माधव नेपाल र गृहमन्त्री थापाको भेटबारे दुई थरी विज्ञप्ति
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापाबीच मंगलबार भएको भेटबारे दुई थरी विज्ञप्ति सार्वजनिक भएको छ।
गृहमन्त्री थापाको सचिवालयले राष्ट्रिय सभा उपनिर्वाचनमा वरिष्ठ नेता नेपालले थापालाई सहयोग गर्ने उल्लेख गरेको दाबी गरेको छ। भेटबारे जानकारी दिँदै थापाका प्रेस संयोजक किरण भट्टराईले दुई नेताबीचको भेटघाट सकारात्मक रहेको उल्लेख गरेका छन्।
संयोजक भट्टराईले लेखेका छन्, “भेटमा नेता नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री थापालाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको थापाले जानकारी दिनुभयो।”
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ नेता नेपालको सचिवालयले भने थापाको सचिवालयको भनाइको खण्डन गरेको छ।
माधव नेपालको सचिवालयका मोहन गौतमले अन्य दलहरूसहितलाई सहमत गराएर खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा कुरा गर्न नसक्ने स्पष्ट पारेको उल्लेख गरेका छन्। “त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो। मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिए जस्तो अन्य कुनै सहमति भएको छैन,” गौतमले लेखेका छन्।
६ जेठमा हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि एमालेबाट गृहमन्त्री थापाले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको तर्फबाट खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच ३० वैशाखमा सहमति बन्नुअघि उम्मेदवार देवकोटालाई नेपाल पक्षको समर्थन रहेको बताइएको थियो।
उपनिर्वाचनमा नेपाल मजदूर किसान पार्टीबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दिएका छन्।