भारतमा आएको चक्रवातले नेपालमा हिमाल आरोहण प्रभावित
अरब सागरबाट उत्पत्ति भएको शक्तिशाली चक्रवात ‘टक्टे’को प्रभाव नेपालका हिमाल आरोहणमा पनि परेको छ। हिमाली क्षेत्रमा मौसम बिग्रिएपछि आरोहण रोकिएको छ।
टक्टे चक्रवातले भारतमा धनजनको क्षति पुर्याइरहेको छ। त्यसको प्रभाव नेपालमा पनि देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दुई दिनयता सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा पनि हिमपात हुन थालेको विभागले जनाएको छ।
हिमाली क्षेत्रमा मौसम बिग्रिएपछि आरोहण पनि प्रभावित भएको पर्यटन विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बताइन्। “प्रतिकूल मौसममा हिमाल आरोहण नगराउन शुरुआतमै सूचित गराइसकेका थियौं। अहिले मौसम प्रतिकूल देखिएकाले आरोहीहरू माथि गएका छैनन्,” निर्देशक आचार्यले हिमालखबरसँग भनिन्।
पर्यटन विभागका अनुसार, अहिले खुम्बु क्षेत्रका सगरमाथा, नुप्त्से र आमादब्लम आरोहणका लागि १ हजार ५०० व्यक्ति त्यस क्षेत्रमा रहेका छन्। अहिले उनीहरू मौसम खुल्ने प्रतीक्षामा रहेको आचार्यले बताइन्।
वसन्त याम आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। तर, चक्रवातका कारण नेपालको मौसममा बदली हुँदा आरोहण पनि प्रभावित हुन पुगेको हो।
एभरेस्ट वेदर स्टेशनका अनुसार, आज बिहान १०ः४५ बजे सगरमाथा आधारशिविरको तापक्रम २ डिग्री सेन्टिग्रेड रहेको छ। त्यस्तै, दोस्रो शिविरको तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेड र साउथ कोलको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेड रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि बुधबार उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा चक्रवातको प्रभाव शुक्रबारसम्म रहने जनाएको छ।
कोभिड–१९ महामारीका कारण गत वर्ष आरोहण रोकिएको थियो। यसपटक कोरोना महामारीबीच आरोहण सञ्चालन गरिएको हो। सगरमाथा आधारशिविरमा आरोहीमा कोरोना संक्रमण देखिएपछि चीनले भने उत्तरी मोहडाबाट आरोहण रद्द गरिसकेको छ।