शेयर बजारलाई कस्ने राष्ट्र ब्यांकको संकेत, धितो राखिने शेयरको औसत मूल्य गणनाको विधि फेरियो
लगातार उकालो चढिरहेको शेयर बजारलाई कस्न राष्ट्र ब्यांकले मौद्रिक औजारको प्रयोग शुरू गरेको छ। केन्द्रीय ब्यांकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत शेयर धितो कर्जामा प्रवाह हुने ऋणका लागि शेयरको मूल्यांकन गर्दा गणना गरिने दिनको अवधि बढाइदिएको छ। अब शेयर धितोमा कर्जा प्रवाह गर्दा शेयरको ६ महीनाको औसत मूल्यलाई आधार बनाउनुपर्नेछ। यो यसअघि ४ महीना मात्रै थियो।
मंगलबार सार्वजनिक समीक्षा मार्फत ब्यांक तथा वितीय संस्थाहरूले प्रवाह गर्ने कर्जामध्ये शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत शेयरको मूल्यांकन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाइने उल्लेख छ।
गत साउनमा ल्याइएको चालू आर्थिक वर्षको मौद्रिक नीतिले १२० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था गरेको थियो।
यसरी, गणना गर्ने दिन बढाउँदा धितोमा राखिने शेयरको मूल्यांकन रकम कम हुन जान्छ। किनभने, अब ब्यांक तथा वित्तीय संस्थाले शेयर धितोमा कर्जा दिँदा उक्त शेयरको ६ महीनायताको मूल्यलाई औसत अन्तर्गत गणना गर्नुपर्ने हुन्छ।
६ महीनाअघि नेप्से परिसूचक १ हजार ८ सय अंकको वरिपरि थियो। त्यसयता परिसूचक झन्डै एक हजार अंकले बढेर २ हजार ८ सय अंकको वरिपरि पुगिसकेको छ। ६ महीनाअघि कयौं कम्पनीको शेयर मूल्य अहिलेको तुलनामा झन्डै आधासम्म थोरै रहेका कारण यस्ता कम्पनीको शेयर धितोमा मूल्यांकन गर्नुपर्दा यिनको औसत मूल्यांकन रकम घट्न पुग्ने शेयर बजार विश्लेषक मुक्ति अर्याल बताउँछन्।
अर्का शेयर बजार विश्लेषक प्रकाश तिवारी बजारलाई नियन्त्रण गर्न नेपाल राष्ट्र ब्यांकले आफूसँग भएका तीन वटा अस्त्रमध्ये पहिलो अस्त्र चलाएको बताउँछन्। बजारमा प्रभाव पार्न राष्ट्र ब्यांकसँग गणनाको दिन बढाउने–घटाउने, ब्यांक तथा वित्तीय संस्थाले शेयर धितोमा दिने ऋणको सीमा तोकिदिने र शेयर धितोमा ऋणको प्रतिशत थपघट गर्ने विकल्प हुन्छ। त्यसमध्ये केन्द्रीय ब्यांकले पहिलो औजार प्रयोग गरेको र अब आगामी दिनमा बजारलाई थप कस्ने संकेत देखाएको तिवारी बताउँछन्।
महामारीका कारण आर्थिक गतिविधि ठप्पप्राय: भए पनि शेयर बजार भने लगातार उकालो लागिरहेको छ। मंगलबार मात्रै शेयर बजार परिसूचक अहिलेसम्मकै उच्च बिन्दु झन्डै २ हजार ७९४ पुगेको छ। त्यस्तै, कारोबार रकम रू.११ अर्ब ३६ करोड पुगेको छ। बजारमा थोरै संख्यामा रहेका शेयरलाई निश्चित समूहले कर्नरिङ गर्दै मूल्य बढाउने खेल भइरहेको कतिपय विश्लेषकहरूले अनुमान गर्दै आएका छन्।