अब ३० अस्पतालमा कोरोनाको निःशुल्क उपचार
देशका बिभिन्न भागमा रहेका ३० अस्पतालमा कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गरिने भएको छ। यसका लागि सरकारले कोभिड–१९ केयर युनिट सञ्चालन गर्न ३० अस्पतालसँग सम्झौता गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बुधबारसम्म कोभिड–१९ केयर युनिट सञ्चालन गर्नका लागि ६ प्रदेशका ३० अस्पतालसँग सम्झौता भएको छ। ती अस्पतालमा कोभिड–१९ का बिरामीको उपचार गरिनेछ।
बुधबारसम्म प्रदेश १ को नोबल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ का नेशनल मेडिकल कलेज, वीरगन्ज र जानकी मेडिकल कलेज, जनकपुरसँग सम्झौता भएको छ।
त्यस्तै, बागमती प्रदेशका सिभिल अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलज, पिपुल्स डेन्टल कलेज तथा डेन्टल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, काठमाडौं नेशनल मेडिकल कलेज र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन हुने भएको छ।
यस्तै, बागमती प्रदेशकै समिट अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, नेपाल भारत मैत्री अस्पताल, बज्रवाहिनी चापागाउँ अस्पताल, आनन्दवन अस्पताल, काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिसिन साइन्स र मेडिकेयर अस्पतालमा कोभिड–१९ केयर युनिटका लागि सम्झौता भएको छ।
गण्डकी प्रदेशका गण्डकी मेडिकल कलेज र मनिपाल कलेज अफ मेडिकल साइन्स तथा लुम्बिनी प्रदेशका युनिभर्सल कलेज अफ मेडिकल साइन्स र रेसुङ्गा अस्पतालसँग सम्झौता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिमका निसर्ग अस्पताल तथा अनुसन्धान केन्द्र, मायामेट्रो अस्पताल, श्री पद्मा अस्पताल, कैलाली अस्पताल, नवजीवन अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने सम्झौता भएको हो।
कोरोनाका बिरामीलाई उपचार गर्नका लागि अन्य अस्पतालसँग पनि कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिने भएको छ। केही प्रक्रियामा रहेको र केहीसँग भएको सम्झौता अद्यावधिक गर्न बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।