‘लुम्बिनीमा प्रदेश सरकारको भूमिका चाहियो’
२०७६ साललाई लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको प्रदेश–५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी भन्छन्, “नेपाल भ्रमण वर्षलाई सघाउन लुम्बिनी भ्रमण वर्ष मनाउन लागेका हौं।”
लुम्बिनी भ्रमण वर्ष केका लागि ?
संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष– २०२० लाई सफल बनाउन प्रदेश–५ ले अहिले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको हो । बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देवदह, कुदान, रामग्राम, सैनामैना जस्ता ऐतिहासिक र पुरातात्विक महत्वका पर्यटकीय स्थानहरूको प्रचारप्रसार र सम्वद्र्धन गरिरहँदा समग्र पर्यटन क्षेत्रमा समेत सहयोग पुग्ने अपेक्षा राखेका छौं ।
त्यसोभए लुम्बिनी र वरपरको क्षेत्र केन्द्रित कार्यक्रम हुँदैछ ?
त्यति मात्र होइन, हाम्रो लक्ष्य प्रदेश–५ का सबै पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नु हो । यहाँ रहेका तालतलैया र अन्य पर्यटकीय स्थलहरूलाई बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडेर पर्यापर्यटनको विकासमा पनि जोड दिइने छ ।
भ्रमण वर्षका कार्यक्रम के के छन् ?
आगामी ४ जेठ, बुद्धपूर्णिमाका दिन राष्ट्रपतिबाट लुम्बिनी भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम छ । बुद्ध जन्मोत्सवको अवसरमा लुम्बिनीदेखि तिलौराकोटसम्म भव्य ¥यालीको आयोजना गरिनेछ । त्यस्तै प्रत्येक महीना फरक फरक ठाउँमा एउटा उत्सवको आयोजनासँगै पर्यटन प्रवद्र्धन र विकासका विभिन्न कार्यक्रमहरू पनि गरिनेछन् ।
लुम्बिनीसम्म पुग्ने पूर्वाधार नै राम्रो नभएको बेला भ्रमण वर्ष कति फलदायी होला ?
हाम्रो मुलुकको विडम्बना नै हो, यो । शुरु गरेका कामहरू समयमै सम्पन्न हुँदैनन् । राष्ट्रिय रुपमा अघि सारिएका योजनालाई प्रदेश सरकारले सम्पन्न गर्न सक्दैन । तर पनि पूर्वाधार बनेपछि मात्रै भ्रमण वर्ष मनाउँला भनेर पर्खने अवस्था छैन ।
लुम्बिनी विकास कोषमै अनियमितताका समाचारहरू आइरहेका छन् नि !
यो प्रदेश सरकारको अधिकार क्षेत्रमा पर्ने विषय होइन । सामान्य नागरिकले जस्तै हामीले पनि जानकारीसम्म राख्ने हो । बरु लुम्बिनी विकास कोषमा प्रदेश र स्थानीय सरकारको पनि भूमिका चाहियो भनिरहेका छौं ।