बदलिँदो विश्व घर्षणमा कस्तो होला भारतको बाटो?
अमेरिकाको क्षयीकरणसँगै चीनले आफूलाई विश्व व्यवस्थामा महाशक्तिको दाबेदारका रूपमा प्रस्तुत गरेको छ। एस. जयशंकर लिखित ‘दी इन्डिया वेः स्ट्राटेजिज फर एन अनसर्टेन वर्ल्ड’ पुस्तक त्यो रणनीतिक खेलमा भारतले आफूलाई कसरी उभ्याउने भन्ने विषयमा केन्द्रित छ।
सन् १९८० मा अन्तर्राष्ट्रिय मामिला विज्ञ पल केनेडीले आफ्नो पुस्तक ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ मा अमेरिकाको क्षयीकरणको भविष्यवाणी गरेका थिए। उनको भनाइमा, सैन्य र आर्थिक हैसियत बढेपछि त्यो राष्ट्रले आफ्नो शक्ति र प्रभाव खोज्छ र अन्ततः त्यसले अधोगतितिर लैजान्छ। नभन्दै सन् १९४५ पछिको विश्व व्यवस्थाबाट उदाएको अमेरिका सन् ९० को दशकबाट एकध्रुवीय विश्व हाँक्न सफल भए पनि अहिले क्षयीकरण उन्मुख छ। ‘वर्ल्ड अर्डर’ मा महाशक्ति राष्ट्रको सोपान शृंखलामा अमेरिकालाई टक्कर दिँदै चीनको उदय भएको छ। भारतको महाशक्ति बन्ने महत्त्वाकांक्षा जागेको छ। टर्की, ब्राजिल र दक्षिण अफ्रिकाले आ–आफ्नो स्पेस खोजेका छन्।
केही समययता विश्व व्यवस्थामै कम्पन आउन थालेको छ। चीनको उदय आजको ध्रुवसत्य हो। अमेरिकाको क्षय डोनाल्ड ट्रम्पको कार्यकालदेखि तीव्र बन्यो। विश्व व्यवस्थाको यही हलचलमा भारतलाई केन्द्रमा राखेर भारतीय विदेशमन्त्री एस. जयशंकरले पुस्तक लेखेका छन्, ‘दी इन्डिया वेः स्ट्राटेजिज फर एन अनसर्टेन वर्ल्ड’। पुस्तकमा जयशंकरले विभिन्न मञ्चमा दिएका सम्भाषणहरूलाई लेखका रूपमा समेटिएका छन्। जसमा भारतको समकालीन परराष्ट्र नीतिका द्विविधा, निश्चितता र लक्ष्यलाई विश्लेषण गरिएको छ।
आज अमेरिका चीनलाई घेर्ने रणनीतिमा भारतलाई महत्त्वपूर्ण रणनीतिक साझेदारका रूपमा हेर्छ। पाँच हजार वर्षको सभ्यता, विश्वको दोस्रो ठूलो बजार, ठूलो प्रजातन्त्र, आणविक शक्ति, अध्यात्म र योगको प्रसार, विज्ञान–प्रविधिमा पनि स्थान बनाएकाले भारतको आकर्षण विश्व राजनीतिको बजारमा ठूलो छ। दक्षिण एसियाको शक्ति रहेको भारत आज दक्षिण एसियाबाट पूर्वी एसिया, खाडी क्षेत्रसँगै सबैतिर लम्किन खोजिरहेको छ। भारतको यही कदमलाई जयशंकरले पुस्तकमा व्याख्या गरेका छन्।
भारत चीनको उदयलाई नकार्न सक्दैन, तर के चीनलाई रोक्ने अमेरिकी रणनीतिको सहयोगी बन्नसक्छ? के चीन समकालीन विश्वका लागि खतरा हो? जापान, अस्ट्रेलिया र दक्षिण कोरियाबीचको गठबन्धन ‘क्वाड’को उपादेयता के छ? विश्वका प्रमुख शक्ति राष्ट्रहरूसँगको सम्बन्धबाट भारतले आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्नुपर्ने जयशंकरको निचोड छ। जनसंख्या र भूगोलको हिसाबले यूरोपियन युनियनभन्दा ठूलो भारत, रुस, जापान, अमेरिका चीनसँग व्यवहार गर्न सक्षम हुनुपर्ने उनको तर्क छ।
उसो त विश्लेषकहरूको भनाइमा चीनले सन् २००७/८ को आर्थिक मन्दीको व्यवस्थापन राम्ररी गर्न सकेकाले विश्व व्यवस्थामै ऊ अब्बल देखियो। कोरोनाभाइरसको महामारीलाई चीनले काबुमा राखेर अगाडि बढ्न सकेको देखियो। आज अमेरिका चीनलाई घेर्ने रणनीतिमा भारतलाई महत्त्वपूर्ण रणनीतिक साझेदारका रूपमा हेर्छ। पाँच हजार वर्षको सभ्यता, विश्वको दोस्रो ठूलो बजार, ठूलो प्रजातन्त्र, आणविक शक्ति, अध्यात्म र योगको प्रसार, विज्ञान–प्रविधिमा पनि स्थान बनाएकाले भारतको आकर्षण विश्व राजनीतिको बजारमा ठूलो छ। दक्षिण एसियाको शक्ति रहेको भारत आज दक्षिण एसियाबाट पूर्वी एसिया, खाडी क्षेत्रसँगै सबैतिर लम्किन खोजिरहेको छ। भारतको यही कदमलाई जयशंकरले पुस्तकमा व्याख्या गरेका छन्।
शीतयुद्ध कालताका सन् १९७१ को सन्धि मार्फत भारत तत्कालीन सोभियत संघको गठबन्धनमा थियो। उता चीन भने सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको बेइजिङ भ्रमण पश्चात् सोभियत संघसँग टाढिएको थियो। सोभियत संघको निकट मित्र भारतको शत्रु पाकिस्तानसँग चीनले मित्रताको प्रयास अगाडि बढायो।
१९५१ मा पाकिस्तानसँग कूटनीतिक सम्बन्ध जोडेको चीनले उसलाई आणविक हतियार बनाउन समेत सघायो। विभिन्न आरोह–अवरोह पार गर्दै आज चीन र पाकिस्तानबीचको सम्बन्ध प्रगाढ बनेको छ। पाकिस्तानसँग चीनको रणनीतिक साझेदारी आज पनि भारतका लागि टाउको दुखाइ बनेको छ।
के भारत चीनको विरुद्ध जान सक्छ? के अमेरिका र भारतबीचको रणनीतिक साझेदारी सदाबहार रहन्छ? यी प्रश्नहरूको उत्तर सजिलो छैन। यिनै द्विविधाबीच जयशंकरले भारतका रणनीतिक उपायहरूको खोजी गरेका छन्।
सन् १९९१ मा सोभियत संघको विघटन पश्चात् भारत नयाँ सम्बन्ध र साझेदारीको खोजीमा अमेरिकासँग नजिकियो। अहिले अमेरिकासँग भारतको रणनीतिक साझेदारी भएको छ। रुससँग भारतको आफैं पनि राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै जयशंकरले बदलिएको विश्वमा भारतले चाल्नुपर्ने उपायहरूबारे विश्लेषण गरेका छन्।
पुस्तकको नाम ‘दी इन्डिया वे’ अनुसार अबको विश्वमा भारतको बाटो कस्तो हुनुपर्छ भनेर विश्लेषण गरिएको छ। चीनमा बाटो वा सडकलाई ‘ताओ’ भनिन्छ। पुस्तकमा भारतीय ताओको उत्खनन गर्दैै चीनको उदय यथार्थ भएको जयशंकरले टिप्पणी गरेका छन्।
चीनको महत्त्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा भारत समावेश छैन। तर, शाङ्हाई कोअपरेसन र एसिया इन्फ्रास्ट्रकचर डेभलपमेन्ट ब्यांकसँग भने भारत संलग्न छ। भारत–चीन सीमा विवाद कायमै छ। बेलाबेला सीमाक्षेत्रमा भिडन्त पनि हुने गरेको छ। पछिल्लो समय सीमामा तनाव बढ्दै गएर गत वर्ष दुवै पक्षको सेनाबीच लद्दाखमा हिंसात्मक झडप भएको थियो।
आफूलाई आच्छुआच्छु पार्ने चीन र परम शत्रु पाकिस्तानबीचको ‘सदाबहार मित्रता’ भारतको चुनौती हो। के भारत चीनको विरुद्ध जान सक्छ? के अमेरिका र भारतबीचको रणनीतिक साझेदारी सदाबहार रहन्छ? यी प्रश्नहरूको उत्तर सजिलो छैन। यिनै द्विविधाबीच जयशंकरले भारतका रणनीतिक उपायहरूको खोजी गरेका छन्।
लेखकको विश्लेषणमा जापानसँगको सम्बन्धले भारतलाई बलियो बनाउँछ। यूरोपियन युनियनसँग भारतले सामीप्य राख्न सक्छ। रुससँगको सम्बन्ध रणनीतिक छ। अमेरिकासँगको नयाँ साझेदारीलाई आफ्नो हितमा उपयोग गर्नुपर्ने उनको विचार छ। यिनै उपायहरूको लेखाजोखा गर्दै वर्तमान विश्व अनिश्चित भएकाले आफ्नो स्वार्थको खेल निरन्तर खेलिरहनुपर्ने उनी बताउँछन्।
असंलग्न नीतिभन्दा पनि संलग्नतामा जयशंकरको रुचि हो। अमेरिकाको यथार्थवादी विचारधाराका कूटनीति अभ्यासकर्ता उनी चीनले भारतसँगै काम गर्न सके त्यसले एसियाको मुहार फेर्ने दाबी गर्छन्। तर, विश्व व्यवस्था सम्बन्धमा चीनको आफ्नै अवधारणा छ, जुन अवधारणा आफूलाई विशिष्ट ठान्ने नै हो। भारतको पनि विश्व व्यवस्था सम्बन्धी आफ्नो अवधारणा छ, जसको केन्द्रमा कौटिल्य र महाभारत छ। जसलाई उनले ‘कृष्णाज च्वाइस’ खण्डमा विवेचना गरेका छन्।
अमेरिका चाहन्छ, एकध्रुवीय विश्व, बहुध्रुवीय एसिया होस्। चीन चाहन्छ, बहुध्रुवीय विश्व होस्, तर आफ्नो नेतृत्वको एकध्रुवीय एसिया होस्। भारतको चाहना छ, बहुध्रुवीय विश्व र बहुध्रुवीय एसिया। यही विश्व व्यवस्था सम्बन्धी रणनीतिक द्वन्द्व नै पुस्तकको विषय हो।
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको प्रशासनले चल्तीमा ल्याएको इन्डो–प्यासिफिक रणनीतिका बारेमा चर्चा गर्दै जयशंकर भारत सामुद्रिक शक्ति रहेको उल्लेख गर्छन्। सन् २०१७ को एपेक सम्मेलनमा ट्रम्पले इन्डो–प्यासिफिक शब्दको प्रयोग गरेका थिए। पूर्वी एसिया, जापान र अस्ट्रेलियालाई समेट्ने यो रणनीतिलाई वर्तमान अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले पनि निरन्तरता दिनेछ। यसले भारतलाई सामुद्रिक शक्तिको रूपमा समेटेको छ।
अमेरिकाको चिन्ता चीनको उदयलाई नियन्त्रण गर्नु हो। अमेरिका अहिले पनि प्रशान्त शक्ति हो, तर भारतले यो रणनीतिमा सचेततापूर्वक लाग्नुपर्ने देखिन्छ। भारतको प्रमुख सुरक्षा चिन्ता चीन र पाकिस्तान हुन्। चीनको उदयको समुचित व्यवस्थापनमा जयशंकर चिन्तित छन्। तर, पुस्तक घटनाहरूको सिलसिलेवार विश्लेषणभन्दा पनि नीतिगत वक्तव्य लाग्छ।
आज वाशिङ्टनदेखि दिल्ली र टोक्योसम्म एउटै विषयको चासो र चिन्ता छ, त्यो हो चीनको उदय। सिंगापुरका कूटनीतिज्ञ किशोर माबुवानीले ‘ह्याज चाइना ओन?’ पुस्तक लेखेर कोरोना महामारीको सफल व्यवस्थापनपछि चीनले आफूलाई झन् परिष्कृत र बलियो रूपमा उभ्याएको तर्क गरेका छन्।
अमेरिकाको क्षयीकरणसँगै चीनले आफूलाई विश्व व्यवस्थामा महाशक्तिको दाबेदारका रूपमा प्रस्तुत गरेको छ। त्यो रणनीतिक खेलमा भारतले आफूलाई कसरी उभ्याउने भन्ने विषयमै पुस्तक केन्द्रित छ। जसले भारतको विश्व दृष्टिकोणको परिवर्तनलाई जनाउँछ।
अमेरिका चाहन्छ, एकध्रुवीय विश्व, बहुध्रुवीय एसिया होस्। चीन चाहन्छ, बहुध्रुवीय विश्व होस्, तर आफ्नो नेतृत्वको एकध्रुवीय एसिया होस्। भारतको चाहना छ, बहुध्रुवीय विश्व र बहुध्रुवीय एसिया। यही विश्व व्यवस्था सम्बन्धी रणनीतिक द्वन्द्व नै पुस्तकको विषय हो। एसियालाई सन्तुलन गर्न भारत र जापान काम गर्न सक्छन्। उता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङको उच्चस्तरीय भेटका आ–आफ्ना स्वार्थ छन्। अमेरिका भारतलाई बढाउने हौसला दिइरहेको छ। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवे भारतसँग रणनीतिक साझेदारी गर्न हुरुक्क हुन्थे। शक्ति सरिरहेको संघर्षका बीच भारतको रणनीति केलाउने यो पुस्तक विश्वको सम्भावित हलचलप्रति रुचि राख्ने सबैका लागि उपयोगी छ।
पुस्तकः दी इन्डिया वेः स्ट्राटेजिज फर एन अनसर्टेन वर्ल्ड लेखकः एस. जयशंकर प्रकाशकः हार्पर कोलिन्स इन्डिया पृष्ठः २२६ मूल्यः भारू. ६९९