‘बाहुबली’समेतको कीर्तिमान तोड्दैं ‘एभेञ्जर्सःइन्डगेम’
अमेरिकी सुपरहिरो फिल्म ‘एभेञ्जर्स : इन्डगेम’ ले बलिउडमा कमाइको नयाँ कीर्तिमान कायम गर्ने सम्भावना बढेको छ ।
शुक्रबार रिलिज भएको यो फिल्मले मंगलबारसम्म भारतमा २०० करोड कमाइसकेको छ ।
भारतीय बक्स अफिसका अनुसार, ‘सुपरहिट’ फिल्महरूको रेकर्ड तोड्दै यो फिल्मले पहिलो दिनमै ५३.६० करोड कमाएको थियो । दोस्रो दिन यो फिल्मले ५२.२० करोड, तेस्रो दिन ५३.५ करोड र चौथो दिन ६१.६३ करोड संकलन गरिसकेको छ ।
बुधबार पाँचौं दिनमा पनि कम्तिमा ५० करोड कमाउने आकलन गरिएको छ ।
'एभेञ्जर्स : इन्डगेम’ को पहिलो साताको यो कमाइ कुनै पनि हिन्दी ‘ब्लकबस्टर’ फिल्मको भन्दा राम्रो हो ।
रिलिजको पहिलो सातामा ‘दंगल’ले १९७.५४ करोड, ‘टाइगर जिन्दा है’ ले २०६.५१ करोड र ‘सञ्जु’ले २०२.५१ करोड कमाएको थियो ।
यी सबैभन्दा बढी ‘बाहुबली’ले पहिलो सातामै २४७ करोड जम्मा गरेको थियो ।
पाँच दिनको अनुमानित हिसाबले यो फिल्मले ‘बाहुबली’को रेकर्ड पनि माथ गर्ने देखिन्छ ।
‘एभेञ्जर्स : इन्डगेम’ द एभेञ्जर्स (२०१२), एभेञ्जर्सः एज अफ अल्ट्रन (२०१५), एभेञ्जर्सः इन्फिनीटी वार (२०१८) को ‘सिक्वेल’ हो ।
एन्थनी रुसो र जो रुसो निर्देशित यो फिल्म क्रिष्टोफर मार्कस र स्टेफन म्याकफिलीले लेखेका हुन् ।
यो फिल्ममा जसमा रोबर्ट डाउनी जूनियर, क्रिस एभेन्स, मार्क रुफैलो, क्रिस हेम्स्वर्थ (थोर), स्कारलेट योहानसन, जेरेमी रेनर, पाल रुड, ब्री लार्सन र जोश ब्रोलिन लगायतको अभिनय रहेको छ ।