भारतीय कम्पनी सेरमले तत्काल खोप निर्यात नगर्ने, नेपालले पाउने समय लम्बिन सक्ने
कोभिशिल्ड खोपको उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले तत्काल खोप निर्यात नगर्ने संकेत गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै सेरमले भारतको खोप अभियानलाई प्राथमिकतामा राखेको र सन् २०२१ को अन्त्यसम्ममा मात्रै खोप निर्यात गर्न सकिने बताएको हो।
सेरमले कोभ्यास र अन्य देशहरूका लागि यो वर्षको अन्त्यसम्ममा मात्रै खोप निर्यात गर्न सकिने आशा रहेको बताएको छ। यद्यपि, खोप खरीदका लागि रकम बुझाइसकेका नेपाल लगायतका देशले तत्काल खोप पाउने/नपाउने विषयमा सेरमले प्रष्ट रूपमा उल्लेख गरेको छैन।
सेरमले भारतका नागरिकलाई जोखिममा राखेर अन्य देशमा खोप निर्यात नगरेको र आउने समयमा पनि भारतलाई नै प्राथमिकतामा राख्ने जनाएको छ।
आफ्नो देशका नागरिकको जीवनलाई जोखिममा राखेर कोभिड–१९ विरुद्धको खोप निर्यात गरिएको भनी ठूलो विरोध भएपछि सेरमले विज्ञप्ति निकालेको हो। भारत सरकारले अहिले खोप निर्यातमा रोक लगाएको छ।
नेपालले सेरमबाट २० लाख डोज खोप खरीदका लागि रकम बुझाए पनि १० लाख डोज खोप अझै आउन सकेको छैन। सेरमले यसअघि नै तत्काल खोप आपूर्ति गर्न नसकिने बरु नेपाल सरकारले तिरेको रकम फिर्ता बुझाउन तयार भएको पत्र पठाएको थियो।
सेरम संसारका कोभिड–१९ विरुद्धको ठूला खोप उत्पादक कम्पनीमध्ये एक हो। सेरमले महामारीको अन्त्यका लागि संसारभरिका नागरिकको खोपमा पहुँच आवश्यक भएकाले कोभ्याक्स जस्ता पहलकदमीलाई खोप आपूर्ति गरेर महामारीसँग जुध्न निरन्तर सहयोग गरिरहने प्रतिबद्धता पनि जनाएको छ।