कोरोना संक्रमणको कुन-कुन चरणमा के-के हुन्छ?
“जुन दिनदेखि लक्षण देखिन थाल्यो, त्यही दिनदेखि आइसोलेसनमा बसेर औषधि खान थाल्नुपर्छ। ज्वरो आएको छ भने पारासिटामोल खाने। खासमा, यसमा सिस्टम्याटिक ट्रिटमेन्ट अर्थात् लक्षण अनुसारको उपचार गरिन्छ।”
कोरोनाभाइरसको संक्रमणबाट ५ जेठ, बुधबार अहिलेसम्मकै बढी २४६ जनाले ज्यान गुमाए। निको हुनेको संख्या पनि बढ्दै गएको देखिन्छ। अहिलेसम्म निको हुनेको संख्या ३ लाख ६० हजार नाघेको छ। कोरोना संक्रमण भइसकेपछि बिरामीलाई के–के हुनसक्छ, कुन चरणमा कस्ता समस्या आउँछन् भन्नेबारे हामीलाई आएका जिज्ञासाको जवाफ यहाँ खोजिएको छ। यसबारे संक्रामक रोग विशेषज्ञ डा. ल्हामू याङ्चेन शेर्पाले जानकारी दिएकी छन्।
कोरोनाभाइरसको संक्रमण भएपछि कुन–कुन चरणमा के–के हुन्छ?
संक्रमण सिम्प्टम्याटिक र असिम्प्टम्याटिक हुन्छन्। यो भनेको कसैलाई लक्षण देखिन्छ भने कसैलाई नदेखिन पनि सक्छ। यस्तो अवस्था पुरानो भेरियन्ट (चीनको वुहानमा देखिएको)मा पनि हुन्थ्यो। त्यो बेला लक्षणबिनाको संक्रमण अलि बढी देखिएको थियो र त्यसको रिप्रोडक्टिभ नम्बर पनि कम थियो। तर, अहिलेका भेरियन्टहरू, 'भेरियन्ट अफ कन्सर्न' भनेर जुन आइरहेका छन्, यी बढी सिम्प्टम्याटिक (लक्षणसहितका) छन्।
धेरै मान्छे क्लिनिकल लक्षण लिएर आउने गरेका छन्। उनीहरूलाई शुरूमा सास फेर्न गाह्रो हुने, छाती दुख्ने, सुत्न नसक्ने, टाउको धुम्म भए जस्तो हुने हुन्छ। अक्सिजनको कमी भइसकेपछि दमका बिरामीलाई झैं जिब्रो उचाल्दा भित्र नीलो हुने, ओठको रङ अलि फेरिने, आँखा एकदम सेतो, रगत नभए जस्तो देखिने हुन्छ। यस्ता लक्षणहरू संक्रमण भएको औसतमा पाँच दिनभित्र देखिन्छन्। कसैलाई १४ दिनपछि समेत लक्षण देखिन सक्छ।
संक्रमित मानिसलाई १५ मिनेटभन्दा बढी भेटेको र दुई मिटरभन्दा कम दूरीमा ऊसँगै बसेको छ भने संक्रमण हुनसक्छ। अहिले त हावाबाट पनि सर्ने भनिएकाले १५ मिनेटभन्दा कम समयमा पनि सर्नसक्ने भएको छ। 'भेरियन्ट अफ कन्सर्न'मा भाइरस बढी फैलिने भएकाले संक्रमण द्रुत गतिमा बढ्ने हुन्छ। आज कुनै संक्रमित व्यक्तिसँग भेट भएको छ भने सामान्यतया आजको पाँच दिनभित्रमा लक्षण देखिन थाल्छ। यो पहिलो चरण हो।
त्यसपछि के हुन्छ?
लक्षण जटिल बन्दै जानसक्छ। घाँटी दुख्छ, सास फेर्न झन्–झन् गाह्रो हुन्छ। त्यसपछि अक्सिजनको कमी भएर टाउकोमा असर गर्दै जान्छ। बिस्तारै–बिस्तारै त्यसले हरेक अंगमा असर गर्छ। बढीजसो चाहिँ छातीमा नै असर गर्छ। फोक्सोलाई असर गरेपछि बिस्तारै मुटुमा पनि असर हुने भयो। फोक्सोले अक्सिजन सफा गर्ने हो, मुटुले अक्सिजनेटेड ब्लड शरीरमा सञ्चार गर्छ। फोक्सोले आफ्नो काम गर्न नसकेपछि सिंगो शरीरमा नै अक्सिजनको कमी हुन्छ। त्यसपछि मान्छे कोमामा जानसक्छ, उसलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ। यो स्टेजपछि कतिपयको मृत्यु समेत हुनसक्छ।
यो अवस्था आउन नदिन के गर्ने? घरमै आइसोलेसनमा बसेकाले कहिलेबाट औषधि खान थाल्ने?
जुन दिनदेखि लक्षण देखिन थाल्यो, त्यही दिनदेखि आइसोलेसनमा बसेर औषधि खान थाल्नुपर्छ। ज्वरो आएको छ भने पारासिटामोल खाने। खासमा, यसमा सिस्टम्याटिक ट्रिटमेन्ट अर्थात् लक्षण अनुसार उपचार गरिन्छ, कजेटिभ ट्रिटमेन्ट हुँदैन। जस्तै– ब्याक्टेरियाका कारण निमोनिया भएको छ भने बिरामीलाई एन्टिबायोटिक दिइन्छ। त्यसले ब्याक्टेरियाभित्र छिरेर त्यसलाई मारिदिन्छ। भाइरसको संक्रमणमा चाहिँ त्यसले निम्त्याउने लक्षणहरूको उपचार गर्दै गइन्छ र त्यससँग लड्नसक्ने शक्तिको विकास गरेर त्यसलाई निष्क्रिय गराइने हो।
संक्रमण ठीक हुँदै गयो भनेर कहिलेदेखि थाहा हुन्छ?
जब शरीरमा एन्टिबडी बन्दै जान्छ र भाइरसको मात्रा कम हुँदै जान्छ वा उसमा लक्षण देखिन छोड्छन्, सिटामोल नखाईकनै ज्वरो कम भएको छ, रुघाखोकी कम हुँदै गएको छ भने चाहिँ निको हुँदै गएको भनेर बुझ्नुपर्छ। अर्को कुरा, सिटामोल दिनमा ६ वटाभन्दा बढी खानु हुँदैन। त्यसले कलेजोलाई हानि गर्छ।
कुनै संक्रमित व्यक्ति उपचारका लागि आउँदा ऊ संक्रमणको कुन चरणमा छ भन्ने कुरा चिकित्सकलाई सजिलै थाहा हुन्छ?
यसका लागि उसको केस हिस्ट्री लिनुपर्ने हुन्छ। कहिलेदेखि के–के लक्षण देखिए भनेर सोध्नुपर्छ। मानिलिऊँ, ऊ बुधबार जँचाउन आएको छ र उसले आफूलाई आइतबारदेखि नै टाउको अलिअलि दुखेको थियो, ज्वरो आएको थियो, घरमै बसिरहेँ भन्याे भने उसलाई लक्षण शुरू भएको दिन आइतबार मानिन्छ। र, हामीलाई के थाहा छ भने यो रोगमा ४८ घण्टाअघिदेखि नै संक्रमण हुन्छ। आइतबार लक्षण देखियो भने शुक्रबारदेखि नै उनले क–कसलाई भेटे, ती सबैजना क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। संक्रमित व्यक्तिले चाहिँ लक्षण कम नभएसम्म आइसोलेसनमा बस्नुपर्छ। जबसम्म ऊ सिटामोल नखाईकन, अक्सिजन नलिईकन बस्न सक्दैन, तबसम्म उनलाई निगरानीमै राख्नुपर्छ।
कुन चरणमा कुन औषधि खाने ?
यो भाइरल संक्रमण, कोभिड–१९ का विभिन्न चरण छन्। पहिलो चरण त्यो हो, जतिबेला भाइरस रेप्लिकेट (वृद्धि) हुँदै जान्छ। अधिकांश संक्रमितलाई यो बेला हल्का किसिमका लक्षण देखिन्छन्। संक्रमणको यो पहिलो हप्ता हो। यतिबेला मोनोक्लोनल एन्टिबडी वा एन्टिभाइरल औषधिले संक्रमण थेग्नसक्छ।
त्यस्ता एन्टिभाइरल औषधि अहिले बन्दै गरेका छन्। यिनको तेस्रो चरणको अध्ययन भइसकेको छैन, तथापि यिनले आशा अनुरूप परिणाम दिने देखिएको छ। विकासकै क्रममा रहेको मोनोक्लोनल एन्टिबडीमा चाहिँ मूल्य र पहुँचको समस्या रहला कि! तर, जे होस्, शुरूवाती चरण अर्थात् संक्रमणको पहिलो हप्तामै उपचारका लागि यी दुई औषधि प्रभावकारी हुने देखिएका छन्।
संक्रमणको दोस्रो चरण सामान्यतया ७ वा १० दिनपछिको अवस्था हो। यो बेला संक्रमण (इन्फ्लामेटरी रेस्पोन्स)ले कतिपय व्यक्तिको शरीरका कोषिकाहरूमा आक्रमण गर्न थाल्छ। फोक्सो र अन्य अंगमा रगत जम्ने (ब्लड क्लट) हुन्छ। यस्तोमा स्टोरोइड्स औषधि सहयोगी हुन्छन्। कतिपय इम्युनोमोडुलेटरी औषधि, जस्तै, इन्टिआईएल–६ इन्हिबिटर्स वा कोआगुलेसन (रगत जम्ने) रोक्ने हेपरिन जस्ता औषधि प्रभावकारी हुन्छन्।
तेस्रो चरणलाई हामीले लङ कोभिड वा पोस्टकोभिड सिन्ड्रम भनेका छौं। संक्रमण भएकामध्ये १० प्रतिशत जतिलाई लङ कोभिड हुन्छ। यो हुँदा धेरै महीनासम्म पनि लक्षण रहिरहन सक्छन्। लङ कोभिडका लागि के वा कस्तो उपचार चाहिन्छ भन्नेबारे हामी अध्ययन गरिरहेका छौं। तर, के बुझ्न जरुरी छ भने, गलत समयमा गलत औषधि सेवन गरियो भने त्यसले राम्रोभन्दा पनि नराम्रो नतिजा दिने सम्भावना बढी छ।
अहिले चल्तीमा रहेका डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, आइभरमेक्टिन जस्ता औषधि कोभिड–१९ को उपचारमा कत्ति पनि प्रभावकारी छैनन्। वास्तवमा विश्व स्वास्थ्य संगठनले आइभरमेक्टिन, रेम्डेसिभिर र हाइड्रक्सिक्लोरोक्विन जस्ता औषधिलाई क्लिनिकल परीक्षणबाहेक अन्य प्रयोजनमा निषेध गरेको छ।
(स्राेत : द हिन्दु दैनिक)