इराकसँग खेल्न नेपाली फूटबल टोली घोषणा
अखिल नेपाल फूटबल संघ (एन्फा)ले इराकसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा गरेको छ।
मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुइतरीले मंगलबार राष्ट्रिय टोली छनाेट गरेका हुन्। राष्ट्रिय टोलीमा भरत खवास, रञ्जित धिमाल, अमित तामाङ, शेशेहाङ आङदेम्बे, रविशंकर पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ परेका छैनन्।
युवा खेलाडीलाई रोजेका मुख्य प्रशिक्षक अल्मुइतरीले गोलकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र विशाल सुनारलाई रोजेका छन्।
त्यस्तै, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनील बल, आशिष लामा, पूजन उपरकोटी, आरिक विष्ट, सुमन लामा, अञ्जन विष्ट, मनीष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, सुरज ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजवंशी र विकास खवास राष्ट्रिय टोलीमा परेका छन्।
नेपालले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि कुवेतमा विश्वकप छनोटका लागि दोस्रो चरणका खेलहरू खेल्नेछ।
विश्वकप छनोटका लागि दोस्रो चरणका खेल अन्तर्गत ३ जुनमा ताइपेईसँग, ७ जुनमा जोर्डनसँग र ११ जुनमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।