पोखरामा वार्षिक परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिने
कोभिड–१९ महामारी कारण कास्कीको पोखरा महानगरपालिकामा यस वर्ष वार्षिक परीक्षा सञ्चालन नगरिने भएको छ। अब आन्तरिक मूल्यांकन लगायतका आधारमा नतिजा प्रकाशन गरिने जनाइएकाे छ।
पोखराको नगर कार्यपालिकाको ३ जेठमा बसेको बैठकले वार्षिक परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको छ। भौतिक रूपमा उपस्थित हुने अवस्था नभएकाले परीक्षा नगर्ने निर्णय गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जनाएका छन्।
कोभिड–१९ को दोस्रो लहरका कारण पोखरामा पनि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाले गर्दा वार्षिक परीक्षा सञ्चालन गर्न नसकिने जनाउँदै यसअघि लिइएको त्रैमासिक, अर्धवार्षिक परीक्षा र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न महानगरले निर्देशन दिएको छ।
महानगरले जारी गरेको सूचनामा भनिएको छ, “वार्षिक परीक्षाहरू कोभिड–१९ का कारण भौतिक उपस्थितिमा सम्भव नदेखिएकाले विद्यालयले यस पूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक एवं आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गरी नतिजा प्रकाशन गर्ने।”
त्यस्तै, पोखरामा १ असारबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिइने भएको छ। त्यसअघि नै नतिजा प्रकाशन गर्न विद्यालयलाई निर्देशन दिइएको छ। कक्षा ८ को परीक्षाका लागि भने फेरि निर्णय गरिने जनाइएको छ।