सुन्दर बग्दै छ बागमती
बागमती सफाइ अभियानले फोहोरको स्रोतमै वर्गीकरण गर्न, कौसीखेती शुरू गर्न, कुहिने फोहोरबाट बायो कम्पोस्ट र बायोग्यास उत्पादन गर्न सहजीकरण गर्ने गरेको छ।
बागमती सफाइ महाअभियान ५ जेठ २०७० मा शुरू भएको हो। ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ शुरू भएको अभियानलाई नेपालको सबैभन्दा ठूलो र लामो स्वयंसेवी अभियान भन्दा फरक पर्दैन। आज यो अभियान शुरू भएको आठ वर्ष पूरा भएको छ।
अभियान भूकम्प, नाकाबन्दी, लकडाउन, दशैं, तिहार, जाडो, गर्मी कुनै पनि समयमा रोकिएको छैन। कोरोना संक्रमणसँगै अभियान पक्कै प्रभावित भएको छ। सामूहिक रूपमा सञ्चालन हुन नसकेपछि अभियन्ताहरूले आ–आफ्नो घरआँगन, नजिकको सडक छेउछाउ सफाइ गर्ने अभियान शुरू गरेका छौं। बागमती नदी नजिक बस्ने अभियन्ताहरूले भने सानो समूहमा अभियान सञ्चालन गर्दै आएका छौं।
यो अभियानमा कुनै प्रकारको आर्थिक कारोबारका साथै चन्दा सहयोग लिइँदैन। यसको कुनै समिति छैन, ब्यांक खाता छैन। नेपाल सरकारको ‘अधिकार सम्पन्न बागमती एकीकृत विकास आयोजना’ले गर्ने खर्चसँग सफाइ अभियानको कुनै सरोकार रहँदैन।
विशुद्ध नागरिक अभियानमा हालसम्म करीब १० लाख जनाले सहभागिता जनाइसकेका छन्। आमनागरिक मात्रै होइन, राष्ट्रपतिदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री लगायत राज्यका उच्चपदस्थ पदाधिकारी सामेल भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायको यो अभियानमा बलियो साथ, सहयोग छ।
संस्थागत रूपमा पनि सयौंले सहभागिता जनाएका छन्। नेपाल टेलिकमले शुरूआतदेखि सफाइ सामग्री सहयोग गर्दै आएको छ। विभिन्न निजी तथा सार्वजनिक संस्थाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत नदी किनारमा पुरातात्त्विक स्थलको संरक्षण तथा ३० भन्दा बढी स्थानमा बगैँचा निर्माण भएका छन्।
हामीले हरेक हप्ता दुई घण्टा बागमती र उपत्यकाका सहायक नदीहरू, सार्वजनिक स्थल, मठमन्दिर, घरआँगन सफा गर्दै आएका छौं। जनचेतना जगाउँदै छौं। अभियानले फोहोरको स्रोतमै वर्गीकरण गर्न, कौसीखेती शुरू गर्न, कुहिने फोहोरबाट बायो कम्पोस्ट र बायोग्यास उत्पादन गर्न सहजीकरण गर्ने गरेको छ।
सफाइ अभियान र अभियन्ताको क्रियाशीलताका कारण सरकारलाई पनि दबाब पर्न गई वर्षाैंदेखि रोकिएको ढल निर्माण कार्यले पनि तीव्रता पाएको छ। सफाइ अभियानले गर्दा नदी किनारको सार्वजनिक स्थललाई सरकारका नाममा फिर्ता ल्याउन सहज भएको पनि हाम्रो बुझाइ छ। अधिकार सम्पन्न बागमती आयोजनाबाट भत्केको पुलदेखि थापाथलीसम्म सोलार बत्ती जडान भएको छ।
बाहिर पनि शुरू
अभियानको प्रेरणा, सहयोग र सहभागितामा उपत्यकाका बागमती नदीका सहायक नदीहरू क्रमशः विष्णुमती, रुद्रमती, इच्छुमती, मनोहरा, गोदावरी, नख्खु खोलाको समेत सफाइ अभियान अगाडि बढेको छ। त्यसका साथै तिलगंगा, आलोकनगर, सुन्दरीघाट, हनुमन्ते, बागमती फोहोर उन्मूलन र चक्रपथको पश्चिम, उत्तर र दक्षिण भाग तथा लामाटार लगायत २० स्थानमा सरसफाइ अभियान शुरू भएको छ। बागमती लगायत काठमाडौं उपत्यकाका अन्य सहायक नदीहरूबाट २० हजार मेट्रिक टनभन्दा धेरै फोहोर व्यवस्थापन गरिएको छ।
बागमती सफाइ अभियानको प्रेरणा र सहभागितामा काठमाडौं उपत्यका बाहिर करीब १०० स्थानमा सरसफाइ अभियान सञ्चालन भइरहेको छ। मेची–महाकाली सफाइ अभियान अन्तर्गत ६२ स्थानमा सफाइ अभियान कार्यक्रम सम्पन्न भएको छ। हामीले शुरू गरेको सरसफाइ अभियान राष्ट्रव्यापी बनेकोमा हामीलाई गौरव छ। यो हामी सबैको साझा अभियान हो।
जन्मदिनमा बिरुवा
नदी किनारमा स्थानीय क्लब, विभिन्न समूहले वृक्षरोपण गर्ने गरेका छन्। अभियन्ताहरूले आफ्नो जन्मदिनमा बागमती किनारमा वृक्षरोपण गर्ने चलन बसाएका छन्।
नदी किनारमा ६ हजारभन्दा बढी प्रजातिका बिरुवा रोपिएका छन्। आठ वर्षको मिहिनेतले स्थानीयबासी घुम्न आउने, खेल्ने, हिँड्न मिल्ने भएको छ। केही वर्षअघिसम्म हिँड्नै नसकिने नदी वरपर आजभोलि चलचित्र, म्यूजिक भिडियो समेत छायांकन हुन थालेका छन्।
बागमती किनारमा अहिले रुद्राक्ष, वर, पीपल, अम्बा, कपूर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, निम, शमी, अम्बा लगायतका बिरुवाका साथै थरीथरी प्रजातिका फूल हुर्किंदै गएका छन्। यसरी बागमती नदी किनारलाई वातावरणमैत्री बनाउने हाम्रो सपना पूरा बन्दै गएको छ।
चेतना आवश्यक
मानव जातिले पृथ्वीमाथि धेरै किसिमले अन्याय गरेको छ। प्रकृतिसँग खेलबाड गरेको छ। प्रकृतिको दोहन, नदीनालाको बहाव परिवर्तन, सार्वजनिक स्थललाई व्यक्तिगत प्रयोजनमा ल्याउने जस्ता कामका विरुद्ध हामी अग्रसर छौं। घरबाट निस्कने फोहोरलाई जथाभाबी फाल्ने, आफू खुशी भए पुग्यो, दोस्रो व्यक्ति र समाजबारे नसोच्ने कारण वातावरणमा असर परेको छ। हामीले अब यसबारे सोच्ने बेला आएको छ।
अझै केही व्यक्तिले लुकेर नदीमा फोहोर फाल्न छोडेका छैनन्। तर पनि, यसका अभियन्ताहरू थाकेका छैनौं। सफाइ अभियानको मूल उद्देश्य विशुद्ध स्वयंसेवी भावनाको विकास गर्ने, स्वाभिमानी भावनाको विकास गराउने, हामी हाम्रो काम आफैं गर्न सक्छौं भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निःस्वार्थ समर्पण हुने युवा जनशक्ति निर्माण गर्ने हो। त्यसैले यो सभ्य समाज निर्माण र राष्ट्रिय स्वाभिमानको महाअभियान हो।
अभियान कहिलेसम्म भन्ने प्रश्नबारे अभियन्ताहरूसँग एउटै जवाफ छ– जबसम्म बागमती नदीमा सफा पानी बग्दैन। समयसँगै बागमती सफाइ अभियानको प्रकृतिमा केही परिवर्तन गर्न हामीले स्थानीय सरकारसँग समन्वय गरिरहेका छौं।
नदी लगायत सार्वजनिक स्थलमा फोहोर फाल्नु हुँदैन भन्ने नागरिकमा चेतना हुन जरुरी छ। त्यसकारण असल नागरिकको पहिचान दिन निम्न कुरा आजैबाट लागू गर्न हाम्रो अपील छ।
१. घरबाट निस्कने फोहोरलाई वर्गीकरण गरी कुहिने फोहोरलाई अर्गानिक मल बनाइ कौसीखेती गर्ने।
२. अनावश्यक प्लास्टिक, फलाम, कागज लगायतलाई बिक्री गर्ने।
३. विद्यालयस्तरमै सफाइ सम्बन्धी पाठयक्रम समावेश गर्ने।
अन्त्यमा, सबैले प्रतिज्ञा गरौं– ‘म मेरो वासस्थान वरिपरि, कार्यस्थल र सार्वजनिक स्थल वरिपरि तथा नदीनाला सफा राख्छु। बागमती लगायत सबै नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्छु।’