपाल पठाउने प्रक्रिया शुरू गरिसकेको छ। नेपालमा अक्सिजनसहितका स्वास्थ्य सामग्री खरीदका लागि बेलायतमा रू.२ करोड, यूरोपमा करीब रू.३ करोड उठेको छ।
जन्मभूमिमा अक्सिजनको अभाव चुलिएपछि विश्वभर रहेका प्रवासी नेपालीको छाता संगठन एनआरएनएले ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान नै शुरू गरेको छ। अभियानले ३०० थान कन्सन्ट्रेटर पनि खरीद गरेर नेपाल पठाउने प्रक्रिया शुरू गरिसकेको छ।
अक्सिजन खरीदका लागि ओमानमा सञ्चालित अभियानबाट रू.१ करोड ४० लाख उठेको छ। अक्सिजन खरीदपछि बचेको रकम कसरी मुलुकमा पठाउने र कस्तो कार्यमा लगाउने भन्ने छलफल चलिरहेको प्रवक्ता क्षेत्री बताउँछन्।
अमेरिकाका गैरआवासीय नेपालीले जनकपुरमा आइसोलेसन सेन्टर बनाउने तथा बेलायतमा रहेका नेपालीले खोप पठाउन बेलायती सरकारसँग पहल गरिरहेका छन्। गैरआवासीय नेपाली संघ यूरोप तथा अफ्रिकाले १० जिल्लामा अक्सिजन सहयोग गर्ने तयारी गरेका छन्। उनीहरूले चितवन, बारा, पर्सा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कास्की र कैलालीमा अक्सिजन पुर्याउने तयारी गरेका छन्।
कोरोना महामारी मात्रै होइन, आगलागी, बाढीपहिरो वा अन्य कुनै पनि विपद्को समय लगत्तै विदेशमा रहेका नेपालीहरू अघि सर्दै सहयोगी हात बढाइहाल्छन्। सामाजिक तथा संस्थागत क्रियाकलापमा पनि विदेशमा भएका नेपालीले मुठी फुकाउँछन्। राष्ट्रिय आविष्कार केन्द्र होस् वा चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मुख्य दाता विदेशमा रहेका नेपाली नै देखिएका छन्। त्यस्तै, २०७२ सालको भूकम्पपछि करीब रू.२० करोड राहत र रू.५० करोड पुनर्निर्माणमा सहयोग गरिएको एनआरएनएले जनाएको छ।
मुलुकमा रोजगारी नपाएर विदेशी भूमिमा जान बाध्य पारिएका नागरिकलाई यसरी मुलुकमा पर्दा सहयोगी हात अगाडि बढाउन केले उत्प्रेरित गर्छ त? समाजशास्त्री गणेश गुरुङ गरीब मुलुकका नागरिकको मन कोमल हुने र उनीहरूमा आफ्नो मुलुकप्रति निकै चासो हुने बताउँछन्। “राज्य सक्षम भए सरकारले गर्छ भनेर ढुक्क बस्ने अवस्था हुन्थ्यो,” गुरुङ भन्छन्, “राज्य नै कमजोर भएपछि विदेशमा हुनेलाई परिवार, आफन्तको पीरले सताउँछ।” सोही कारण सकीनसकी सहयोग आउने उनको बुझाइ छ।
गुरुङको भनाइप्रति दुबईस्थित ड्र्यागन मार्टमा सुरक्षा गार्डको काम गरिरहेका सल्यानका केशर अधिकारी पनि सहमत छन्। करीब १० वर्ष वैदेशिक रोजगारीमा बिताइसकेका अधिकारीले ओमानबाट पठाइएको अक्सिजनका लागि रू.५ हजार सहयोग गरेका थिए। “आफ्नो खाना, बस्नको ठेगान नहुँदा पनि परिवार, आफन्त र मुलुकको मायाले सताउने रहेछ,” अधिकारी भन्छन्, “हाम्रो मुलुक पनि अरू जस्तै विकसित भइदिए यसरी विदेशमा काम गर्दै सहयोग पठाउनुपर्दैनथ्यो भन्ने लाग्छ।”
सरकारको खातामा पठाउँदा सम्बन्धित ठाउँमा पुग्ने विश्वास नभएकैले व्यक्तिगत रूपमा सहयोग गर्ने गरेको उनको बुझाइ छ।
आफ्नो सोच्दैन सरकार
अधिकारी जस्ता लाखौं नेपाली मुलुकमा रोजगारी नपाएर विदेश भासिएका हुन्। तर पनि, हरेक मिनेट पसिना बगाएर कमाएको पैसाको केही हिस्सा उनीहरूले मुलुक पठाउँदै आएका छन्। जब कि सरकारले उनीहरूलाई गर्ने व्यवहार ठीक उल्टो छ। अहिलेको संकटको शुरूआतमै खाडीका नेपाली जुर्मुराए, तर उनीहरूलाई नै ठीक एक वर्षअघि महामारीका कारण अलपत्र पर्दा उद्धार गर्न सरकार उदासीन रह्यो।
हरेक मिनेट पसिना बगाएर कमाएको पैसाको केही हिस्सा उनीहरूले मुलुक पठाउँदै आएका छन्। जब कि सरकारले उनीहरूलाई गर्ने व्यवहार ठीक उल्टो छ। अहिलेको संकटको शुरुआतमै खाडीका नेपाली जुर्मुराए, तर उनीहरूलाई नै ठीक एक वर्षअघि महामारीका कारण अलपत्र पर्दा उद्धार गर्न सरकार उदासीन रह्यो।
कोरोनाको पहिलो लहरमा गत वर्ष भीसा सकिएका, रोजगारी गुमाएका, काम गर्ने सम्झौता अवधि सकिएका आफ्ना नागरिकलाई राज्यले महीनौं अलपत्र पार्यो। सयौं नेपाली खाडी मुलुकको विमानस्थल र होल्डिङ सेन्टरमा बस्न बाध्य भए। ११ चैत २०७६ मा बन्दाबन्दी भए पनि सरकारले जेठ महीनापछि मात्रै ‘उद्धार’ शुरू गर्यो। ‘उद्धार’ नाम दिएर नियमितभन्दा चार गुणा बढी हवाई भाडा उठायो।
खाडीका आफ्ना युवा मात्रै होइन, भारतका विभिन्न ठाउँबाट हिँडेरै आफ्नो मुलुकको सीमासम्म आएका नागरिकलाई समेत सरकारले सहज प्रवेश दिएन। परिणाम, हजारौं नागरिकले सीमापारिबाट टुलुटुलु आफ्नो माटोलाई हेर्दै दशगजामा कैयौं रात काटे। कोरोनाको दोस्रो लहरमा त्यो अवस्था देखिएको त छैन। तर, पराई मुलुकमा काम गरिरहेकालाई सहज पक्कै छैन।
दिनभरि उभिएर काम गरेका अधिकारीले बुधबार बेलुका थकित अनुहारमा सुनाए, “आफ्नो देश हो। आफन्त त्यहीँ छन्, माया लाग्छ त्यसैले सहयोग पठाउँछौं। सरकारले त हामी मरेपछि लाश समेत महीनौं लगाएर घर पुर्याउँछ। कसैको त त्यति पनि गरिदिँदैन।”
समाजशास्त्री गुरुङ विदेशमा हुनेलाई मुलुकप्रति अपनत्व बढी हुने बताउँछन्। “सरकारको गलत क्रियाकलापले आक्रोशित भए पनि राज्यलाई पर्दा अगाडि सर्ने कारण यही हो,” उनी भन्छन्, “आफ्नो माटोको न्यास्रो मेट्न पनि उनीहरूले अन्य कुरा बिर्सिएर सहयोग गर्छन्।” धनीभन्दा निम्न मध्यम र मध्यम वर्गका नेपालीको रगतमै सहयोगी भावना रहेको पनि गुरुङको भनाइ छ।