नेपालमा कोरोनाका थप दुई नयाँ भेरिएन्ट, दुवै धेरै संक्रामक र जोखिमपूर्ण
नेपालमा कोभिड–१९ का थप दुई नयाँ भेरिएन्ट देखिएका छन्। नयाँ देखिएका दुवै भेरिएन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोभिड–१९ को दोस्रो लहर चलेपछि स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को समन्वयमा ३५ वटा नमूना विदेश पठाएको थियो। नेपालबाट पठाएका नमूनाको भारतको ‘सीएसआईआर–इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी’मा सिक्वेन्सिङ गरिएको थियो।
जसमा ३४ जनामा ‘बी.१.६१७.२’ भेरिएन्ट देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। त्यस्तै, एक जनामा ‘बी.१.६१७.१’ भेरिएन्ट देखिएको छ। यी दुवै भारतमा देखिएका भेरिएन्ट हुन्।
यी नयाँ दुबैसँगै नेपालमा तीन वटा भेरिएन्ट पुष्टि भएको सहप्रवक्ता डा. अधिकारीले प्रेस विज्ञप्ति मार्फत जनाएका छन्। उनले विज्ञप्तिमा भनेका छन्, “यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिएन्ट रहेको पुष्टि भएको छ।”
नयाँ देखिएका दुवै भेरिएन्ट गत ५ अक्टुबर, २०२० मा भारतको महाराष्ट्रमा देखिएका थिए। यी भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आठ दिनअघि १० मे २०२१ मा ‘भेरिएन्ट अफ कन्सर्न’ भनेर घोषणा गरेको छ।
अहिले देखिएको नयाँ भेरिएन्ट धेरै संक्रामक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जनाएका छन्। “हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको छ,” डा. अधिकारीले भनेका छन्।
नयाँ भेरिएन्ट धेरै संक्रामक रहेकाले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।