एमालेको भोट रामबहादुर थापालाई जान्छः प्रवक्ता ज्ञवाली
नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले गृहमन्त्री रामबहादुर थापालाई मतदान गर्ने बताएका छन्।
एमालेको विवाद समाधान गर्न गठित कार्यदलको मंगलबार बसेको बैठक लगत्तै ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन्। “पार्टीको एक मात्र आधिकारिक उम्मेदवार रामबहादुर थापा हुनुुहुन्छ,” परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भने, “एमालेबाट निर्वाचित सबै जनतिनिधिहरूले उहाँको पक्षमा मतदान गर्नुहुन्छ।”
तपाईँको पार्टीबाटै दुई जना उम्मेदवार छन् नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, “कांग्रेस प्रस्तावक र माओवादी केन्द्र समर्थक रहेको उम्मेदवार कसरी एमालेको उम्मेदवार हुनसक्छ?”
ज्ञवालीको यो भनाइ माधव नेपाल पक्षबाट उम्मेदवारी दिएका खिमलाल देवकोटातर्फ लक्षित थियो। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच ३० वैशाखमा सहमति हुनुअघि नै संघीयताका जानकार देवकोटाले कांग्रेसको प्रस्ताव र माओवादीको समर्थनमा उम्मेदवारी दिएका थिए।
ओली र नेपाल पक्षबीच सहमति भइसकेकाले माधव नेपाल पक्षको भोट कता जान्छ भन्ने स्पष्ट नभइसकेको सन्दर्भमा आएको ज्ञवालीको यो भनाइ अर्थपूर्ण मानिएको छ। कार्यदलको बैठकमा भने यस विषयमा छलफल नभएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
मंगलबार कोटेश्वरस्थित निवासमा वरिष्ठ नेता नेपाल र गृहमन्त्री थापाबीचको भेटबारे दुई थरी धारणा सार्वजनिक भएको छ।
राष्ट्रिय सभाका सदस्य चयनका लागि ६ जेठमा मतदान हुँदै छ।