तिब्बतले पठायो ३० हजार लिटर लिक्विड अक्सिजन
चीनको तिब्बत सरकारले कोभिड-१९ सँग जुध्न ३० हजार लिटर लिक्विड अक्सिजन नेपाल पठाएको छ।
बिहीबार बिहान लिक्विड अक्सिजनसहित अन्य स्वास्थ्य सामग्री बोकेर सवारी साधन तिब्बतको ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले बताएका छन्। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि ३० हजार लिटर लिक्विड अक्सिजन तिब्बतबाट नेपालका लागि पठाइएको जनाएकी छिन्।
ल्हासास्थित नेपाली महावाणिज्यदूत ढकालका अनुसार, तिब्बत सरकारले २०० वटा आईसीयू बेड, ५ वटा भेन्टिलेटर र १० वटा अक्सिजन कन्सन्ट्रेटर दिने भएको छ। यसका लागि कुराकानी भइरहेको उनले जनाएका छन्।
बिहीबार ल्हासाबाट पठाएका सामान शुक्रबार नेपाल पुग्नेछन्। ल्हासाबाट पठाएका कोभिड–१९ सम्बन्धी सामान बाटोमा नरोकेर नेपाल पुर्याउने गरी तिब्बत सरकारले व्यवस्था गरेको महावाणिज्यदूत ढकालले बताएका छन्। यसका लागि महावाणिज्य दूतावासले कार्गोको निरन्तर ट्र्याकिङ गरिरहेको र तिब्बतका अधिकारीसँग पनि सम्पर्क गरिरहेको जनाएको छ।
त्यस्तै, तिब्बतको एक कम्पनीले पनि ३० वटा कन्सन्ट्रेटर सहयोग गरेको छ। ती सामान भने शुक्रबार ल्हासाबाट नेपाल पठाइने भएको छ।
यससँगै तिब्बतकै ‘गुडविल फाउन्डेसन’ले ५० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्न लागेको महावाणिज्य दूतावासले जनाएको छ। त्यस्तै, ल्हासाले पनि ४ वटा भेन्टिलेटर सहयोग गरेको र तिब्बतका अन्य नगरसँग पनि सहयोगका लागि समन्वय भइरहेको ढकालले जानकारी दिएका छन्।