‘राज्यले गोपाल योञ्जन र प्रेमध्वज प्रधानलाई त्यसरी सम्मान गर्नैसकेन जसरी नारायणगोपाल र अम्बर गुरुङलाई गर्यो’
गोपाल योञ्जन प्रहरी सेवामा पनि जागीर गर्नुहुन्थ्यो। त्यहाँ कार्यक्रम गर्दा हामीलाई ‘प्रेमध्वजलाई लिएर आओ’ भन्नुहुन्थ्यो। मेरो त मोटरसाइकल पनि थिएन। अरूले नै ल्याउँथे। उहाँका कार्यक्रममा कति पटक मैले पनि कोरस गाएको छु। पछिपछि भने एक–दुई पटक गाउने मौका पनि पाएँ।
२०२० सालको कुरा हो। नूपुर बेनर्जी (भट्टाचार्य)का बुवा डा. सुशीलचन्द्र बेनर्जी विराटनगर हस्पिटलको प्रमुख हुनुहुन्थ्यो। त्यसबेला विराटनगरमा डाक्टरहरूको ठूलो सम्मेलन भएको थियो। सम्मेलनमा साङ्गीतिक कार्यक्रमका लागि डा.बेनर्जीले त्यसबेलाका चर्चित कलाकारहरू शिवशंकर, नातिकाजी, पुष्प नेपाली, तारादेवी, प्रेमध्वज प्रधानहरूलाई विराटनगर बोलाउनुभएको थियो।
त्यसबेला म त्यस्तै १२–१३ वर्षको थिएँ। तर, बङ्गो बजाउने भइसकेको थिएँ। सिनेमाका गीतहरू सुनेर आफ्नै अभ्यासले बङ्गो बजाउन थालेको थिएँ। त्यो कार्यक्रमका लागि रेडियो नेपालका वाद्यवादक इन्द्रलाल श्रेष्ठ पनि आउनुभएको थियो। उहाँ, विमला मास्के, सुरेन्द्र मास्केहरूले ‘धरानमा एउटा फुच्चे छ, राम्रो बजाउने’ भनेछन्। मलाई केही गीतहरूमा बङ्गो बजाउन निम्ता आयो।
त्यसबेला मेरा बुवा भर्खरै बित्नुभएको थियो। सेतै लुगामा विराटनगर पुगेर मैले तीन–चार वटा गीतमा बङ्गो बजाएँ।
त्यही कार्यक्रममा मैले पहिलो पटक प्रेमध्वज प्रधानलाई भेटेको थिएँ। उहाँको ‘गोरेटो त्यो गाउँको’ लगायतका गीत त्यतिबेलै चर्चित थिए। मैले कतिपटक त साथीहरूमाझ उहाँका गीतहरू गाइसकेको पनि थिएँ। केटाकेटी नै भएर होला, उहाँसँग भेट्दा म खासै उत्साहित भइनँ। सामान्य भेट जस्तो मात्र भयो।
मैले उहाँकै गीतमा त बङ्गो बजाएँ कि बजाइनँ, बिर्सिएँ, तर उहाँले मेरो प्रशंसा गर्दै ‘राम्रो बजाउँदा रहेछौं, काठमाडौं आउनु’ भन्नुभएको अहिले पनि याद छ। त्यसबेला काठमाडौं जानु हाम्रा लागि निकै ठूलो कुरा हुन्थ्यो।
२०२५ सालमा ‘शिलान्यास’ नाटक लिएर हामी काठमाडौं गयौं। पुस १ गते राजा महेन्द्रका अगाडि मैले दुई वटा गीत गाएको थिएँ। त्यो कार्यक्रममा प्रेमध्वज, नातिकाजी दाइहरू पनि आउनुभएको रहेछ। मेरो गीत सुन्नुभएछ। मैले गाइसकेपछि नातिकाजी दाइले त चिनिहाल्नुभयो। उहाँले ‘राम्रो गाउने भएछौ’ भन्दै विराटनगर भेटको कुरा पनि गर्नुभयो। तर, प्रेमध्वज दाइले केही प्रतिक्रिया दिनुभएन। उहाँको स्वभाव नै त्यस्तै थियो, खासै नखुल्ने।
राजा महेन्द्रको आदेशपछि ३ पुसमा मैले रेडियो नेपालमा गई गीत रेकर्ड गरें। रेडियो नेपालमा जाँदा नातिकाजी दाइसँग भेट भइरहन्थ्यो।
एकताका प्रेमध्वज र माणिकरत्नको जोडी ‘प्रेम–माणिक’ पनि खूब जमेको थियो। कतिपय गीतहरू ‘प्रेम–माणिक’ भनेरै आए। तर, पछि के भयो कुन्नि, उहाँहरूको भेटघाट समेत बन्द भयो।
सुनाउन नपाएको त्यो गीत
भर्खरै मात्र ‘भोइस अफ नेपाल’ कार्यक्रमको ब्याटल राउन्डमा मैले लाबोनी चक्रवर्ती प्रसाईं र आर्यन तामाङलाई प्रेमध्वज दाइ र उषा मंगेस्करको स्वर, किरण खरेलको शब्द तथा जयदेवको संगीतको माइतीघर चलचित्रको ‘नमान लाज यस्तरी’ गाउन लगाएको थिएँ। त्यो एपिसोडको सुटिङ पहिले नै भएको थियो। यो कुरा उहाँलाई सुनाउँछु भनेर फोन गरें, तर फोन उठेन।
झट्ट फोन नउठाउने पनि उहाँको पुरानै बानी थियो। सोचें, पछि प्रसारण हुने समयमा उहाँलाई फेरि फोन गर्छु र भन्छु। तर, २३ वैशाखमै उहाँको निधनको खबर आयो।
अस्ति १ जेठमा त्यो एपिसोड बज्यो। एकमनले भाउजूलाई फोन गरेर भनूँ कि जस्तो पनि लाग्यो। तर, सकिनँ।
‘तिम्रो शुभ दिनमा’
२०४५/०४६ सालतिरको कुरा हो। म भोटेबहाल बस्थें। गीतकार बालकृष्ण सजीवले ‘तपाईंको कम्पोजिसनमा प्रेमध्वज दाइलाई गाउन नलगाई भएन’ भनेपछि ‘तिम्रो शुभ दिनमा’ गीत कम्पोज गरें। प्रेमध्वज दाइ कति सोझो भने उहाँ गीत अभ्यास गर्न मेरो घरमै आउनुहुन्थ्यो।
उहाँको अर्को बानी पनि थियो, जस्तो शब्द, ट्युन भए पनि कुनै प्रतिक्रिया नदिने। चुपचाप गाउने। त्यो उहाँको शालीनता थियो।
गोपाल योञ्जन प्रहरी सेवामा जागीर पनि गर्नुहुन्थ्यो। त्यहाँ कार्यक्रम गर्दा हामीलाई ‘प्रेमध्वजलाई लिएर आओ’ भन्नुहुन्थ्यो। मेरो त मोटरसाइकल पनि थिएन। अरूले ल्याउँथे। उहाँका कार्यक्रममा कति पटक मैले पनि कोरस गाएको छु। पछिपछि भने एक–दुई पटक मैले पनि गाउने मौका पाएको छु।
म दुई–तीन पटक उहाँको घरमा पुगें। घर पुग्दा उहाँले कोठामा लगेर हार्मोनियम, गितार देखाउनुहुन्थ्यो। सङ्गीतकै विषयमा कुरा हुन्थे। सँगै कार्यक्रममा जानुपर्ने भए मेरै गाडीमा जाऔं भन्नुहुन्थ्यो।
एक वर्षअघि दाइले ‘दक्षिणकालीतिर एक जनाले राम्रो रिसोर्ट खोलेको छ, मेरै गाडीमा त्यहाँ जानुपर्छ’ भन्नुभएको थियो। त्यहाँ मलाई लैजाने उहाँको ठूलो इच्छा थियो। लगत्तै कोरोना महामारी आएकाले झट्ट जान सकिएन। अब त्यो पनि अधूरै रह्यो।
मैले सङ्गीत सम्बन्धी अनुभव र अध्ययन गर्दै जाँदा प्रेमध्वज दाइहरूले गर्ने रियाजका कतिपय तरिकाहरू पुरानो रहेको पाएँ। मैले रियाजका आधुनिक तरिकाहरूबारे बेलाबेला उहाँसँग शेयर गर्न पनि चाहें। तर, उहाँ अलि झर्को माने जस्तो गर्नुहुन्थ्यो। कता–कता उहाँ असन्तुष्ट भए जस्तो लाग्थ्यो मलाई।
मेरो विचारमा राज्यले गोपाल योञ्जन र प्रेमध्वज प्रधानलाई त्यसरी सम्मान गर्न सकेन, जसरी नारायणगोपाल र अम्बर गुरुङलाई गर्याे । तर, धेरै श्रोताले मन पराएका राम्रा गीतहरू गाउने गोपाल योञ्जन, प्रेमध्वजहरू किन पछि पारिए बुझ्न सकेको छैन।
प्रेमध्वज दाइ सहजै साथीभाइसँग विचरण नगर्ने, जाँडरक्सी नखाने मान्छे, त्यसैले पनि धेरै जमघटमा उहाँ छुट्नुहुन्थ्यो। नेवार समुदायमा भोज धेरै हुन्छन्। त्यस्ता भोजमा आमाहरूले खानैपर्छ भनेको बेला चाहिं चिउरामा थोरै रक्सी हालेर मुछेर खाएको सुनाउनुहुन्थ्यो।
अन्तिम भेट
२०७६ सालमा काठमाडौंमा आशा भोस्लेको साङ्गीतिक कार्यक्रममा प्रेमध्वज दाइसँग पाँच–सात दिन सँगै ‘प्राक्टिस’ गरियो। केही महीनाअघि मात्र प्रेमध्वज दाइ, बच्चु कैलाश दाइ र मेरो एउटा पार्टीमा भेट भएको थियो। केही कुराकानी पनि भयो। त्यही भेट अन्तिम बन्यो।
म सानैदेखि प्रेमध्वज दाइको गीत सुनेको मान्छे। उहाँको स्वर सारै सुरिलो, गलाको मिठास त्यस्तै। म उहाँले जसरी नै गाउने कोशिश गर्थें। तर, कहिल्यै उहाँ जस्तो सुरिलो गाउन सकिनँ।
मलाई प्रेमध्वज दाइको स्वर नै अचम्मको लाग्छ। कसैसँग नमिल्ने। अब उहाँले त्यही अमूल्य स्वर हामीलाई छाडेर जानुभएको छ।
प्रस्तुति: गोपाल दाहाल